१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पढ्न चाहन्छन् डोम बालबालिका

शंकर आचार्य

पर्सा —  ७ वर्षीया सविता मल्लीलाई स्कुल जाने रहर छ । उनको घरको अघिल्तिरबाटै आफ्नै उमेरका बालबालिका ठाट्टिएर दैनिक स्कुल आउजाउ गरेको देख्दा उनलाई पनि स्कुल जाउँजाउँ जस्तो लाग्छ । 

पढ्न चाहन्छन् डोम बालबालिका

वीरगन्ज महानगरपालिका-१४ स्थित नारायणी सिंचाई व्यवस्थापन डिभजन कार्यालय छेउ गण्डक नहरको उत्तरी डिलमा बसेको डोम टोलकी चेली हुन् सविता । टोलमा सुकिला मुकिला र पढेलेखेका जस्ता देखिने नौला मानिसलाई उनले सोध्छिन्, ‘अंकल म कहिले स्कुल जान पाउँछु ।’ निर्दोष सविताको यो प्रश्न सुन्ने जो कोहीलाई पनि एक छिन् सोच्न बाध्य बनाउछ ।


त्रिभूवन राजपथको वीरगन्ज पथलैया सडक खण्डकै छेउमा बसेको डोम टोलकी सविताले अझै पनि विद्यालय देखेकी छैनन् । उनमा पढेर धेरै ठूली मान्छे बन्ने रहर नभएपनि अक्षर चिन्ने र नियमित विद्यालय जाने रहर छ । ‘खै पढेर के बनिन्छ मलाई थाहा छैन, तर सधैँ विद्यालय गएर पढन चाहन्छु ।’


टोलकी अर्की चेली १० बर्षीया काजल मल्लीलाई पनि स्कुल जाने रहर छ । उनी पनि निरक्षर हुन् । ‘मलाई पनि स्कुल जाने रहर छ,’ उनले भनिन्, ‘खै हामी डोमका छोराछोरीलाई पनि स्कुलमा पढन दिन्छन् र ?’ ।


१२ बर्षिया चन्दा मल्ली टोलकै ठूला बालबालिका मध्येकी एक हुन् । उनी पनि स्कुल गएकी छैनन् । ‘हामी डोम जातिको नजिक त पर्न चाहदैनन् कोही पनि,’ उनले भनिन्, ‘ठूला जातिका छोराछोरी हामीसँगै बसेर पढ्न के मान्लान् र ?’ ।


टोलका बालबालिकामा सामाजिक भेदभाव र छुवाछुतको भावना डरलाग्दो गरी गाडिको छ । आफूहरु तल्लो जातकै भएकाले कथित ठूला जातिकाहरु आफूहरुको छेउ पनि पर्न नचाहने कुरो उनीहरुले राम्ररी बुझेका छन् ।


टोलमा आधा दर्जन घरधुरी छन् । यी घरधुरीमा विद्यालय जाने उमेरका १४ बालबालिका छन् । कोही पनि विद्यालय जादैनन् । टोलकै चेलीहरु चन्दा र पुजाकी आमा गिता देवी नजिकको हेरिटेज अंग्रेजी स्कुलमा स्विपरको काम गर्छिन् । तर उनका छोराछोरीहरु अनपढ छन् । भन्छिन्, ‘मलाई मेरा छोराछोरीहरु पनि टाई र जुत्ता लगाएर स्कुल पढेको हेर्ने रहर छ, तर गरिबी र छुवाछुतको डरले छोराछोरीलाई स्कुल पठाउने आँट छैन ।’


सरकारले चलाउने विद्यालय भर्ना अभियानकाे पहुँच यो टोलमा पुग्दैन । गरिबी र अभावबाट गुज्रीरहेका टोलबासीलाई खानेपानीको समस्या पनि छ । राजमार्ग छेउको सार्वजनिक चापाकलबाट पानी ल्यादा उनीहरुले ठूला जातिको हप्की दप्की सुन्नु पर्छ ।


टोलबासीलाई एउटा चापाकलको व्यवस्था गर्न लागि परेका सामाजिक अभियन्ता प्रकाश थारु महानगरमै रहेको यो टोलबासी राज्यको सेवा सुविधाको पहुँचबाट टाढा हुनु दु:खद भएको बताउँछन् । ‘सबै भन्दा आश्चर्य मलाई के लाग्यो भने टोलका एउटै पनि बालबालिकाले विद्यालयको नाकमुख देखेका छैनन्,’ उनले भने, ‘अनि कसरी विद्यालय भर्ना अभियान सफल हुन्छ ।’ टोलका बालबालिकालाई आउँदो शैक्षिक सत्र देखि विद्यालयसँग जोड्न आफूले व्यक्तिगत रुपमै सक्दो पहल गर्ने पनि उनले बताए ।

प्रकाशित : चैत्र ७, २०७४ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?