२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

थला परेको गौर अस्पताल

नि:शुल्क औषधि र एन्टिरेबिज भ्याक्सिन अभाव
दरबन्दीअनुसारका चिकित्सक छैनन्
एम्बुलेन्स सेवा पनि बन्द
शिव पुरी

रौतहट — बहुला कुकुरले टोकेर भ्याक्सिन (एआरभी) लगाउन शुक्रबार गौर अस्पताल पुगेका सरुअठाका जोगेन्द्र साहलाई त्यहाँका स्वास्थ्यकर्मीले फर्काइ दिए । कुकुरको भ्याक्सिन नभएकाले सेवा बन्द गरिएको सूचना पढेर साह निरास हुँदै फर्किए । 

थला परेको गौर अस्पताल

त्यसपछि उनी निजी क्लिनिकमा गए । अस्पतालमा दुई सातादेखि भ्याक्सिनको अभाव छ । ‘जिल्ला अस्पतालमै भ्याक्सिन छैन,’ साहले भने, ‘अति आवश्यक औषधि पनि नराख्ने, अस्पताल किन खोलिरहनु ?’ घर नजिकै कुकुरले टोकेपछि गाउँमै समान्य उपचार गरी उनी भ्याक्सिन लगाउन जिल्ला अस्पताल आए । तर, भ्याक्सिन राख्ने ठाउँमा नभएको सूचना झुण्डिएको थियो ।


कुकुर र स्याल लगायतका जन्तुले टोक्दा तत्कालै एन्टिरेविज भ्याक्सिन (एआरभी) लगाउनु पर्छ । स्वास्थ्यको क्षेत्रीय निर्देशनालय हेटौंडाले गौर अस्पतालमा भ्याक्सिन नपठाउँदा अभाव भएको अस्पतालले जनाएको छ ।


भ्याक्सिन माग गर्दा पनि नआएपछि समस्या भएको अस्पताल प्रमुख डा. कृष्ण साहले बताए । उनले भने, ‘दुई साता भइसक्यो अहिलेसम्म आइपुगेको छैन ।’ भ्याक्सिन सरकारले नि:शुल्क उपलब्ध गराउँछ । ‘पहिलादेखि नै अस्पताल अस्तव्यस्त छ, सुधार्ने प्रयासमा छौं,’ अस्पताल विकास समितिका अध्यक्ष राधेश्याम साहले भने, ‘यसका लागि सबैको सहयोग जरुरी छ ।’ गौरको यो त्यही जिल्ला अस्पताल हो, जतिबेला राम्रो उपचार हुन्छ भनेर भारतको बैरगनियासम्मका बिरामी यहाँ आउँथे । सेवा खस्किएपछि गौरकै बिरामी पनि उपचार गराउन आउँदैनन् ।


विशेषज्ञ डाक्टर छैनन्

नौ जनाको विशेषज्ञ डाक्टरको दरबन्दी भएको गौर अस्पताल ५० शय्याको छ । तर, एकजना पनि विशेषज्ञ छैनन् । विशेषज्ञ डाक्टर नहुँदा यहाँको सेवा प्रभावित भएको छ । मेडिकल अफिसर ४ र डेन्टल सर्जन एकजनाको दरबन्दी पनि छ । छात्रवृति र करारका मेडिकल अफिसर मात्र खटिएका छन् । ६ जना स्टाफ नर्सको दरबन्दी रहे पनि हाल एकजना मात्र कार्यरत रहेको अस्पतालका प्रमुख डा.साहले बताए । अस्पतालमा तीनजना ल्याव टेक्निसियनको दरबन्दी भए पनि एक जनामात्र कार्यरत छन् । ‘कर्मचारी अपुग भएको भन्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको धेरै भइसक्यो,’ उनले भने, ‘हालसम्म विशेषज्ञसहितको स्वास्थ्यकर्मी पठाइएको छैन ।’ अस्पतालको सेवा प्रभावित हुँदा समान्य उपचारका लागि पनि गौरका बिरामी भारत, वीरगन्ज र चितवन जान बाध्य छन् ।


सधैं औषधि अभाव

सरकारले ७२ प्रकारको औषधि नि:शुल्क दिनुपर्छ । तर, गौर अस्पतालमा लामो समयदेखि नि:शुल्क औषधि अभाव छ । ‘नि:शुल्क औषधिमध्ये मुस्किलले २० प्रकारको उपलब्ध छ,’ अस्पताल प्रमुख डा. साह भन्छन, ‘औषधि खरिद गर्न बजेट पनि छैन । पैसा माग गरे पनि आएको छैन ।’ औषधि खरिदका लागि अस्पतालसँग ३ लाख रुपैयाँ मात्र बचेको साहको भनाइ छ ।


अस्पतालको ल्यावमा समेत केमिकल सकिएको छ । अस्पताल फार्मेसीमा औषधी नभएकाले बाहिरबाट खरिद गर्नुपर्छ । बिरामीको दुखाई कम गर्ने स्प्रिन, इन्डोमेथासिन, सिट्रिजेट रसिप्रोफलोक्सिन जस्ता महत्त्वपूर्ण औषधी पनि छैन । अस्पतालका डा. मोहम्मद समिमले औषधि अभावले बिरामीलाई समस्या परेको बताए । ‘गाउँघरबाट बिरामी अस्पतालमा नि:शुल्क उपचार सेवा पाइन्छ भनेर आउँछन्,’ उनले भने, ‘विभिन्न जाँच सकेर औषधि लिने बेलामा बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता छ ।’


अस्पताल नै फोहोरी

अस्पतालको भर्‍याङदेखि शय्या कोठा पनि फोहोर छ । शौचालयमा पस्नै नसक्ने गरी दुर्गन्ध आउँछ । बिरामीलाई प्रयोग गरिएका सिरिन्ज, कटन लगायतका सामग्री जथाभावी फालिएको भेटिन्छ । अस्पताल प्रमुख साहले उपचारमा आउने बिरामीले जथाभावी फोहोर फाल्ने गरेको बताए । ‘अस्पतालभित्र फोहोर फाल्न डस्विनको व्यवस्था गरिएको छ,’ उनले भने, ‘बिरामीका कुरुवाले जहाँ पायो त्यही फोहोर फाल्दा समस्या भइरहेको छ ।’ अस्पतालको एम्बुलेन्स बिग्रिएर सेवा ठप्प छ ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?