शवस्थल र चालक खोज्दै प्रहरी

यादवले छोरीलाई कहाँ जलाएको हो भन्न मानिरहेका छैनन्,
अजित तिवारी, सन्तोष सिंह

जनकपुर — बिरामीको बहाना बनाउँदै ‘हत्या’ पछि छोरीलाई अन्त्येष्टि गरिएको स्थल र उनलाई भारत लैजान प्रयोग भएको गाडीका चालकलाई प्रहरीले खोज्न सुरु गरेको छ । 

चरम यातना दिएर १९ वर्षीया छोरी स्नेहा कुमारी यादवको ‘हत्या’ गरेको आरोपमा पक्राउ परेका उनका बुवा दिलिपकुमार यादवले दिएको बयानका आधारमा धनुषा प्रहरीले अन्त्येष्टि गरिएको स्थल र छोरीलाई लैजान प्रयोग गरिएको गाडीका चालकलाई खोज्न थालेको छ । धनुषा प्रहरीका प्रमुख एसपी चक्रबहादुर सिंहले शव जलाइएको ठाउँ र प्रयोग गरिएको गाडीका चालकलाई खोजी गर्न प्रहरीको एउटा टिम परिचालन गरिएको बताए ।

काठमाडौंको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत्त स्नेहाको बिरामी भएर मृत्यु नभएको बरु हत्या गरिएको भन्दै धनुषा प्रहरीले उनका बुवा ४० वर्षीय दिलिपलाई शनिबार नियन्त्रणमा लिएको थियो । जनकपुर–२ वकिल टोलस्थित डेराको घरमा चरम यातना दिएपछि स्नेहाको मृत्यु भएको प्रहरीको दाबी छ । ‘स्नेहाको शवलाई जलाएको ठाउँ, भारत लैजान प्रयोग गरिएको गाडी र त्यसका चालकलाई पहिचान गर्ने काम भइरहेको छ,’ एसपी सिंहले कान्तिपुरसँग भने, ‘अरू थप प्रमाण पनि जुटाउँदै छौं ।’

धनुषा प्रहरीले यादवको डेराबाट संकलन गरेको रगत र अन्य प्रमाण परीक्षणका लागि काठमाडौंस्थित नेपाल प्रहरीको फोरेन्सिक ल्यावमा पठाएको छ । एसपी सिंहका अनुसार संकलन गरिएको सवुत–प्रमाणको ल्याव टेस्ट आएपछि अनुसन्धान अझै साँघुरो हुनेछ । ‘यादवले छोरीलाई कहाँ जलाएको हो भन्न मानिरहेका छैनन्,’ एसपी सिंहले भने, ‘छोरी लैजान प्रयोग गरिएको गाडी र चालकबारे उनले केही बताउन चाहिरहेका छैनन् ।’

स्नेहा अचानक कसरी बिरामी परिन् ? गम्भीर बिरामी भनिए पनि कुनै पनि चिकित्सकलाई नजचाएको, गाडी र चालकबारे मौन रहनु र छोरीको अन्त्येष्टि हतारहतारमा किन गर्‍यो र अन्त्येष्टि गर्ने बेलामा अरू को–को उपस्थित थिए ? धनुषा प्रहरीले बुवा दिलिपसित यही पेरिफेरिमा अनुसन्धान केन्द्रीत गरेको छ ।

स्नेहा अध्ययनरत काठमाडौंस्थित नासा कलेजले उनको आचरणसम्बन्धी कम्प्लेन गरेपछि उनलाई बुवा दिलिपले जनकपुर लिएर आएका थिए । स्नेहा हत्या प्रकरणको अनुसन्धान गरिरहेका धनुषा प्रहरीका एक अधिकृतका अनुसार छोरीलाई सम्झाउन जनकपुर लिएर आए पनि बुवा–आमा मिलेर स्नेहालाई दिनहुँ यातना दिन थालेको थियो । फागुन ८ गते साँझ वकिल टोलको यादवको डेरामा ठूलै झगडा परेको छिमेकीहरूले प्रहरीलाई बताएको थियो । सधैं झगडाको कोकोहोलो हुने घर फागुन ९ गते बिहानदेखि एकदम शान्त भएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।

