३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘सिरियल किलर’को अनुसन्धान थालियो

अवधेशकुमार झा

राजविराज — आफ्नी श्रीमती, सासू र ससुरासमेत गरेर सप्तरी र सुनसरीमा आठ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका सकिल हुसेनलाई नियन्त्रणमा राखेर अनुसन्धान थालिएको छ । 

‘सिरियल किलर’को अनुसन्धान थालियो

सप्तरीको कुसहा गाविस–६ मा हुसेनमाथि सप्तरी प्रहरीले अनुसन्धान बढाएको छ । सकिलले आफ्ना ससहयोगी रइस मियाँसँग मिलेर आठको हत्या गरेको प्रहरीको आरोप छ ।


हत्याको आरोपमै जिल्ला अदालतको आदेशमा थुनामा परेका सकिल ०६८ माघ २६ गते पुनरावेदन अदालत राजविराजको आदेशमा रिहा भएपछि हत्याको शृंखला नै चलाएको प्रहरीको भनाइ छ । आठ जनाको हत्या गरेपछि लुकेर कतार पुगेका उनलाई नेपाल प्रहरीको आग्रहमा २ साताअघि कतारमा इन्टरपोलले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई सुम्पेको थियो । अनुसन्धानका लागि सप्तरी प्रहरीले उनलाई नियन्त्रणमा राखेको छ ।


जिल्ला अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान सुरु गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए । आवश्यक अनुसन्धानपछि उनलाई कारबाहीको मागदाबीसहित अदालतसमक्ष पेस गरिने एसपी सिंहले जनाए ।


उनका सहयोगी भारतीय नागरिक रइसलाई बैदेशिक रोजगारीमा जाने क्रममा केही महिनाअघि त्रिभुवन विमानस्थलवाट पक्राउ गरिएको थियो । सकिलसहितको समूहले गरेको सबै हत्याको घटनामा रकम पचाउने नियत रहेको प्रहरीको दाबी छ ।


सकिलले पहिलो हत्या सप्तरी मल्हनियाका आरूल मियाँको गरेको प्रहरीको दाबी छ । ०६४ वैशाख २६ गते आरूलको हत्या भएको थियो । हत्याको आरोपमा ०६८ मंसिरमा पक्राउ परेका सकिल पुनरावेदन अदालत राजविराजको आदेशमा ०६८ माघ २६ गते रिहा भएका थिए । त्यसपछि सकिलसहितको समूहले सप्तरीको कुसहाका ससुरा–बुहारी सहबुद मियाँ र सगिरा खातुनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


यस्तै, सप्तरीको जण्डौल–६ की दुलारीदेवी साहका पति धिरेन्द्र साह कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा सप्तरी जिल्ला कारागारमा रहेका बेला कारागारबाट निकाल्न सहयोग गर्ने आश्वासन दिँदै दुलारीदेवीसित ६ लाख रूपैयाँ र सुनको गहना लिएर जण्डौल चोकभन्दा उत्तर चुरे जंगलको फेदीमा पुर्‍याई उनको पनि हत्या गरेको प्रहरीको दाबी छ ।

दुलारीदेवी गाउँघरमा नदेखिएको र २ वर्षसम्म कतै फेला नपरेपछि गाउँलेको आशंका र सूचनाका आधारमा २०७० साल मंसिर महिनाको पहिलो साता जण्डौल–८ स्थित चुरे जंगलको फेदीमा पुर्‍याई कर्तव्य गरी हत्या गरेको खुलेपछि ०७२ बैशाख २७ गते उत्खनन गर्दा महिलाजस्तो मानव प्रकृतिको कंकाल फेला परेको र डीएनए परीक्षणपश्चात त्यो कंकाल दुलारीदेवीको नै भएको पुष्टि भएको थियो ।


पक्राउ परेका सकिल र रइससहितको समूहले पाँचै हत्या ३ लाख रुपैयाँ पचाउने मनसायले गरेको प्रहरीको दाबी छ । त्रिकोल–५ बस्ने जयकुमार साहकी पत्नी निर्मलादेवी साहलाई सकिल र रइस समूहले छोरा दिपकलाई बिदेश पठाइदिने भन्दै फकाएका थिए । दिपकलाई बैदेशिक रोजगारीमा पठाइदिने बहाना बनाई ३ लाख असुलेका थिए । निर्मलादेवीले रकम जुटाएपछि दिपकलाई मेडिकल गर्ने बहानामा मिति २०७० चैत १ गते बेलुकी घरबाट लहान पुर्‍याई त्यही राति रइस र सकिल सहितको समूहले निर्मलादेवी साहलाई घाँटी थिचेर हत्या गरेको अनुसन्धानवाट खुलेको छ ।


हत्या गरेर निर्मलादेवीको शवलाई बाकसमा राखी उनीसित भएको ३ लाख रुपैयाँ र कागजात लिएर फरार भएको प्रहरीको भनाइ छ ।


यस्तै, सकिलले आफनो परिवारलाई पनि अपराधको निशाना बनाएको प्रहरी अनुसन्धानले देखाएको छ । सकिलले सुनसरी इनरुवास्थित आफनो डेरामा बोलाएर रइससहितका सहयोगीसँग मिलेर आफना ससुरा सप्तरीको जण्डौलका ५० वर्षीय इद्रिस नट मियाँ, सासू ४५ वर्षीया जैतुन खातुन र श्रीमती १७ वर्षीया सेरुन खातुनको हत्या गरेको प्रहरीको दाबी छ ।

प्रकाशित : फाल्गुन २७, २०७४ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?