कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चुरेमा खानेपानी समस्या बढ्यो

रवीन्द्र उप्रेती

महोत्तरी — गर्मी बढ्ने क्रमसँगै पानीका स्रोत सुक्दै जानाले जिल्लाको उत्तरी भेगमा खानेपानीको समस्या चुलिँदै गएको छ ।

चुरेमा खानेपानी समस्या बढ्यो

पानीको बढी खपत हुने समयमा इनार, चापाकल, पोखरी, खोलाका जलस्तर घट्दै जानाले ग्रामीण भेगमा समस्या थपिँदै गएको हो ।

फागुन लागेदेखि जलस्तर घटने क्रम सुरु भएको चुरेलगायत भावर क्षेत्रका धेरैजसो इनार र खोला सुकिसके । जति बाँकी छन् तिनमा झिसमिसेमै पानी भर्नेको भीड लाग्छ । टुटेश्वरका एक वृद्धका अनुसार सबै काम छोडेर पानी भर्नमा नै चटारो हुन्छ । पँधेरामा भनाभन र झैझगडा सामान्य घटना हुन थालेको छ ।

बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रहलाद क्षेत्रीका अनुसार यहाँ बर्सेनि देखा पर्ने पानी अभावले नवौं पञ्चवर्षीय योजनामा ‘शतप्रतिशत जनतालाई खानेपानी उपलब्ध गराउने’ सरकारी नीतिलाई नै उपहास गरेको छ । ‘स्वच्छ पानी पिउनु जनताको नैसर्गिक अधिकार हो’, क्षेत्रीले भने, ‘तर सहज ढंगले पानीसमेत नपाउनु मानव अधिकारको घोर उल्लंघन हो ।’

सरकारी निकायले पानीको जलस्तर घटने प्रमुख कारणमा बढ्दो जनसंख्या, चुरेको दोहन र सागरनाथ वन विकास परियोजनाले ओगटेको जंगलको विनाशलाई औंल्याउँदै आएका छन् । तर पीडितले भने यसका लागि सरकारी उपेक्षा सबैभन्दा ठूलो कारण भएको प्रतिक्रिया दिएका छन् । पानी अभावले थलिएका चारघरे र टुटेश्वर बर्दिवास नगरपालिका अन्तर्गत पर्छन् ।

बर्दिवास नपा ६ को चारघरे टोलमा सुक्नै लागेको इनारमा पानी भर्दै स्थानीय महिला ।तस्बिर : रवीन्द्र

इनारबाट पानी भर्ने प्रयासमा रहेकी किसान नगर ६ चारघरेकी ५१ वर्षीया सीता परियारका अनुसार घाम चढ्दै गएपछि इनारै सुक्छ । पानी पलाउन रातभरि कुर्नुपर्छ । अनि एकाबिहानै पँधेरो नगए पानीको जोहो गर्नै कठिन हुने उनले जनाइन् । त्यहाँको जलस्तर घटदै जानाले खेतबारी सुख्खा बन्दै गएका छन् ।

रातु खोलाको बगरमा रहेको चारघरे सुकुम्बासी बस्तीमा ३३ घर परिवारका २ सय जनाभन्दा बढी बस्छन् । इनार भने एउटा मात्र छ । गाउँलेले ७५ हजार ऋण काढेर इनार बनाएको स्थानीय युवा नेत्र कार्कीले जनाए । इनारमा पानी भर्न हतार गरिरहेकी अर्की गृहिणी कविता लुङ्गेलीले पानीको जोहो गर्न दिनको ३ घण्टाभन्दा बढी समय लाग्ने गरेका बताइन् । ‘इनार सुकेपछि पानीका लागि १ घण्टाको दूरीमा पर्ने उत्तरपूर्वको खोला पुग्नुपर्छ,’ कविताले थपिन्, ‘त्यो खोलामा पनि सजिलै पाइँदैन बालुवा खोस्रेर जम्मा भएको पानी कचौराले भर्नुपर्छ ।’ गाउँमा पानी अभावले पारेका समस्या कोट्याउँदै अर्की गृहिणी सरिता बस्नेतले पीडा पोखिन्, ‘भौगोलिक हिसाबले यो क्यान्सर लागेका गाउँ हो । सरकारको पनि नजर पर्दैन । जता हेर्‍यो बाधै बाधा छ ।’ जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष फौदसिंह स्यांवाका अनुसार चारघरेको इनारमा डिप बोरिङ गरे समस्या तत्कालै समाधान हुन्छ । खर्च पनि खासै बढी लाग्ने देखिँदैन । ‘सरकारले नै पीडितलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्छ,’ स्याङवाले थपे, ‘अनि जनताको तिर्खा कसरी मेटिन्छ ?’

