बलात्कार रोक्न स्थानीय तह परिचालित

राजविराज — बलात्कार र यौनजन्य क्रियाकलाप रोक्न सप्तरीका १८ वटै स्थानीय तहलाई सक्रिय पारिएको छ । बलात्कारका घटना दिनहुँ हुन थालेपछि त्यसलाई रोक्न प्रहरीसँगै स्थानीय तहलाई पनि परिचालन गरिएको छ ।

सप्तरीका सुरक्षा अधिकारीहरूको मंगलबार बसेको बैठकले बलात्कारका घटना बढेको र त्यसलाई रोक्न सुरक्षाकर्मीसँगै स्थानीय तहलाई पनि परिचालन गर्ने सहमति गरेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जिल्लाका ९ वटा नगरपालिका र ९ वटै गाउँपालिकाका जनप्रतिनिधिहरूलाई पनि यौनजन्य हिंसा रोक्न सक्रिय भइदिन आग्रह गरिएको बताए । स्थानीय तहलाई बलात्कार र अन्य संगीन अपराध रोक्न सचेतना जगाउन परिचालित हुन सुरक्षा अधिकारीहरूले आग्रह गरेका छन् ।


सप्तरीमा बलात्कारका घटना बढेपछि प्रहरीले सुरक्षाकर्मीको बाक्लो परिचालन गरेको छ । २४ घण्टाभित्रै २ वटा सामूहिक बलात्कार र एक महिनाभित्रै ६ वटा बलात्कारका घटना भएको सप्तरीमा आरोपीलाई नियन्त्रणमा लिन र यस प्रकारको गतिविधि रोक्न प्रहरीको उपस्थिति बाक्लो बनाइएको एसपी मुकेशकुमार सिंहले बताए ।


बलात्कारलगायत घटनामा संलग्न हुन सक्ने व्यक्तिको पहिचान गर्ने, निगरानी राख्ने, रातको समय ७–११ बजेसम्म प्रहरी उपस्थिति बढाउने र ग्रामीण तथा सहरी क्षेत्रका एकान्त स्थानलाई प्रहरीको सघन निगरानीमा राखिएको एसपी सिंहले बताए । ‘सामान्य अवस्थामा पनि प्रहरी परिचालित छ तर निश्चित समय र स्थानमा थप बल परिचालन गरिएको छ,’ उनले भने ।


बलात्कार घटनाका आरोपीमध्ये फरार रहेकालाई नियन्त्रणमा लिन सप्तरी प्रहरीले सीमावर्ती भारतीय प्रहरीसित पनि समन्वय गरेको छ । खुला सिमानाका कारण आरोपीहरू भारततर्फ भागेको हुन सक्ने भएकाले भारतीय प्रहरीसित समन्वय गरिएको एसपी सिंहले बताए ।


आइतबार राति शम्भुनाथ नगरपालिकामा भएको सामूहिक बलात्कार घटनाका पाँच आरोपीमध्ये प्रहरीले २ जना मुख्य आरोपीलाई त्यही राति नियन्त्रणमा लिए । अन्य तीन आरोपी फरार छन् । विष्णुपुर गाउँपालिकामा शनिबार राति भएको सामूहिक बलात्कार घटनाका २ जना आरोपी फरार छन् । फरार अरोपीलाई पक्राउ गर्न सप्तरी प्रहरीले विशेष टिम परिचालन गरेको छ । शम्भुनाथको बलात्कार घटनामा पक्राउ परेका दुवैजना आरोपीलाई मंगलबार म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ ।


बलात्कारका घटना मिलापत्र गराउन दबाब आइरहेको पनि एसपी सिंहले बताए । उनले भने, ‘दबाब आउँछन्, त्यसलाई खासै महत्त्व दिएका छैनांै ।’ बलात्कारका आरोपीलाई स्थानीयस्तरमै पैसाको लेनदेन गरेर मिलाउने र त्यो काममा सहयोग पुर्‍याउने सबैलाई पक्राउ गरेर कारबाही गरिने उनले बताए । प्रजिअ पाण्डेले पछिल्लो समय बढेको यौनजन्य हिंसा रोक्न सरकारी निकाय परिचालन गरिएको बताए ।


उनले रातिको समयमा खुला स्थानमा बालबालिका शौच गर्न जाँदा वा अन्य कुनै कारणले घरबाहिर निस्कनुपर्दा अभिभावकले पनि सचेतता अपनाइदिन आग्रह गरे ।


यता, सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार राति भएको सामूहिक बलात्कारको घटनाकी पीडित युवतीकी आमाले संलग्नलाई हदैसम्मको कारबाही माग गरेकी छन् । आफ्नी छोरी मात्र होइन, जिल्लामा बलात्कृत सबैले न्याय पाउनुपर्ने र अपराधी कानुनी दायरामा ल्याइनुपर्ने उनको माग छ ।

प्रकाशित : चैत्र १, २०७४ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?