कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सागरमाला परियोजनाले आयात ‘सहज’

शंकर आचार्य

कोलकाता (भारत) — एसियाली विकास बैंकको लगानीमा भारतमा निर्माणाधीन सागरमाला परियोजनाको लाभ नेपाली आयात–निर्यातकर्ताले पनि लिन सक्ने भएका छन् ।

सागरमाला परियोजनाले आयात ‘सहज’

यहाँस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत एकनारायण अर्यालले परियोजनाबाट नेपाली आयातकर्तालाई लाभ पुग्ने बताए ।

परियोजनाअन्तर्गत भारत, बिहारको पटनास्थित गंगा नदीमा ३ वर्षदेखि जारी निर्माणको काम करिब ५० प्रतिशत सकिएको अर्याल बताउँछन् । अन्य बन्दरगाहमा पनि यस्तै परियोजनाको काम जारी छ । भारतका विभिन्न राज्यस्थित सामुद्रिक तथा ठूला नदीमा आधारित बन्दरगाहलाई एक–अर्कासँग जलमार्गबाटै जोड्ने महात्त्वांकाक्षी परियोजनाको काम ३ वर्षभित्रमा सम्पन्न हुँदै छ ।

नेपालले हाल बढी प्रयोग गरिरहेको कोलकाता बन्दरगाहदेखि भारतको १३ राज्यका अन्य बन्दरगाहको आपसी सञ्जाल निर्माण गरिँदै छ जसबाट भारतबाट एक राज्यदेखि अर्को राज्यमा मालसामान ढुवानी जलमार्गबाटै गरिनेछ । तेस्रो मुलुकबाट समुद्री बन्दरगाह हुँदै आयात हुने मालबस्तुसमेत भारतकै विभिन्न राज्यमा पनि जलमार्गबाट ढुवानी सम्भव हुनेछ । यसले भारतीय राजमार्गमा हुने सवारीसाधनको भीड कम हुने र आयातकर्ताको ढुवानी लागत पनि सस्तो पर्छ ।

परियोजना सम्पन्न भएपछि नेपालको वीरगन्जदेखि भैरहवा, विराटनगर नाकासम्म तेस्रो मुलुकको मालबस्तु आयात–निर्यात गर्न पटनासम्म पुग्दा हुनेछ । हाल नेपाली आयातकर्ताले प्रयोग गर्दै आएको कोलकाता ७ सय, हल्दिया ८ सय ५० र बिसाखापटनम बन्दरगाह वीरगन्जबाट १ हजार ४ सय किमि टाढा छन् । तर, पटना र वीरगन्जबीचको दूरी २ सय ५० किमि मात्र छ ।

नेपाली आयातकर्ताका लागि ढुवानी खर्च आधाभन्दा पनि कम हुने महावाणिज्यदूत अर्याल बताउँछन् । पटनाबाट वीरगन्जसम्म रेलबाट तथा सडक मार्गबाट पनि ढुवानी गर्न मिल्छ । सागरमाला परियोजनाअन्तर्गत आधुनिक, यान्त्रीकरण र कम्प्युटरीकृत माध्यमबाट ७ हजार ५ सय किलोमिटर लामो तटीय समुद्री/जलमार्गसहितको आधुनिक बन्दरगाह निर्माण गरिँदै छ । १७ वर्षअघि अटलबिहारी बाजपेयीको सरकारको पालामा कल्पना गरिएको यो परियोजनालाई भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले अगाडि बढाएको छ ।

परियोजनाअन्तर्गत बन्दरगाहमा आधारित औद्योगिक, सहरीकरण, तटीय पर्यटन र मनोरन्जनात्मक गतिविधि गरिनेछ । यसबाहेक साना समुद्री जहाजको आवागमन र अन्तर्देशीय जलमार्ग परिवहन, जहाज निर्माण, जहाज मर्मत र जहाज रिसाइक्लिङसमेतको काम गर्ने योजना छ ।

मालसामान भण्डारण, समुद्री सेवा, हालको बन्दरगाहको आधुनिकीकरण, ऊर्जा, कन्टेनर, रसायन, कोइला, कृषि उत्पादनजस्ता मुख्य आर्थिक गतिविधिमा बन्दरगाहको विशेषज्ञता बढाउनेलगायतको काम गरिनेछ ।

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीपकुमार केडियाले सागरमाला परियोजना भारत सरकारले आफ्ना उद्योगी–व्यवसायीलाई लक्षित गरेर निर्माण गरे पनि त्यसबाट नेपाली उद्योगी–व्यवसायीलाई पनि लाभ हुने बताए । तेस्रो मुलुकबाट नेपाल आउने कन्टेनरको संख्या वार्षिक १ लाखभन्दा माथि नकटेकाले भारत सरकारसँग नेपाल सरकारले आवश्यक छलफल गरेर नेपालका लागि पटनाको गंगा बन्दरगाह पनि प्रयोग गर्न सक्ने उनले बताए ।

गंगाबाट नेपालको कोसी, गण्डकी/नारायणी, कर्णाली नदीमा साना जहाजबाट कन्टेनर ढुवानी गरेर पनि ल्याउन सकिने भएकाले सागरमाला परियोजना नेपालका लागि उपयोगी हुन सक्ने सम्भावना रहेको उनले बताए । कोलकाता, हल्दिया र बिसाखापटनमदेखि नेपालसम्म रेल तथा ट्रक, लरीबाट कन्टेनर तथा मालसामान ढुवानीको झन्झट हट्नेछ ।

प्रकाशित : चैत्र ८, २०७४ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?