१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

व्यक्तिगत र दलीय टकरावको मारमा स्थानीय तह

सिरहाको औरही र भगवानपुर गाउँपालिकामा विकास गतिविधि ठप्प
भरत जर्घामगर

सिरहा — जनप्रतिनिधि बीचको आन्तरिक विवादका कारण सिरहाको औरही र भगवानपुर गाउँपालिकाको गाउँसभा हुन सकेको छैन् । गाउँसभा नबस्दा ती गाउँपालिकाको विकासका गतिविधि ठप्प छन् । गाउँसभा नबसेकै कारण स्थानीय तहको कानुन र समितिहरु बन्न सकेका छैनन् । 

देशका अधिकांश स्थानीय तहहरुले काम सुरु गरिसकेका छन् । गाउँको सेवा गाउँमै उपलब्ध गराउने सुरुवात भएपनि जनप्रतिनिधिबीचको व्यक्तिगत र दलीय टकरावको मारमा औरही र भगवानपुरवासी परेका छन् ।


जनप्रतिनिधि चुनिएको ७ महिना बित्दा विकास निर्माणका कुनै काम नभएपछि ती दुई गाउँपालिकाका जनप्रतिनिधिसँग स्थानीय आक्रोशित छन् । प्राविधिक कर्मचारी हाजिरीको विषयलाई लिएर औरही गाउँपालिकामा अध्यक्ष सिदार्थ यादव र उपाध्यक्ष सितादेवी यादव पक्षबीच विवाद बढेपछि गाउँसभा बस्न सकेको छैन । अध्यक्ष यादव माओवादी केन्द्र र उपाध्यक्ष सितादेवी संघीय समाजवादी फोरमबाट निर्वाचित हुन । उनीहरुबीचको व्यक्तिगत र दलीय टकरावका कारण गाँउसभा नबसेपछि स्थानिय आक्रोशित छन् ।


उपाध्यक्ष सितादेवी यादवले सवओभरसियर दिनेश यादवलाई गाउँपालिकामा हाजिरी गराएपछि अध्यक्ष यादवले विरोध गरे । त्यही विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । ‘विवादकै कारण प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा आउन छाडे । प्रशासनिक कार्य महिनौ अवरुद्ध भयो’ एक स्थानीयले भने ‘केही दिन यता गाउँपालिकाका नायव सुब्बा लक्ष्मण साहलाई निमित्त अधिकृतको जिम्मेवारी दिइएको छ । प्रशासनिक कार्य सुरु भएपनि विकास निर्माण कार्य ठप्प नै छ ।’


गाउँपालिकाका अध्यक्ष सिदार्थ यादव बैठकका लागि पटक पटक बोलाउदा उपाध्यक्ष पक्षका जनप्रतिनिधिहरु सहभागी भएपनि कुनै प्रकारको निर्णय हुन नदिएको बताए । बैठकमा सधैजसो कर्मचारी हाजिरीको विषय उठाएर विवाद झिक्ने गरेको उनले बताए । गाउँसभा बस्न नसक्दा शर्सत अनुदान रकम बाहेकका अन्य कार्यहरुलाई अगाडि बढाउन नसकिएको अध्यक्ष यादवको भनाइ छ ।


उपाध्यक्ष यादवले बहुमतको निर्णय लागू हुन नदिएर अध्यक्षले विवाद बल्झाउँदै लगेको र अध्यक्षले आफूखुसी काम गर्ने गरेको आरोप लगाइन । सुरुमा अध्यक्षले जिल्लाबाट पत्र लिएर आएका कर्मचारीलाई गाउँपालिकामा हाजिरी गराएको तर सवओभरसियर दिनेश यादव आउँदा हाजिरी हुन नदिएर विवाद सृजना गरेको वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्रले यादवले बताए ।


उता, भगवानपुर गाउँपालिकामा कार्यपालिकाबाट अध्यक्षको कार्यसम्पादन, कार्यविभाजन नतोकिएकाले गाउँसभा हुन सकेको छैन् । भगवानपुर गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवले कार्यपालिकामा बहुमत सदस्य एमालेको रहेको र सदस्यहरुले अध्यक्षको कार्यसम्पादन र कार्यविभाजन नियमावली बन्न नदिएकाले गाउँसभा बस्न ढिलाई भएको बताए । एमालेबाट निर्वाचित भगवानपुर गाउँपालिका ५ का वडाध्यक्ष अमरलाल यादवले अध्यक्षको आफ्नै पार्टीमा विवाद भएपछि गाउँसभामा असर परेको बताउदै आफूहरु गाउँसभा गराउन तयार रहेको बताए ।


सिराहामा ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तह छन् । स्थानीय तहमा विकास निर्माणका लागि बजेट खर्च गर्नका लागि सभा सम्पन्न अनिवार्य छ । सभा नबसुञ्जेल खर्च गर्न मिल्दैन ।


जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुरले स्थानीय निकायमा विवाद सृजना भए समन्वय गर्ने भूमिका आफूहरुको रहेपनि औरही गाउँपालिकाको विवाद समाधानका लागि डेढ महिना अघि दुवैपक्ष मिलेर तालमेल गर्न सुझाएको बताए ।



उता, कल्याणपुर नगरपालिकामा नगरसभा सपन्न भएपनि न्यायिक समिति गठन हुन सकेको छैन् । कार्यपालिकामा संयोजक बाहेक सदस्यहरुमा कसलाई पठाउने विषयमा एमाले र राष्ट्रिय जनता पार्टीबाट निर्वाचित पक्षबीच विवाद उत्पन्न भएपछि न्यायिक समिति गठन हुनसकेको छैन । सहमति नभए केही दिनमै निर्वाचन प्रक्रियाबाट समिति गठनको तयारी भइरहेको उपमेयर रोहिनी देवी यादवले जानकारी दिइन । स्थानीय तहमा न्यायिक समितिमा संयोजक उपमेयर/उपाध्यक्ष र दुई सदस्य रहने प्रावधान छ ।


प्रकाशित : चैत्र ३, २०७४ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?