१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रदेश २ : बलात्कारमा मिलापत्र ?

अवधेशकुमार झा

राजविराज — विवाहको भोज खाएर फर्किंदै गरेकी १६ वर्षीया युवतीलाई सुनसान र अँध्यारो ठाउँमा चार जनाले नियन्त्रणमा लिए । मुख थुनेर कब्जामा लिएको युवतीलाई गाईगोठमा लगेर बलात्कार गर्न खोजे ।

प्रदेश २ : बलात्कारमा मिलापत्र ?

युवतीको चिच्याहट र चार जनाबीचको विवादको हल्ला सुनेर केही स्थानीय त्यहाँ पुग्दा उनी सामूहिक बलात्कृत हुन्बाट जोगिइन् । सप्तरीको सुरुंगा नगरपालिका–३ की एक युवतीलाई फागुन १४ गते सामूहिक बलात्कार गर्न खोज्ने चारै जनालाई जोगाउन गाउँमै पहल थालियो । घटना लुकाउन पञ्चायत बोलाइयो । र, प्रहरीलाई सुइँको समेत नदिई गाउँमा फतवा (उर्दी) जारी गरियो ।


युवतीलाई सामूहिक बलात्कार गर्न खोजेकै राति गाउँले बसेर मामिला सल्टाउन खोजे । पीडितको आमालाई दबाबमा पारेर पञ्चायतमा बोलाइयो । चारै जना आरोपीले १३ लाख ५० रुपैयाँ दिनुपर्ने सर्तमा बलात्कारको मुद्दा गाउँमै गुपचुप राखियो । ४५ वर्ष काटिसकेका चारै जना आरोपीले तत्कालै यति धेरै रकम भुक्तान गर्न असमर्थता देखाएपछि पञ्चायतले कपाली तमसुक बनाउन लगायो ।


मुख्य आरोपी मोहन मण्डल खत्वेले ४ लाख ५० हजार, अन्य आरोपी मसुन खत्वे, बद्री खत्वे र पवन खत्वेले ३–३ लाख रुपैयाँ तिर्दा पीडित परिवारले कानुनी बाटो नसमात्ने निर्णय गर्दै युवतीकी आमाको नाममा पञ्चायतले कपाली तमसुक बनाइदियो । कपाली तमसुकको साक्षीमा स्थानीय मिश्रीलाल खत्वे र नारायण साहले औंठाछाप लगाएका छन् ।


२०७५ सालको भदौसम्ममा पीडित परिवारले १३ लाख ५० हजार रुपैयाँ पाउनुपर्ने तमसुकमा भाखा तोकिएको छ । तमसुक कागजमा भने बलात्कार मामिला मिलापत्रबापत नलेखेर ऋण भनेर उल्लेख गरिएको छ । सप्तरी प्रहरीलाई घटनाको एक सातापछि तमसुक गरेर बलात्कारको मामिला गाउँमै मिलाएको सूचना आयो ।


‘बलात्कार प्रयासको घटना पैसाको लेनदेनमा मिलाएको सूचनापछि हामीले चारै जना आरोपीलाई नियन्त्रणमा लियौं,’ जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले कान्तिपुरसित भने, ‘जघन्य अपराधमा पञ्चायती गरेर मुद्दामा मिलापत्र गर्नु पनि अपराध हो ।’ बलात्कारको घटना पैसाको लेनदेनमा मिलाएको खबरपछि इलाका प्रहरी कार्यालय भेडियाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा खटिएको टिमले फागुन २३ गते चारै जना आरोपीलाई पक्राउ गरेको थियो ।


पक्राउ परेका आरोपीले बलात्कार गर्ने मनसायले युवतीलाई गोठमा लगेको, बलात्कार को पहिला गर्ने विषयमा विवाद हुँदा स्थानीयले थाहा पाएको प्रहरीको बयानमा स्वीकार गरेको एसपी सिंहले बताए । पक्राउ गरिएका चारैजना आरोपीलाई जिल्ला अदालत सप्तरीबाट म्याद थप गराएर जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको छ । एसपी सिंहले बलात्कार मामिला मिलाउने र कपाली तमसुक बनाउनेको पनि खोजी भइरहेको जनाएका छन् ।


सप्तरीमा फागुन महिनामा मात्रै दुई सामूहिकसहित बलात्कारका ८ वटा घटना भएका छन् । बलात्कारको घटना बढेसँगै प्रहरीले सक्रियता बढाएपछि गाउँघरमै पञ्चायती गरेर मिलापत्र गराइएको मुद्दा पनि सार्वजनिक हुन थालेको छ । बलात्कारको घटना रोक्न सप्तरी प्रहरीले विशेष टिम नै परिचालन गरेको एसपी सिंहले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ३०, २०७४ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?