कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टापुगाउँ गोबरगाढा स्थानान्तरण गरिने

अवधेशकुमार झा

सप्तरी — वर्षातका बेला चारैतिरबाट पानीले घेरिने सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१३ को गोबरगाढा बस्ती स्थानान्तरण गरिने भएको छ । 

सप्तकोसी नदीको मध्यभागमा रहेको गोबरगाढामा बसोबास गर्नेहरूलाई वर्षातमा बाढीले ज्यान जोगाउन समेत मुस्किल पर्छ । वर्षौंदेखी नदीको मध्यभागमा बसिरहे पनि पुनर्वासको व्यवस्था नहुँदा कोसी नदीको मध्यभागमा पानीको बहावमै बसोबास गर्नुपरेको छ । टापु गाउँमा सरकारको उपस्थिति पनि छैन ।


स्थानीय तहमा जनप्रतिनिधि आएपछि कोसीको भंगालोमा रहेको बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । हनुमाननगर–कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले गोबरगाढा बस्ती स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए । वर्षेनीको बाढीको समस्याले गोबरगाढामा बसोबास गर्नेहरूमध्ये धेरैजना सुनसरीको कोसी ब्यारेज, सप्तरीको योगिनिया, हनुमाननगर र भारदहमा बसाइँ सरिसकेका छन् । मेयर साहका अनुसार अहिले गोबरगाढा टापुमा ७० परिवारका करिब ३ सय जना बसोबास गरिरहेका छन् ।


गोबरगाढामै रहेका परिवारलाई स्थानान्तरण गर्न चार बिघा जग्गा आवश्यक रहेको र त्यसका लागि नगरपालिकाको वडा नम्बर–४ को मधवापुर र ११ को इनर्वामा रहेको नगरपालिकाको स्वामित्वको जग्गासहित अरू जग्गा खोजिरहेको मेयर साहले बताए । ‘नगरपालिकाको जग्गा अपुग हुँदा खरिद गरेर पनि गोबरगाढाको बस्ती स्थानान्तरण गर्छाैँ,’ मेयर साहले भने, ‘वर्षेनी डुब्ने गोरगाढावासीलाई सुरक्षित स्थानमा यसैवर्ष सार्छौं ।


बर्खाका बेला गोबरगाढामा बस्नै नसकिने स्थिति छ । चैतको सुख्खामा पनि यहाँ बसोबास गर्नेलाई कष्टै छ । सामान्य आवश्यकता समेत पूर्ति गर्न नसकिरहेका गोबरगाढावासी सरकारका तर्फबाट पाउने सेवा–सुविधाबाट पनि वञ्चित नै छन् । वर्षातका महिनामा धेरै परिवार हनुमाननगर, योगिनिया, भारदह, कोसी ब्यारेज लगायतका क्षेत्रमा जान बाध्य हुन्छन् । चारैतिरबाट कोसी नदीले घेरिएको छ, गोबरगाढा ।


नेपालकै सानो गाविस रहेको गोबरगाढाका चारैतिर कोसी नदीको भंगालो छ । २ वर्षअघि हनुमाननगर–योगिनीमाई नगरपालिकाको एउटा वडाको बनेको गोबरगाढा हनुमाननगर–कंकालिनी नगरपालिकाको वडामा परेको छ । कष्टैकष्टले भरिएको यहाँको दैनिकी छोडेर धेरैजना अन्यत्र सरिसकेका छन् । वर्षातमा हनुमाननगरवाट यहाँ पुग्न ७ वटा भंंगालो जोखिमपूर्ण यात्रा गर्नुपर्छ । अहिले हनुमाननगरबाट बालुवा–बालुवैको बाटो भएर गोबरगाढा पुग्न सकिन्छ । वर्षामा सधैं समस्या र उठिबास झेल्ने गोबरगाढावासीका हिउँद र चैतको सुख्खाका दिन कष्ठकर छ ।

यहाँ स्वास्थ्य र शिक्षा दुबै गुणस्तरीय छैन । महिला स्वास्थ्य स्वयंसेविका तेतरीदेवी यादवले गोठमा स्वास्थ्य चौकी खोलेकी छन् । गोबरगाढाका बालबालिकालाई अध्ययनका लागि २०२३ सालमै स्थापना भएको शारदा आधारभूत विद्यालयमा एक सय ४ जना विद्यार्थी अध्ययनरत छन् ।

कोसी नदीको भंगालोमा दाउरा निकाल्न जानुबाट यहाँको दैनिकी सुरु हुनछ । खेतीकिसानी, गाई र भैंसी पालन गरेर दूध बिक्रीबाट आउने आम्दानीले दुई छाक टार्नु यहाँका बासिन्दाको आम्दानीको स्रोत हो । ‘एक किलो नुन किन्न पनि पैदल यात्रा गरेर हनुमाननगर बजार नै पुग्नुपर्छ,’ स्थानीय प्रमिलादेवी यादवले भनिन्, ‘हाम्रो जीवन नर्कजस्तै छ ।’ उनले राज्यले या त पुनर्वासको व्यवस्था गर्नुपर्छ, नभए हामीलाई पनि अन्य नागरिकसरह सेवासुविधा दिनुपर्छ ।’ ‘हामी यो टापुमा बस्ने रहर छैन,’ स्थानीय संजु मुखियाले भनिन्, ‘यो थातथलो छोडेर कहाँ जाउँ राज्यले भन्नुपर्‍यो नि ?’

प्रकाशित : चैत्र ३, २०७४ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?