सेनाको पृतनाविरुद्ध आन्दोलन

रवीन्द्र उप्रेती

महोत्तरी — नेपाली सेनाले प्रदेश २ मा स्थापना गर्न लागेको पृतना कार्यालयले थातथलोबाट उठिबास हुने भन्दै बर्दिवासका स्थानीय विरोधमा उत्रिएका छन् ।

सेनाको पृतना कार्यालय निर्माणका लागि बर्दिवास नगरपालिकामा जग्गा अधिग्रहण भएपछि स्थानीयले आन्दोलनको घोषणा गरेका छन् । उनीहरूले बर्दिवास–९ पशुपतिनगरमा पत्रकार सम्मेलन गरेर आन्दोलन शान्तिपूर्ण र चरणबद्ध हुने जनाए । केशव पोखरेलको संयोजकत्वमा २५ सदस्यी संघर्ष समिति गठन गरेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।


थातथलोबाट नै उठिवास हुने गरी सेनाले पृतना कार्यालय बनाउन लागेकाले त्यसलाई रोक्न संघर्ष समितिले सुरुवाती चरणमा डेलिगेसन, नगरपालिका कार्यालय घेराउ र धर्ना बस्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । सरकारले बर्दिवासमा सेनाको मध्यपूर्वि पृतना कार्यालय राख्ने निर्णय गरेपछि नगरपालिकाको ३ सय बिघा जग्गाको लालपुर्जा हस्तान्तरण गर्दा त्यो जग्गा क्षेत्रमा स्थानीयको घर पनि परेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।

सेनालाई हस्तान्तरण गरिएको जग्गामध्ये स्थानीयले पुस्तैनी जोतभोग गर्दै आएको वडा नम्बर ७, ८, ९, १०, १२ र १३ अन्तर्गत १ सय ६० घरधुरीका ६० बिघा जग्गा पनि सेनाको भवन निर्माणका लागि अधिग्रहणमा परेको स्थानीयको दाबी छ ।


सेनाको पृतना कार्यालयले वडा नम्बर ८ हात्तीलेटका १२ र वडा नम्बर १३ पशुपतिनगरका १४ गरेर २६ परिवार विस्थापित हुने भएपछि आन्दोलन गर्नुको विकल्प नभएको संघर्ष समितिका संयोजक पोखरेलले बताए । ‘हामी सेना र विकासका विरोधी होइनौं,’ पोखरेलले भने, ‘तर घरबारै खोसिने र जीविकोपार्जनका साधन मासिने भएपछि आन्दोलन गर्नु परेको हो ।’

बर्दिवास वडा नम्बर ७ का अध्यक्ष फाल्गुण सुस्लिङकाले अधिग्रहणमा परेका जग्गा ऐलानी भए पनि बसोवास र भोगचलनका जग्गा छुट्याएर मात्र सेनालाई दिनुपर्ने बताए । सेनाको पृतना कार्यालयका लागि अधिग्रहण गरिएको जग्गामध्ये केहीको सुकुम्वासी आयोगले दिएको लालपुर्जा भए पनि बिनामुआब्जा अधिग्रहण गरेपछि जनता विरोधमा उत्रिएको उनले बताए ।


बसोवास र जोतभोगका आधारमा जग्गाको स्वामित्व प्रदान गर्नुपर्ने, २६ परिवार विस्थापित हुने भएकाले पृतनालाई दिइएको जग्गाको नापनक्सा सच्याउनुपर्ने, विकल्प र क्षतिपूर्तिबिना उठिवास र बेदखल गर्ने काम राम्रा नरहेको भन्दै स्थानीयले सरकारी निकायमा ज्ञापनपत्र समेत बुझाएको छ ।


बर्दिवास नगरपालिका प्रमुख विदुर कार्कीले सेनाको पृतना कार्यालय निर्माणका लागि गरिएको जग्गा अधिग्रहण क्षेत्रमा कसैको घर नपर्ने बताए । उनका अनुसार केही ऐलानी जग्गामा भने सुकुम्बासी परिवारले खनजोत र रूखबिरुवा रोपेका छन् ।

त्यस्ता जग्गाको क्षतिपूर्तिका लागि आफूले प्रयास गरिरहेको बताए । सेनाका कर्णेल कृष्ण खडकाले उठिवास लगाउने आरोप आधारहीन रहेको दाबी गरे । उनले पृतनाको नाममा पास भएका जग्गा वर्षौंदेखिको ऐलानी र खोला उकास र बाँझो पर्ती बगर रहेको दाबी गरे ।

प्रकाशित : फाल्गुन २९, २०७४ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?