मन्दिरको जग्गामा ५० घर

श्यामसुन्दर शशि

जनकपुर — डेढ दशकअघिसम्म १० कोठाको पक्की भवन । रामसीताको आकर्षक मन्दिर र साधु–सन्तको बाक्लो उपस्थितिले गुलजार थियो, जनकपुर–८ स्थित बिरख कुटी ।

मन्दिरको जग्गामा ५० घर

जग्गा हडपेर निजी घर बनेपछि अढाई बिघा क्षेत्रफलमा फैलिएको मन्दिर अहिले सानो झोपडिमा खुम्चिएको छ । मन्दिरकै जग्गा कब्जा गरेर त्यहाँ ५० भन्दा बढी पक्की निजी घर बनाइएको छ । मन्दिरको पक्की भवनका इँटासमेत चोरिएको छ । महन्थ र पुजारी बस्नका लागि झुपडी बनाइएको छ । त्यही झुपडीमा महन्थ चढ्ने घोडा बाँधिन्छ ।


ऐतिहासिक र धार्मिक भूमि जनकपुरका मठ–मन्दिरको नाममा रहेका जग्गा अतिक्रमण गरेर निजी घर बनाउने क्रम बढ्दो छ । धेरैजसो मन्दिरका महन्थले नै जग्गा बेचेका छन् । विरख कुटीको जग्गा हडपेर घर बनाउनेहरू समाजका ‘हेभिवेट’ नै हुन् । मन्दिरका महन्थ वकिल दास वैष्णवका अनुसार मन्दिरको जग्गा अतिक्रमण गरेर नेता, समाजकै अगुवा र प्रहरीका पूर्वअधिकारीहरूले घर बनाएका छन् ।


विरख कुटीको स्वामित्वमा ३ सय बिघा जग्गा थियो । त्यसमध्ये अब ८० बिघा जग्गा मात्र मन्दिरको अधिनमा छ । मन्दिरको वरिपरि चार बिघाको कम्पाउन्ड थियो । जहाँ साधु–सन्त बस्थे । मन्दिर परिसरमै फलफूलको ठूलो बगैंचा थियो । त्यहाँ दैनिक पूजापाठ र यज्ञ–हवन गरिन्थ्यो । महन्थ दासका अनुसार मन्दिर वरिपरिका ४ बिघा १६ कठ्ठा जग्गामध्ये कृषि वागवानीलाई १४ कठ्ठा र जानकी आँखा अस्पताललाई २ बिघा जग्गा प्रदान गरिएको थियो । बाँकी रहेको जग्गामध्ये २ बिघा ठूलाठालुले हडपेर निजी घर बनाएका छन् । मन्दिरको जग्गामै ५० परिवारले घर बनाएको महन्थ दासको दाबी छ ।

जनकपुरकै रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दास वैष्णवले पैसा लिएर आफ्नो मन्दिरको जग्गा बेचिदिएको उनको आरोप छ । विरह कुटीका महन्थ वकिलले भने, ‘बैकुण्ठ दासले धेरै जनासँग पैसा लिएर, केहीलाई नजराना (उपहार) मा मन्दिरको जग्गा बाँडेका हुन् ।’ रत्नसागर मन्दिरका महन्थ बैकुण्ठले भने अर्काको मन्दिरको जग्गा बेच्ने वा उपहारमा दिने आफ्नो कुनै हैसियत नरहेको र झूटो आरोप लगाएको बताए । उनले जनकपुर मुजेलियामा मन्दिरको नाममा रहेको १ बिघा जग्गा वकिल दासले हालसालै बिक्री गरेको उल्टै आरोप लगाए ।


विरख कुटीका तेस्रो पुस्ताका महन्थ हरिनारायण दास वैष्णवले अधिकृत वारेसनामामार्फत आफ्ना उत्तराधिकारी रामचन्द्र दास वैष्णवलाई मन्दिरको जग्गा बन्दोबस्ती गर्ने अधिकार दिएका थिए ।


रामचन्द्र दासले त्यो जग्गा ठूलीमैया ढुंगानाको नामबाट बकसपत्र गरे । बकसपत्रमार्फत २०४५ सालमा मन्दिरका अधिकांश जग्गा मोही गराइयो । २०५७ सालमा पुनरावेदन अदालत जनकपुरले मन्दिरको जग्गामा मोही खारेज गरी अतिक्रमण गरेर बनाइएको घर हटाउन आदेश गर्‍यो । २०५८ सालमा स्थानीय प्रशासनले बल प्रयोग गरेर बिरख कुटीको जग्गालाई अतिक्रमण मुक्त बनायो । त्यसपछि पनि फेरि मन्दिरको जग्गा अतिक्रमण गरेर ५० भन्दा बढी निजी घर बनाइएको छ ।


विरख कुटीको जग्गामा घर बनाएका ५० परिवारैसँग जग्गा खरिद गरेको लिखित प्रमाण छैन । गुठी संस्थान जनकपुरका प्रमुख मनोज शर्माले बिरख कुटीको जग्गा अतिक्रमण नै गरेर निजी घर बनाइएको दाबी गरे । उनले सरकारले मन्दिरको अतिक्रमित जग्गा खाली गराउने बताए । विरख कुटीको जग्गा अतिक्रमण गरेर घर बनाएका ३५ परिवारले जग्गा रजिस्ट्रेसनका लागि जनकपुर उपमहानगरपालिकामा निवेदन पनि दिएका छन् ।

प्रकाशित : चैत्र ४, २०७४ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?