चारकोशे झाडी उत्तरको दुर्गम गाउँ टुटेश्वरमा पनि खानेपानीको अभाव त्यत्तिकै टडकारो छ । पानी अभावले त्यहाँको दैनिकी नै फेरिने गरेको छ । मन्दिर टोलकी ७० वर्षीया हेममाया मगरनी टुटेश्वरमा पानी र सडकको समस्या गाउँ जत्तिकै पुरानो भएको बताउँछिन् । ‘४ गाग्रो पानी भर्न २ पटक लाम लाग्नुपर्छ । यो दु:ख कहिले बिसाउन पाइने हो ?,’ अर्की गृहिणी युक्तमाया रासकोटीले भनिन् । उनका अनुसार धारा आएको दिन बिहान ४ बजे उठेर लाम लाग्न जानुपर्छ । कुनै पनि नेता र मन्त्रीले यो समस्याप्रति चासो नदिएको उनीहरूको गुनासो छ ।

बस्तीमा पानीको अभावले पढाइमा समेत बाधा हुने गरेको छ । एसईई परीक्षाको तयारीमा रहेकी अमृता थापा मगरले धारामा पानी आएको दिन पढ्न छाडेर पानी भर्ने लाममा बस्नुपरेको बताइन् । उनका अनुसार जुन दिन धारामा पानी आउँछ त्यो दिन छात्राहरू विद्यालय जान पाउँदैनन् । ‘पहिले पानी अनि पढाइ,’ उनले भनिन् । धारा सुक्दा पानीको एउटै विकल्प हो ४ किमि उत्तरको मडाहा खोला । खोलाको पानी स्वास्थ्यका लागि उपयुक्त मानिँदैन । तर अर्को विकल्प पनि छैन । गाउँले बताउँछन्, ‘वर्षा याममा त अवस्था झनै जटिल हुन्छ । बाढीको धमिलो पानीले गुजारा चलाउनुपर्छ ।’

स्थानीयका अनुसार ४ सय घरधुरी रहेको टुटेश्वरमा खानेपानीको ३६ धारा छन् । मुहान र मर्मत अभावले यसमध्ये १६ धारा सुकिसकेका छन् । बाँकी रहेका धारामा पनि पालो गरेर पानी आउँछ । पूरै टुटेश्वरमा मन्दिर टोल, सुसलिङ टोल, भुवन टोल, डाँडाटोल र तीनतले गरी ५ टोल छन् । एउटा टोलको धारामा पानी आयो भने अर्को टोलको धारा सुकेका हुन्छन् । फेरि जुन टोलको धारामा पानी आउँछ त्यही टोलकाले मात्र पानी भर्न पाइने नियम बाँधिएको छ ।

गाउँका यज्ञप्रसाद गौतमकाअनुसार टुटेश्वरमा पानीको समस्या समाधान गर्न खासै गाह्रो छैन । टुटेश्वरदेखि ६ किमि दूरीमा रहेको पाङलाङ झोराको सिरमा कहिलै नसुक्ने मुहान छ । यसबारे तत्कालीन गाविसदेखि सिँचाइ कार्यालय र मन्त्रालयसम्म निवेदन गरिएको छ ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद शर्माकाअनुसार चारघरे र टुटेश्वरलगायत महोत्तरीका उत्तरवर्ती हात्तीलेट, वरडाँडा, रामनगर, खयरमारा, भरतपुर, लक्ष्मीनियामा, किसाननगर, पशुपति नगरलगायतका गाउँमा खानेपानीको अभाव छ । एक लाखभन्दा बढी जनसंख्या रहेका ती क्षेत्रका हरेकजसो वडामा डिप ट्युवेल, ओभरहेड ट्याङ्की जस्ता योजना सञ्चालित छन् । डिभिजन प्रमुख शर्माले टुटेश्वरमा पनि २ कडोर ३५ लाखको खानेपानी योजना निर्माणाधीन रहेको बताए ।

‘योजना दिने तर आवश्यक बजेट विनियोजन नगर्दा खाने पानी ‘काकाकुलको तिर्खा’ बनेको जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयलेसमेत स्विकारेको छ । ‘आवश्यक बजेट प्राप्त हुने हो भने आगामी वर्ष ती ठाउँमा खाने पानीको समस्या हुँदैन,’ शर्माले भने ।

प्रकाशित : चैत्र ७, २०७४ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?