फागुन ८ गतेकै झगडाका क्रममा स्नेहाको मृत्यु भएको धनुषा प्रहरीको दाबी छ । ‘छोरी नदेखिएपछि हामीले दिलिपलाई पछ्याउन थाल्यौं,’ एसपी सिंहले भने, ‘गाउँ र जनकपुरको ऊ बस्ने टोलमा पनि छोरीको मृत्यु भएको भन्दै हिँडेको देखिन्छ ।’ एसपी सिंहका अनुसार स्नेहा हत्या प्रकरणमा अन्य प्रमाण जुटाउने काम भइरहेको बताए । धनुषा प्रहरीले कर्तव्य ज्यान मुद्दामा स्नेहाका वुवा दिलिपलाई अदालतबाट म्याद थप गराएर अनुसन्धान थालेको छ । आमा सरिता कुमारी यादव घटनापछि फरार छिन् । नेपाल विद्युत् प्राधिकरण जनकपुर शाखामा प्राविधिकमा कार्यरत स्नेहाका बुवा दिलिप छोरीको अन्त्येष्टि गरेलगत्तै फरार भएका थिए । सिरहा नगरपालिकास्थित ससुराली घरमा लुकेर बसिरहेका उनलाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेको थियो । छोरीको शव जलाएको चार दिनपछि बुवा दिलिपले भारतबाटै उनको घर धनुषाको सहिदनगर–७ धबौलीमा फोन गरेर छोरीको मृत्यु भएको खबर गरेका थिए । छोरी मृत्यु भए पनि उनको घरमा जुठो बार्ने बाहेक अन्य संस्कार गरिएन । प्रहरीसँग बयानमा दिलिपले छोरी बिरामी रहेको र उपचारका लागि भारतको दरभंगा लैजाने क्रममा बाटोमै मृत्यु भएपछि अन्त्येष्टि गरेर फर्केको बताएका छन् ।

स्नेहाको हत्या अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार बुवा दिलिप उनीसित दुइटा कारण रिसाएका थिए । पहिलो कारण कलेजले स्नेहाको आचरणसम्बन्धी कम्प्लेन गर्नु र दोस्रो कारण स्नेहाकै व्यवहारका कारण केटापक्षले उनीसित विवाह गर्न इन्कार गर्नु । प्रहरीका ती अधिकृतका अनुसार काठमाडौंमा अर्कै केटासित घुमिरहेको देखेपछि स्नेहासित विवाह गर्न टुंगो लागे पनि केटापक्षले अस्वीकार गरेको थियो । यही दुई कारणले स्नेहासित उनका आमा–बुवा रिसाएका थिए ।

जनकपुर वकिल टोलका यादवका एक छिमेकीले स्नेहालाई फागुन ८ गते बाथरुम पसिरहेको देखेकी थिइन् । ‘बाथरुम पस्नुअघि के छ खबर भनेर हामीबीच बोलचाल पनि भएको थियो,’ नाम नलेख्ने सर्तमा ती छिमेकीले भनिन्, ‘स्नेहामा त्यति बेलासम्म बिरामी रहेको कुनै लक्षण देखिएको थिएन, ९ फागुन साँझ अचेतजस्तो गरी काँधमा बोकेर गाडीमा हाल्दा छक्क पर्‍यौं ।’ ती छिमेकीका अनुसार स्नेहालाई गाडीमा हालेर लैजाने क्रममा बुवा दिलिप, आमा सरितासहित अन्य दुई जना महिला–पुरुष देखिएको थियो । गाडीमा स्नेहालाई राखेपछि आमा सरिताले हतारहतार गरेर डेरा घरमा ताल्चा लगाउन आएकी थिइन् ।

प्रकाशित : फाल्गुन २९, २०७४ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?