पढ्न चाहन्छन् डोम बालबालिका

शंकर आचार्य

पर्सा — ७ वर्षीया सबिता मल्लीलाई स्कुल जाने रहर छ । उनको घरको अघिल्तिरबाटै आफ्नै उमेरका बालबालिका ठाँटिएर दैनिक स्कुल आउजाउ गरेको देख्दा उनलाई पनि स्कुल जाउँजाउँ जस्तो लाग्छ ।

पढ्न चाहन्छन् डोम बालबालिका

वीरगन्ज महानगर १४ स्थित नारायणी सिंचाइ व्यवस्थापन डिभिजन कार्यालयछेउ गण्डक नहरको उत्तरी डिलमा बसेको डोम टोलकी चेली हुन् सबिता । टोलमा सुकिला मुकिला र पढेलेखेका जस्ता देखिने नौला मानिसलाई उनले सोध्छिन्, ‘अंकल म कहिले स्कुल जान पाउँछु ।’ निर्दोष सबिताको यो प्रश्न सुन्ने जोकोहीलाई पनि एकछिन सोच्न बाध्य बनाउँछ ।

त्रिभुवन राजपथको वीरगन्ज पथलैया सडक खण्डकै छेउमा बसेको डोम टोलकी सविताले अझै पनि विद्यालयको नाकमुख देखेकी छैनन् । उनलाई पढेर धेरै ठूली मान्छे बन्ने रहर पनि छैन तर अक्षर चिन्ने र नियमित विद्यालय जाने रहर भने छ । ‘खै पढेर के बनिन्छ मलाई थाहा छैन, तर सधैं विद्यालय गएर पढ्न चाहन्छु ।’

टोलकी अर्की चेली १० वर्षीया काजल मल्लीलाई पनि स्कुल जाने रहर छ । तर गएकी छैनन् । उनी पनि निरक्षर नै छिन् । ‘मलाई पनि स्कुल जाने रहर छ,’ उनले भनिन्, ‘खै हामी डोमका छोराछोरीलाई पनि स्कुलमा पढ्न दिन्छन् र ?’

१२ वर्षीया चन्दा मल्ली टोलकै ठूला बालबालिकामध्येकी एक हुन् । उनी पनि स्कुल गएकी छैनन् । ‘हामी डोम जातिको नजिक त पर्न चाहँदैनन् कोही पनि,’ उनले भनिन्, ‘ठूला जातिका छोराछोरी हामीसँगै बसेर पढ्न के मान्लान् र ?’ टोलका बालबालिकामा सामाजिक भेदभाव र छुवाछुतको भावना डरलाग्दो गरी गडेको छ । आफूहरू तल्लो जातकै भएकाले कथित ठूला जातिकाहरू आफूहरूको छेउ पनि पर्न नचाहने कुरो उनीहरूले राम्ररी बुझेका छन् ।

टोलमा आधा दर्जन घरधुरी छन् । यी घरधुरीमा विद्यालय जाने उमेरका १४ बालबालिका छन् । कोही पनि विद्यालय जाँदैनन् । टोलकै चेलीहरू चन्दा र पूजाकी आमा गीतादेवी नजिकको हेरिटेज अंग्रेजी स्कुलमा स्विपरको काम गर्छिन् । तर उनका छोराछोरी अनपढ छन् । भन्छिन्, ‘मलाई मेरा छोराछोरी पनि टाई र जुत्ता लगाएर स्कुल पढेको हेर्ने रहर छ, तर गरिबी र छुवाछुतको डरले छोराछोरीलाई स्कुल पठाउने आँट छैन ।’

सरकारले बर्सेनि चलाउने विद्यालय भर्ना अभियानको पहुँच यो टोलमा पुग्दैन । गरिबी र अभावबाट गुज्रिरहेका टोलबासीलाई खानेपानीको समस्या पनि छ । राजमार्ग छेउको सार्वजनिक चापाकलबाट पानी ल्याउनु पर्दा उनीहरूले ठूला जातिको हप्कीदप्की सुन्नुपर्छ ।

टोलबासीलाई एउटा चापाकलको व्यवस्था गर्न लागिपरेका सामाजिक अभियन्ता प्रकाश थारू महानगरमै रहेको यो टोलवासी राज्यको सेवा सुविधाको पहुँचबाट टाढा हुनु दु:खद भएको बताउँछन् । ‘सबैभन्दा आश्चर्य मलाई के लाग्यो भने टोलका एउटै पनि बालबालिकाले विद्यालयको नाकमुख देखेका छैनन्,’ उनले भने, ‘अनि कसरी विद्यालय भर्ना अभियान सफल हुन्छ ।’ टोलका बालबालिकालाई आउँदो शैक्षिक सत्रदेखि विद्यालयसँग जोड्न आफूले व्यक्तिगत रूपमै सक्दो पहल गर्ने पनि उनले बताए ।

प्रकाशित : चैत्र ८, २०७४ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?