कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जग्गाधनीलाई थाहै नदिइ तीनपटक बिक्री

मालपोतको लापरबाही
अवधेशकुमार झा

राजविराज — जग्गाधनीलाई थाहै नदिई जिल्ला मालपोत कार्यालय सप्तरीबाट नम्बरी जग्गा तीनपटक बिक्री भएको रहस्य खुलेको छ ।

जग्गाधनीलाई थाहै नदिइ तीनपटक बिक्री

भूमाफिया र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा धनीलाई थाहै नदिई एउटै जग्गा तीन जनालाई बिक्री गरिएको छ ।

जग्गाधनीले भने आफनो जग्गा बिक्री गर्न खोज्दा अरूले नै तीनपटकसम्म बेचिसकेको पोल खुलेको छ । सप्तरीको साविकको सिम्राहा सिगियौन गाविस–२ का रामकेवल यादवले २०७१ साल जेठ ७ गते साविकको नर्घो गाविस–३ क को कित्ता नम्बर ३७३ को १३ कठ्ठा जग्गा खरिद गरेका थिए । मालपोत कार्यालय सप्तरीको तथ्यांकअनुसार रजिष्ट्रेसन नम्बर ४५५८७१२७ बाट रामकेबलले उक्त जग्गा खरिद गरेको देखिन्छ ।

रामकेवलको स्वामित्वको उक्त जग्गाको किर्ते बिक्री ०७३ साल चैत १४ गतेदेखि सुरु भएको थियो । उनको नामको १३ कठा जग्गा किर्ते कागजात तयार गरेर बिक्री भएको छ । ०७३ साल चैत १४ गते नर्घो गाविस–२ की रामपरिदेवी यादवको नाममा पास हुँदा उक्त जग्गाको रजिष्ट्रेसन नम्बर १८१११ देखिन्छ । लगत्तै चैत १५ गते सोही जग्गा साविकको बोरिया गाविस ६ की ललितादेवीको नाममा १८१६९ नम्बरमार्फत रजिष्ट्रेसन भएको छ ।

त्यतिमात्र होइन रामकेवलको उक्त जग्गा ललितादेवीको नामबाट बोरिया गाविस–६ की बिन्दादेवी यादवको नाममा ०७४ जेठ १७ गते २२८२२ मा रजिष्ट्रेसन गरिएको थियो ।

जग्गाका मूलधनीले १३ कठठा जग्गा बिक्री गर्न खोज्दा मात्र उनले आफनो जग्गा आफूलाई थाहै नदिइकन पटकपटक बेचिइसकिएको जानकारी पाए ।

रामकेवलले जग्गा बिक्री गर्न खोज्दा मालपोतमा जग्गा रोक्का रहेको थाहा पाएपछि खोजी गर्दै जाँदा विवादबाट जोगिन रजिष्ट्रेसन नम्बर ६०१३ बाट उक्त जग्गा बिन्दादेवी यादवको नामबाट पुन: रामकेवलकै नाममा दर्ता गरिएको थियो । तर तीन जनालाई बिक्री गर्दै पुन: मूलधनीको नाममा फर्काएको जग्गाको लिखत भने मालपोत कार्यालयमा छैन ।

‘कस्तो अचम्म । मेरो जग्गा मलाई नै थाहा नदिइ तीन जनाको नाममा बिक्री भइसकेको रहेछ’, रामकेवलले भने, ‘मालपोत कार्यालयमा त कसैको जग्गा जो–सुकैले पनि बेच्न सकिनेजस्तो भयो ।’ उनले कर्मचारीकै मिलेमतोमा आफनो नामको जग्गा किर्ते कागजात बनाई पटकपटक बिक्री भएको आरोप लगाए ।

मालपोत कार्यालय सप्तरीको तथ्यांकअनुसार रामकेवलको जग्गा पटकपटक बिक्री गर्ने काममा कागजात हेर्ने र प्रमाणित गर्ने काम कार्यालयमा कार्यरत नायव सुब्बा सीताराम चौधरी, भोजराज रेग्मी र खरिदार रमेश दनुवारले गरेका थिए । उनीहरूले आफूलाई यसबारे केही थाहा नभएको भन्दै पन्छिन खोजे । मालपोत स्रोतका अनुसार सप्तरी मालपोतमा केही कर्मचारी र केही बाहिरी व्यक्तिको मिलेमतोमा जग्गाधनीलाई थाहै नदिई किर्ते कागजात तयार गरेर बिक्री गर्ने गिरोह नै सक्रिय रहेको छ ।

अरूको जग्गा बेच्दै पैसा कमाउने नियतले ती समूह सक्रिय रहेको स्रोतले भन्यो ।

जिल्ला मालपोत कार्यालय सप्तरीका नायव सुब्बा शम्भुराज अधिकारीले रामकेवलको नामको जग्गा कसरी उनलाई थाहा नभई बिक्री भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । उनले अनुसन्धानका लागि जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा पत्र समेत पठाइएको बताए । उनले चौथोपटक फेरि त्यही जग्गा रामकेवलकै नाममा आउँदाको कागजात मालपोत कार्यालयमा नरहेको स्वीकारे ।

जिल्ला मालपोत कार्यालय सप्तरीका प्रमुख दधिराम गुरागाईंले पहिलोपटक रामकेवलको नामबाट रामपरीको नाममा लिखत पास हुँदा किर्ते कागजात पेस गरिएको स्वीकार गरे । उनले भने, ‘रामकेवलको नामबाट रामपरीको नाममा किर्ते कागजात तयार गरी लिखत पास भयो, त्यसपछि सोही कागजातका आधारमा अन्यका नाममा रजिष्ट्रेसन पास हुँदै गयो ।

पछिल्लोपटक जग्गाका मूलधनीले आफनो जग्गा खोजी गर्दा लुकाउन नसक्ने हुँदा किर्ते गर्नेहरूले भीडभाडमा कर्मचारीलाई झुक्याएर जग्गा फेरि रामकेवलकै नाममा पास गराएको गुरागाईंले बताए । सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जिल्ला मालपोत कार्यालयमा भएको किर्तेका विषयमा छानबिन गरिदिन कार्यालयबाट चैत ५ गते पत्र आएको बताए । उनले उक्त घटनाबारे प्रहरीले अनुसन्धान थालिसकेको जानकारी दिए ।

प्रकाशित : चैत्र ७, २०७४ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?