कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आज अन्तगृह परिक्रमा

मिथिला नगर परिक्रमा
श्यामसुन्दर शशि

जनकपुर — मिथिला नगरी जनकपुरधामको आसपासको क्षेत्र परिक्रमा गर्ने १५ दिने धार्मिक यात्राका सहभागीहरू बिहीबार बिहानैदेखि जनकपुर फर्किन थालेका छन् । शुक्रबार बिहान नगरको अन्त:गृह परिक्रमा गरी यो धार्मिकयात्रा सम्पन्न हुनेछ ।

आज अन्तगृह परिक्रमा

फागुन ३ गते मध्यधनुषाको कचुरीस्थित मिथिला विहारी मठबाट प्रस्थान गरेका श्रद्धालुहरू नेपाल र भारतका विभिन्न धार्मिकस्थलको परिक्रमा गरी यहाँ आइपुगेका हुन् । फागुन अमावश्याका दिन कचुरीको मिथिला विहारी मठबाट सुरु भएको मध्यमा परिक्रमा भारतको कलानेश्वर, फूलहर हुँदै महोत्तरीको मठिहानी, जलेश्वर, मडई, धु्रवकुण्ड, कञ्चनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही औरसाहा तथा पुन: भारतको करुणा, विसौल एवं कलानेश्वर हुँदै फागुपूर्णिमाको पूर्वसंन्ध्यामा पुन: जनकपुर फर्किएका हुन् । तिथि सम्बन्धी विवादका कारण यस वर्ष बिहीबार र शुक्रबार गरी दुई दिन पूर्णिमा मानिएको छ । जनकपुरमा अन्त:गृह परिक्रमाको अर्को दिन फागु खेल्ने चलन छ । मिथिला माध्यमिकी १५ दिन परिक्रमा सकिएर पुन: जनकपुरको अन्तरगृह परिक्रमा शुक्रबार हुने भएकाले जनकपुरमा शनिबार होली मनाइने छ ।

राजर्षि जनक र जानकीसित जोडिएका स्थलहरूलाई घुम्ने गरी हरेक वर्ष फाल्गुण शुक्ल पक्षमा मिथिला माध्यमिकी परिक्रमा आरम्भ हुन्छ । मिथिला पञ्चकोशी परिक्रमाको आरम्भ र अन्तका दुई/दुई गरी चार चरण भारतीय क्षेत्रमा परे पनि परम्परागत रूपमा प्राचीन मिथिलाको राजधानी हुँदैदेखि चल्दै आएको छ । नेपाल र भारत बीचमा राजनीतिक उतारचढाव भए पनि मिथिला माध्यमिकी परिक्रमाको मान्यतामा कुनै फरक आएको छैन । करिब एक सय वर्षदेखि चलिआएको यस धार्मिक यात्रामा साधुसन्तसँगै सर्वसाधारणको संख्या पनि उल्लेख्य छ । नेपाल र भारतको विभिन्न गाउसँहरबाट हजारौं श्रद्धालु यस धार्मिक यात्रामा सहभागी हुने गर्छन् ।

पहिलोपटक परिक्रमा सहभागी हुन आएका धनुषा सबैलाका रामेश्वर साह १५ दिनको हिँडाइले बिरामी परेको बताए । ‘घरबाहिर खुला आकाशमुनि सुत्दा अनि ठाउँठाउँको पानी खाएर रूघाखोकी लागेको छ,’ उनले भने, ‘आराम गरेपछि सञ्चो हुन्छ ।’ परिक्रमावासी गाउँभन्दा बाहिर खुला चौर वा फूलबारीमा टेन्ट लगाएर बस्छन् । मिथिला महात्म्यमा वर्णन भएअनुसार मिथिला परिक्रमा गर्दा पुण्यको फल प्राप्त हुन्छ । सुख, समृद्धि र शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ति हुने विश्वासका साथ गरिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा गर्ने जनविश्वास छ । मिथिला महात्मअनुसार अठारौं शताब्दीदेखि माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आएको यस धर्मयात्राका सहयात्रीले रात्रि भजनकीर्तन गरी १५ दिन विताउने गर्दछन् । महात्म्यमा मिथिलाको परिक्रमा गरेर अनेकौ ऋषिमुनीले मोक्ष प्राप्त गरेको, ज्ञान आर्जन गरेको तथा रोगबाट मुक्ति पाएको उल्लेख छ । जनकपुरको सेरोफेरोमा घुमिने मध्यमा परिक्रमा यस भेगकै सबभन्दा लामो समयसम्म चल्ने धार्मिक यात्रा हो । परिक्रमावासीहरू नेपालमा १ सय ७ किलोमिटर र भारतको २८ किलोमिटर गरी एक सय ३३ किलोमिटर यात्रा गरेर यहाँ फर्केका हुन् । गाउँ सहरबवाट प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना गरिएको चार शिवालय कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले बताए ।

मिथिलिा नगर परिक्रमा धार्मिक सद्भावको प्रतिक बनेको छ । नेपालमा परिक्रमा यात्राको १३ स्थल र भारतमा दुई वटा गरी १५ वटा विश्रामस्थलमा रात्रि विश्राम गरिन्छ । मिथिला संस्कृतिलाई झल्काउने परिक्रमा मेलाले एक अर्कालाई सम्मान गर्ने र सहकार्य गरी अगाडि बढ्ने प्रेरणा दिने गरेको छ । जोसुकैका लागि पनि अनुकरणीय छ । मेलाको हरेक चरणमा दर्शकको भीड लाग्छ । त्यसको व्यवस्थापनमा अहिले पनि सरकारको कुनै योगदान नरहे तापनि हरेक चरणमा स्थानीयवासी चामल, दाल, तरकारी तथा दाउरा नि:शुल्क वितरण गरी ठूलो सेवा पुर्‍याएको छ । परिक्रमामा सहभागी साधुसन्तको नित्य कार्य हुन्छ । कोही पनि भोकै रहँदैनन् । परिक्रमाबाट प्राप्त ज्ञान तीर्थयात्रीले जीवनमा उतार्नुपर्दछ । मिथिला पञ्चकोसी परिक्रमाले नेपाल र भारतीय नागरिकबीच प्रेम र सद्भाव कायम राखेको जनकपुरका साहित्यकार सुनिल मल्लिकले बताए । उनका अनुसार भगवान् रामले परिक्रमाको क्रममा महोत्तरीको कञ्चनवनमा होली मनाएकाले मिथिलाको होली कञ्चनवनबाटै सुरु हुने गरेको छ । जनकपुरमा होली र मिथिला नगरी परिक्रमा परम्पराबीच अन्योन्याश्रित सम्बन्ध रहेको स्थानीय बुद्धिजीवी महेन्द्र मिश्रको धारणा छ । उनले अन्तगृह परिक्रमाको राति होलीका दहन भएको खरानी लिएर घर फर्केपछि मिथिलामा होली मनाउने परम्परा सुरु भएको बताए ।

प्रकाशित : फाल्गुन १८, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?