१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

प्रहरीले नियत सुधार्न आवश्यक : आईजीपी

कान्तिपुर संवाददाता

सिरहा — प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीको नियतमाथि सधैं प्रश्न उठिरहने हुँदा प्रहरी कर्मचारीलाई आ–आफ्नो नियत सुधार गरेर जनताप्रति निष्पक्ष सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

सदरमुकाम सिरहामा जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवन सोमबार उद्घाटन गर्दै प्रहरी महानिरीक्षक अर्यालले अपराध अनुसन्धान, शान्ति सुरक्षा, जनताप्रतिको निष्पक्ष सेवाभाव र सेवाग्राहीप्रतिको सभ्य व्यवहारलाई मूल मन्त्र मानेर काम गर्नुपर्ने निर्देशन दिए ।

‘संगठनभित्र आफूभन्दा माथिको हाकिम र नेतालाई खुसी पारे जे पनि गर्न सकिन्छ भन्ने कुरा अबको बदलिँदो परिवेशमा सबैले त्याग्न आवश्यक छ,’ उनले भने, ‘सीमित केही व्यक्तिको स्वार्थपूर्तिभन्दा पनि आमजनमानसका लागि काम गरेर प्रहरीले आफूलाई कल्याणकारी प्रवृत्तिका रूपमा उभ्याउन आवश्यक छ ।’

प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले पहिले प्रहरी निकाय थ्री पी अर्थात् पब्लिक (जनता), पुलिस (प्रहरी) तथा पार्टिसिपेसन (सहभागिता) को अवधारणामा चलेको भए पनि अहिले थप थ्री पी अर्थात् पोलिटिसिएशन (राजनीतिकर्मी), प्रेस (सञ्चारकर्मी) र प्रोसिक्युटर (कानुन व्यवसायी) थपिएको बताए ।

‘यी कुनै पनि अंगबिना प्रहरी निकायको काम अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘त्यसैले प्रत्येक प्रहरी एकाइका अगुवाहरूले यी छ वटै सरोकारवाला निकायलाई साथ लिएर हिँड्नुपर्छ ।’

सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले डीएफआईडीको सहयोगमा ९ करोड ६० लाख १७ हजार १ सय ९९ रुपैयाँ ७७ पैसा लागतमा निर्मित उक्त भवन उपत्यका बाहिर रहेकाहरूमध्ये सबैभन्दा भव्य र आधुनिक भवन रहेको बताए । ८ रेक्टर क्षमताको भूकम्पको धक्कालाई प्रतिरोध गर्न सक्ने गरी निर्माण भएको भवनमा शारीरिक रूपमा अशक्त तथा मानव अधिकारमैत्री, पुरुष तथा महिला हिरासत कक्ष, बालबालिकालाई राख्नुपरेको अवस्थामा विशेष कक्षको व्यवस्थाको साथै कार्यालयको प्रशासनिक भवन, आवास भवन र छुट्टाछुट्टै भान्सा घर छ ।

प्रकाशित : फाल्गुन २९, २०७४ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?