आधा बजेट सडकमा

राजविराज — सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाले विकास बजेटको आधा रकम नगरपालिका क्षेत्रको सडक निर्माणमा खर्च गर्ने निर्णय गरेको छ ।

बजेट छरेर रकम सिध्याउनुभन्दा हरेक वर्ष एउटा विषयमा पुग्ने बजेट विनियोजन गर्ने सोचअनुसार यसवर्ष नगरपालिका क्षेत्रभरिकै सडक निर्माणमा बजेटको आधा सडक विनियोजन गरेको नगरपालिकाका मेयर शैलेशकुमार साहले जानकारी दिए ।

आर्थिक वर्षमा हनुमाननगर–कंकालिनी नगरपालिकाले २४ करोड रुपैयाँ विकास कामका लागि विनियोजन गरेको छ । जसमध्ये ११ करोड रुपैयाँ नगरपालिका क्षेत्रभित्रका विभिन्न सडक निर्माणका लागि विनियोजन गरिएको मेयर साहले बताए ।

हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादवका अनुसार चालु आर्थिक वर्षमा नगरपालिका क्षेत्रभित्र करिब ८ किलोमिटर सडक पीसीसी कालोपत्रे गर्ने योजना छ । यस्तै, विभिन्न सडकको ८ किलोमिटर क्षेत्रमा मर्मतसम्भार गरिनेछ । यसका अतिरिक्त डंगराहादेखि बेल्हासम्मको नयाँ सडक समेत चालु आर्थिक वर्षभित्रै निर्माण गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरिएको मेयर यादवले बताए । नयाँ निर्माण हुने सडक र पीसीसी कालोपत्रे हुने सडकको डीपीआर निर्माण गरेर काम अघि बढाइने मेयर साहले बताए । ‘पर्याप्त बजेट विनियोजन गरेका छौं । डीपीआर निर्माण गरेर त्यसका आधारमा सडक निर्माणलाई गति दिइनेछ,’ उनले भने ।

सप्तरीमा क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो नगरपालिका रहेको हनुमाननगर–कंकालिनी नगरपालिकाको कुल क्षेत्रफल ११८ दसमलव ६ वर्गकिलोमिटर छ । भारतीय सिमाना कुनौली बोर्डरदेखि कोसी ब्यारेजसम्म फैलिएको यो नगरपालिकाका क्षेत्र जिल्लामा बाढीबाट अति
प्रभावितमा पर्छ ।

वर्षौंदेखि बाढीका कारण नगरपालिकाभित्रको ग्रामीण क्षेत्रका सडकको अवस्था लथालिङ भएकाले यसवर्ष सडक निर्माणलाई उच्च प्राथमिकतामा राखेको साहले बताए । उनले सडकपछि शिक्षालाई आफूले प्राथमिकतामा राखेको बताए । नगरपालिका क्षेत्रभित्रको शैक्षिक सुधारका लागि यसवर्ष डेढ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै विद्युत् विस्तारका लागि ४० लाख विनियोजन गरिएको छ ।

प्रकाशित : चैत्र ४, २०७४ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?