कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलामाथि सामूहिक बलात्कार

आरोपीको पहिचान भइसकेकाले छिट्टै नियन्त्रणमा लिने गरी खोजी कार्य जारी छ – प्रहरी
अवधेशकुमार झा

राजविराज — सप्तरीको विष्णुपुर गाउँपालिकाकी एक दलित महिलामाथि शनिबार राति सामूहिक बलात्कार भएको छ । आफनी सानी आमाको घरबाट माइती घर फर्किने क्रममा ३२ वर्षीय ती महिलामाथि २ जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

महिलामाथि सामूहिक बलात्कार

जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहका अनुसार बेल्ही चपेनास्थित सानीआमाको घरबाट फर्किदै गर्दा माइती घर विष्णुपुर नजिक मझौ भन्ने स्थानमा कोसी पश्चिमी नहरमा २ जनाले उनलाई जबरजस्ती नियन्त्रणमा लिएका थिए । कोसी पश्चिमी नहरको तल एकान्त स्थानमा लगी दुबै जनाले महिलालाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको महिलाको बयानलाई उद्धृत गर्दै एसपी सिंहले बताए ।

उनका अनुसार साँझ ७ बजेको समयमा दुबै जना पुरुषले माइती घरतर्फ आइरहेकी महिलालाई नियन्त्रणमा लिए । जबरजस्ती करणी गरिसकेपछि दुबै जना भागेका थिए । आरोपीहरू भागेपछि घर आएकी महिलाले परिवारमा घटनाबारे जानकारी गराएपछि राति १० बजे प्रहरीमा खवर गरेका थिए ।


घटनाबारे जानकारी पाउनासाथ एसपी सिंहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी टोली गएको थियो । प्रहरी टोलीले पीडित महिलालाई राती नै स्वास्थय परिक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याएको थियो । स्वास्थ्य परिक्षणपछि आईतवार बिहान महिला घर फर्किएकी छिन् ।

प्रहरीले शनिबार रातीदेखि नै आरोपी पक्राउ गर्न टोली परिचालन गरेको छ । टोलीसँगै सादा पोसाकमा समेत प्रहरी परिचालन गरी आरोपीको खोजी भइरहेको एसपी सिंहले जानकारी दिए । ‘आरोपी भारततर्फ पनि भाग्न सक्ने भएकाले सीमाका प्रहरी कार्यालयलाई एलर्ट गरिएको छ,’ एसपी सिंहले भने, ‘आरोपीको पहिचान भइसकेकाले छिटै नियन्त्रणमा लिने गरी प्रहरीले खोजी कार्य जारी राखेको छ ।’

स्रोतका अनुसार सामूहिक बलात्कारको उक्त घटना भएपछि शनिबार राति गाउँमै पञ्चायती गरी मिलाउन खोजिएको थियो । तर राति तै प्रहरी टोली गाउमा पुगेर पीडित महिलालाई उपचारका लागि अस्पताल ल्याएको र आरोपी पक्रन टोली परिचालन गरिएपछि पञ्चायती गरी मिलाउने केही स्थानीयको काम रोकिएको थियो । ‘बलात्कार जस्तो जघन्य अपराधमा कुनै मोलाहिजा हुँदैन,’ एसपी सिंहले भने, ‘दोषी जो भए पनि कारबाहीको दायरामा ल्याइनेछ, उम्कन दिइने छैन ।’ सप्तरी जिल्लामा पछिल्लो समय बलात्कारको घटना बढदै गइरहेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा हालसम्म जबरजस्ती करणीका १७ वटा मुद्दा दर्ता भएको छ, जसमा १७ जना आरोपीलाई पक्राउ गरिएको र ५ जना फरार छन् ।

यस्तै सोही अवधिमा जबरजस्ती करणी उद्योगका १४ वटा मुद्दा दर्ता भएको छ । जसका १५ जना आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको छ । २ जना फरार छन् । पुसदेखि हालसम्मकै अवधिमा जबरजस्ती करणीका ६ वटा मुद्दामा ५ जना आरोपी पक्राउ गरिएको र १ जना फरार रहेको तथा जबरजस्ती करणी उद्योगका ४ वटा मुद्दा दर्ता भएकामा ७ जना आरोपीलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७४ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?