कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ब्लेडले सर्छ प्राणघातक रोग

भूषण यादव

वीरगन्ज — मोतिया र जलविन्दुका बिरामीको आखाँको शल्यक्रिया गर्दा प्राणघातक रोग सरेको खुलेको छ । वीरगन्जको आँखा अस्पतालमा शल्यक्रिया भइसकेका ३६ जना बिरामीको स्वास्थ्य जाँच्दा प्राणघातक रोग भेटिएको हो ।

एउटै ब्लेडले चार–पाँच जनासम्मको आँखाको शल्यक्रिया गर्दा यस्तो समस्या आएको हुन सक्ने आशंका देखिएको छ । अस्पतालहरूले एकपटक प्रयोग भइसकेको ब्लेडलाई जीवाणुहीन (स्टराइल) बनाई पुन: प्रयोगमा ल्याउने गरेका छन् । ब्लेडलाई जीवाणुमुक्त बनाउन १ सय १० सेन्टिग्रेड तापक्रममा तताउनुपर्छ । यो तापक्रममा अन्य जीवाणु मरे पनि प्राणघातक मानिएका एचआईभी र हेपाटाइटिसका भाइरस मर्दैनन् । यी दुवै प्राणघातक रोग लागेका बिरामीको शल्यक्रिया गरिएको ब्लेडले अर्को बिरामीको शल्यक्रिया गर्दा रोगको भाइरस सर्ने सम्भावना अत्यधिक हुन्छ ।

केडिया आँखा अस्पतालमा तीन महिनायता उपचारका लागि आएका बिरामीलाई गरिएको परीक्षणमा ३६ जनामा प्राणघातक रोग फेला परेको छ । जसमध्ये दुई जना नेपाली र ३४ जना भारतीय नागरिक छन् । केडिया आँखा अस्पतालमा रहेको मेडिकल ल्याब टेक्नोलोजिस्ट नरेन्द्र चौधरीका अनुसार ८ जनामा एचआईभी र २८ जनामा हेपाटाइटिस भाइरस फेला परेको हो ।

‘शल्यक्रियामा प्रयोग गरिएका ब्लेड जीवाणुहीन बनाउने क्रममा यी प्राणघातक रोगका भाइरस मर्दैनन्,’ चौधरीले भने, ‘संक्रमित व्यक्तिको अप्रेसन गरिएको ब्लेडले पुन: अर्को बिरामीको अप्रेसन गर्दा रोग सजिलै सर्छ ।’ नेपालको सीमावर्ती क्षेत्रमा सञ्चालनमा रहेका आँखा अस्पतालमा भारतको विहारबाट दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि नेपाल आउँछन् ।

अस्पतालका प्रशासन प्रमुख प्रकाश वर्माका अनुसार मोतियाविन्दु, जलविन्दु, पर्दा, नशा, कोरनिया, आँसु थैली र नलीको शल्यक्रिया गराउन आउने बिरामीको पहिला अस्पतालकै प्याथोलोजीमा एचआईभी र हेपाटाइटिस परीक्षण गरिन्छ । ‘यी रोगका जीवाणु फेला नपरेका बिरामीको मात्र शल्यक्रिया प्रक्रिया अगाडि बढाउँछाैं,’ उनले भने, ‘जीवाणु भेटिएका बिरामीलाई अलग्गै उपचार गरिन्छ, उनीहरूलाई प्रयोग गरिएको ब्लेड अन्य बिरामीलाई प्रयोग गरिन्न ।’

केडिया आँखा अस्पतालबाहेक वीरगन्जमा अरू आधा दर्जन आँखा अस्पताल छन् । जसमा अझै पनि गुणस्तरीय प्याथोलोजी सञ्चालनमा छैनन् । ती अस्पतालले आँखाको शल्यक्रियाका लागि आउने बिरामीको सुगर र प्रेसरमा परीक्षण मात्र गर्छन् । वीरगन्ज भन्सार नजिकै सञ्चालनमा रहेको नेपाल–इन्डो आँखा अस्पताल, घण्टाघर नजिकैको वीरगन्ज सामुदायिक आँखा केन्द्र, वीरगन्ज आँखा तथा दाँत अस्पताल, नेपाली सेनाको व्यारेक पछाडिको शिवा आँखा अस्पताल, पावरहाउस चोकको दृष्टि आँखा अस्पतालमा एचआईभी र हेपाटाइटिस रोगको परीक्षण गरिँदैन ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?