१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ढल–नाला निर्माणमा अनियमितता

इँटा, बालुवामा सिमेन्ट मात्रै छर्केको पाइएपछि उपमहानगरपालिकाद्वारा काममा रोक
कान्तिपुर संवाददाता

जनकपुर — घर र सडकको पानी बग्ने इन्डेक बनाउँदा बालुवामा सिमेन्ट मात्रै छर्केको नागरिक समाजको गुनासोपछि जनकपुरका मेयर लालकिशोर साह प्राविधिकसहित निर्माणस्थल पुगे । माछा बजारको च्युरा मिलनजिक निर्माण भइरहेको इन्डेकमा बालुवामा सिमेन्ट मात्रै छरेको पुष्टि भएपछि साहले त्यहाँको काममा रोक लगाए ।

ढल–नाला निर्माणमा अनियमितता

एसियाली विकास बैंक (एडीबी) को ९८ करोड ८१ लख ५६ हजार रुपैयाँको लागतमा जनकपुरमा अहिले ढल नाला र सडकको काम भइरहेको छ । ठेकेदार कम्पनी जेडआइइसी शर्मा जेभीले निर्माणमा खेलाँची गर्दा करोडौंको परियोजना कमसल बनिरहेको छ । ‘बालुवामा जति सिमेन्ट प्रयोग गर्नुपथ्र्यो, त्यो गरेको देखिएन,’ जनकपुरका मेयर साहले भने, ‘बालुवामा सिमेन्ट माथिबाट छर्केको मात्र थियो, हामीले त्यहाँको काम रोकेका छौं ।’ उनले ढलनाला निर्माणमा धेरै ठाउँमा गडबड गरेको दाबी गरे ।


अन्य कुनकुन स्थानमा कमसल र गुणस्तरहीन निर्माण गरिएको छ, त्यो पत्ता लगाउन पमहानगरपालिकाले प्राविधिकको एउटा टोली नै खटाएको छ । ‘करोडौंको बजेटमा खेलाँची सह्य हुन्न,’ मेयर साहले भने, ‘जहाँजहाँ बद्माशी भएको छ, सबै ठाउँमा फेरि गुणस्तरीय निर्माण गर्नुपर्छ ।’ जनकपुर उपमहानगरपालिकाले विकास निर्माणमा भइरहेको बदमासी रोक्न आइतबार ठेकेदार कम्पनीलाई पत्र काट्ने भएको छ ।


घर र सडकको पानी बग्नका लागि सडक खनेर बनाइएको इन्डेकको च्याम्बर निर्माणमा लापरबाही गरिएको स्थानीय वीरेन्द्र कर्णले बताए । ‘स्थानीयले चासो देखाउँदा पनि यतिबिध्न हेल्चक्राइँ भइरहेको छ,’ कर्णले भने, ‘जताततै प्राविधिक त्रुटि देखिन्छ ।’


ढल र पानी बग्ने इन्डेकका लागि बनाइएको च्याम्बरमा कमसल इँटा र सिमेन्ट प्रयोग भएका छन् । घर र सडकको पानी चुहिने इन्डेकको च्याम्बरमा जडान गरिएको पाइप पनि कमजोर छ । ‘इन्डेकको निर्माणमै खेलाँची गरिएको छ,’ मेयर साहले भने, ‘घरबाट पानी बग्ने पाइप पनि कमजोर जडान गरिएको छ ।’


इन्डेकको च्याम्बरमा चुहिने पानी मेन इन्डेकसम्म लैजान प्रयोग गरिएको ह्युमपाइप पनि जथाभाबी राखिएको छ । जनकपुरको माछा बजारमा इन्डेकमा प्रयोग गरिएको ह्युमपाइप अमिल्दो छ । पानीको बहाव धेरै हुँदा मुख्य नमिलेको ह्यमपाइपले इन्डेकमा क्षति पुर्‍याउने प्राविधिक बताउँछन् । नागरिक समाजका मुरली मनोहर मिश्रका अनुसार च्याम्बरमा दुई पाइपको मुख जोड्ने ठाउँमा रबर ग्यास किटको प्रयोग पनि गरिएको छैन । ‘पाइज जोडा रबर ग्यासकिट प्रयोग नगर्दा पानी लिंकेज हुन्छ,’ मिश्रले भने, ‘इन्डेकको पानी लिंकेज हुँदा त्यसले सडकलाई क्षति पुर्‍याउँछ ।’


बस्ती नभएको र एकान्त ठाउँमा पाइप ओछ्याएर मोटोले पुरिएको छ । पाइप ओछ्याएपछि ग्राभेल गर्नुपर्ने ठेक्का सम्झौतामा छ, तर सुनसान ठाउँमा ढलनालाको निर्माणमा मनपरी गरिएको मिश्रको आरोप छ । एडीबी परियोजनाको सम्झौताअनुसार इन्डेक बनाउँदा करिब साढे दुई फिटको खाल्डो खन्नुपर्छ । इन्डेक खनिसकेपछि माटो मिलाएर चार लेयरमा निर्माण गर्नुपर्छ । जनकपुर उपमहानगरपालिकाको मेयर साहले श्याम चोकमा भइरहेको निर्माणको पनि अनुगमन गरे । ‘जनकपुरको एयरपोर्टदेखि रेल्वे स्टेशनसम्म पुग्न निर्माण भइरहेको सडकको गुणस्तर पनि जाँचेका छौं,’ मेयर साहले भने, ‘विकास निर्माणको काममा गम्भीर हुन निर्देशन दिएको छु ।’


