कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बलात्कार आरोपीबाटै मुद्दा

बुहारीलाई बलात्कार गरेको अभियोग लागेका श्रीमान्लाई जोगाउन बुहारीकै बुबाले आफूलाई जबरजस्ती करणी गरेको झुटा आरोप
भूषण यादव

वीरगन्ज — महानगरपालिका–११ राधेमाई निवासी ४५ वर्षीय महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जबरजस्ती करणीको उजुरी लिएर पुगिन ।

बुहारीका बुबाले जबरजस्ती करणी गरेको उनको आरोप छ । जबरजस्ती करणीका क्रममा शरीरमा चोटपटक लागेको उनले घाउ जाँच फारमसमेत पेस गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलको सोधपुछपछि ती महिलाले श्रीमान्को सल्लाहमै उजुरी ल्याएको स्विकारिन् । ती महिलाका श्रीमान् मन्सुर बाबुमाथि गत पुस २८ मा आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ । मुद्दा दर्ता भएकाले उनी करिब साढे २ महिनादेखि फरार छन् । मन्सुर पेसाले वकिल हुन् ।

गत मंसिरमा प्रहरीलाई राधेमाई इलाकामा बुहारीलाई ससुराले जबरजस्ती करणी गरेको सूचना आएको थियो । त्यसका आधारमा मंसिर २८ मा प्रहरीले ती बुहारीको उद्धार गरेको थियो । बारा उपहानगरपालिका निवासी ती युवतीको मन्सुरका छोरासँग २ वर्षकी छोरी पनि छन् । पछिल्लो समय छोरा र बुहारीको सम्बन्ध बिग्रिएको थियो । मन्सुरले छोरासहितको हिन्दु युवतीसँग तेस्रो विवाह गरेका थिए । ‘बुहारी र छोराको सम्बन्ध बिग्रिएको थाहा पाएपछि मन्सुरले जबरजस्ती सम्बन्ध बनाउन थालेका थिए,’ नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरी अधिकृत भन्छन्, ‘गोप्य सूचनाका आधारमा युवतीलाई उद्धार गरेपछि रहस्य खुलेको हो ।’

यस अवधिमा उनले मुद्दाबाट उम्किन अनेक दबाब दिएको पीडित युवतीले बताइन् । ‘मन्सुरकी श्रीमतीले मंगलबार जबरजस्ती करणीको उजुरी लिएर आएपछि शंका लागेको थियो,’ प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले भने, ‘केरकार गर्दै गएपछि उनले सबै खुलाइन् ।’

झूटो उजुरीमा के गर्ने भन्नेबारे सरकारी वकिलसँग सल्लाह गरी अगाडि बढ्ने उनले प्रतिक्रिया दिए । ‘श्रीमान्बाहेक यो संसारमा मेरो अर्को सहारा छैन,’ ती महिलाको भनाइ उद्धृत गर्दै ती प्रहरी अधिकृतले भने, ‘उनैमाथि लागेको मुद्दा दबाउन झूटो उजुरी लिएर आएको हुँ ।’ शरीरको चोटपटकसमेत घरमा आफैं लडेर लागेको उनले स्वीकार गरेको ती प्रहरीले बताए ।

प्रकाशित : चैत्र ८, २०७४ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?