कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानी इमोबाट नेपालमा ठगी

चिट्ठा परेको भन्दै पैसा ठग्ने गिरोहका चार पक्राउ
सन्तोष सिंह

धनुषा — इमोमार्फत फोन गरेर चिट्ठा परेको भन्दै ठगी गर्ने गिरोहका तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पोखराका एक जनालाई २५ लाख रुपैयाँ चिट्ठा परेको र त्यो रकम बुझ्न कर तिनुपर्ने भन्दै पैसा ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही थालेको छ ।

पाकिस्तानको नम्बर प्रयोग गरेर बनाएको आइएमओ (इमो) एकाउन्टबाट फोन गरेर चिट्ठा परेको र त्यो बापतको कर शुल्क बुझाउन भन्दै पैसा ठगी गर्ने तीन जनालाई धनुषा प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । पोखराका ती व्यक्तिसित गिरोहले २५ लाख रुपैयाँ चिट्ठा परेको भन्दै १ लाख ३५ हजार रुपैयाँ कर बापतको रकम असुल गरेर सम्पर्कविहीन भएका थिए । इमोबाट फोन गरेर चिट्ठा परेको भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।


आइएमइमार्फत मगाइएको रकम बुझ्न शुक्रबार बैंक पुगेका महोत्तरी जलेश्वर–६ पिगौना घर भएका हाल जनकपुरमा बसिरहेका २३ वर्षीय संगिता मिश्र, महोत्तरी मनरा नगरपालिका–९ का ४५ वर्षीय योगेन्द्र तिवारी र उनका ३५ वर्षीया श्रीमती कामनी तिवारीलाई पैसा ठगी आरोपमा पक्राउ गरिएको प्रहरी उपरीक्षक सिंहले बताए ।


चिट्ठा परेको भन्दै ठगी गरेको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय धनुषाको क्राइम ब्रान्चले आइएमइबाट पैसा झिक्न पेठिया बजार पुगेका संगितासहित तीनै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानका लागि पोखरा प्रहरीमा बुझाइएको छ ।


पक्राउ परेका योगेन्द्र तिवारी र उनको सालो वलिराम सिंह भने ठगी गर्ने गिरोहका मुख्य योजनाकार रहेको धनुषा प्रहरीले जनाएको छ । साउदी अरबबाट बैदेशिक रोजगारबाट फर्केका सिंहले यसअघि पनि ठगी गरेको रकम ट्रान्जेक्सन भएको देखिन्छ, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘मुख्य योजनाकार सिंहको पनि खोजी भइरहेको छ ।’ सिंह र तिवारीले इमोमार्फत फोन गरेर २५ लाख रुपैयाँ चिट्ठा परेको बापत कर रकम आइएमइ गरेर पठाउन लगाएका थिए । दुवै जनाले पोखरबाट आएको पैसा झिक्न संगिता मिश्रको नागरिकता प्रयोग गरेका थिए ।


यता, शुक्रबार नै सर्लाही लालबन्दी–४ का इन्दल चौधरीलाई चिट्ठा परेको भन्दै पैसा ठगी गर्ने महोत्तरीबाट पक्राउ परेका छन् । चौधरीको इमोमा फोन गरेर २५ लाख रुपैयाँ चिट्ठा परेको रकम पाउन ३५ हजार रुपैयाँ कर बापत पठाउन भनेका थिए । दुबैको नम्बरबाट चिट्ठा परेको फोन आएपछि चौधरीले प्रहरीमा उजुरी गरेका थिए । फोन गर्ने व्यक्तिले महोत्तरी सम्सी–७ का रामजी यादवको नाममा रुपैयाँ आइएमइ गर्न भनेका थिए ।


प्रहरीकै सहयोगमा चौधरीले पठाएको पैसा महोत्तरीको गौशालाबाट निकाल्न पुगेका यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शेष अदालतले बताए । प्रहरी निरीक्षक अदालतका अनुसार यादव यसअघि पनि १ लाख ५० हजार रुपैयाँ यसरी नै ठगी गरेका थिए । गौशलास्थित सहयोगी विकास बैंकबाट पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेर अनुसन्धान भइरहेको छ ।


प्रकाशित : चैत्र ३, २०७४ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?