प्रदेश २ को राजधानी जनकपुरमा निर्माणाधीन विकासका काममा प्रादेशिक सरकारले पनि चासो देखाएको छ । भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले प्रादेशिक सरकारले पनि अनुगमन गर्ने बताए । ‘म आफैं अनुगमनमा निस्कन्छु, विकास निर्माणमा बदमाशी भइरहेको सूचना पाएको छुँ,’ मन्त्री सोनलले भने, ‘गुणस्तरहीन काम गर्नेलाई कारबाही हुन्छ ।’


सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख डिइ गंगाप्रसाद यादवले उपमहानगरपालिकाले परियोजनाको निगरानी गरिरहेकाले निर्माणमा बदमाशी भएको जानकारी आफूसम्म नआएको बताए । २२ फरवरी २०१६ मा सञ्चालनमा आएको एकीकृत सहरी विकास परियोजनाले २१ फरवरी २०१८ मा काम सक्नुपर्ने थियो । तर, जनकपुरमा ढलनालाको निर्माण सुस्तछ । नमुनाका लागि बंशी चोकदेखि जचुकालिको प्रशासनिक भवनसम्म एक किलोमिटर मात्र सडक कालोपत्रे गरिएको छ । सहरी विकास कार्यालयका प्रमुख यादवले समयमै निर्माण नसकिएकाले परियोजनाको म्याद ५ महिना थपिएको बताए । तर, गति सुस्त हुँदा थपिएको समयमा पनि ढलनाला निर्माण सकिने देखिन्न ।


परियोजना अन्तर्गत जनकपुरको परिक्रमा सडक खण्डको पिराडी चोकदेखि थापाचोक, मिल्स एरिया, भानुचोक, कदम चोक, विश्वकर्मा चोक हुँदै भ्रमरपुरा चोकसम्म ४.६९ किलोमिटर, रेल्वे स्टेसनदेखि भानुचोक, रामचोक, विद्यापति चोक हुँदै श्याम चोकसम्म २.८ किलोमिटर सडक १६ मिटर चौडाइ कालोपत्रे र सडकको दुवैतर्फ २/२ मिटर फुटपाथ बनाउनुपर्छ । यस्तै, जानकी मन्दिरदेखि रामानन्द चोकसम्म १ किलोमिटर र शिवचोकदेखि कदमचोकसम्म ५ सय ३० मिटर सडक १३ मिटर चौडाइमा कालोपत्रे र दुवैतर्फ २/२ मिटर फुटपाथ बनाउनुपर्छ ।


ठेकेदार कम्पनीका बलराम महतोले आयोजनाको ५० प्रतिशत काम मात्र सम्पन्न भएको बताए । उनले सडकमा परेको घर भत्काउन आलटाल र बिजुली, टेलिफोन र खानेपानीले सडकको मापदण्ड अनुसार लाइन क्लियर नगर्दा निर्माणमा ढिलाइ भएको स्विकारे । कमसलको मुद्दा अदालतमा जनकपुरमा निर्माणाधीन ढलनाला र सडकको निर्माण कमसल भइरहेको भन्दै उच्च अदालतमा मुद्दा परेको छ । नागरिक समाजका तर्फबाट मुरली मनोहर मिश्रलगायत ६ जनाले दायर गरेको मुद्दामा उच्च अदालत जनकपुरले कामको हालसम्मको प्रगति विवरण पेस गर्न दुईपटक आदेश गरेको छ ।


भदौमा गरिएको आदेश अटेरी गरेपछि उच्च अदालतले २०७४ पुस १९ गते फेरि आदेश गर्दै ढल, नाला र सडक निर्माणको प्रगति विवरण पेस गर्न भन्यो । मिश्रका अनुसार विपक्षीमध्ये एडीबीले मात्रै कामको प्रगति विवरण अदालतमा पेश गरेको छ । जनकपुर उपमहानगरपालिका अन्तर्गत रहेको परियोजना, सहरी विकास तथा भवन निर्माण कार्यालय र ठेकेदार कम्पनीले अदालतलाई अझै कामको प्रगति विवरण पेस गरेका छैनन् ।


अदालतमा मुद्दाको पक्षमा सुनुवाइ गरेका अधिवक्ता राजकुमार महासेठले ढल र सडक निर्माणमा परियोजनाले मापदण्ड मिचेको, कमसल निर्माण सामग्री प्रयोग गरेको, गुणस्तरहीन र त्रुटिपूर्ण इन्डेक बनाइरहेको तथा विकास निर्माणको नाममा सडक जथाभावी खनिएको बताए ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?