पोलिक्लिनिकबाट ठगी

भरत जर्घामगर

सिरहा — पाँच वर्षीय छोरा आनन्दलाई पेटमा समस्या भएपछि लहान नगरपालिका–१ की सोमनी रामले स्थानीय जिनिस पोलिक्लिनिकमा उपचारका लागि पुर्‍याइन् । केहीदिन पोलिक्लिनिकमा उपचारपछि घरमा ल्याइन् । सोही समस्या बल्झियो । छिमेकीको सल्लाहमा सोमनीले छोरालाई अर्को पोलिक्लिनिकमा लगेर उपचार गराइन् । 

पोलिक्लिनिकबाट ठगी

छोरोको एकपछि अर्को पोलिक्लिनिकमा उपचार गराउँदागराउँदै सोमनीको महिना दिनमै २० हजार रुपैयाँ सकियो । आर्थिक अवस्था कमजोर भएकी सोमनीको छोराको रोग पत्ता लागेन ।


छोराको उपचारका लागि उनले स्थानीय एक सहकारीसँग १० हजार रुपैयाँ ऋण काढेर माइतीघर दरभंगा पुगिन् । त्यहाँको अस्पतालमा उपचारपछि अहिले आनन्दको स्वास्थ्यमा सुधार आएको छ ।


सिरहाको सीमावर्ती गाउँ इटाटारकी गर्भवती रामवतीलाई रक्तश्राव हुन थालेपछि २०७३ कात्तिक २९ गते एम्बुलेन्समार्फत लहानस्थित लिलामदन पोलिक्लिनिकमा ल्याइयो । तीन दिनको उपचार खर्चबापत पोलिक्लिनिकलाई १३ हजार बुझाएपछि रामवतीलाई घर पठाइएको थियो । त्यतिखेर पोलिक्लिनिकले गर्भको बच्चा सकुशल भनेको थियो ।


ठीक एकहप्तापछि मंसिर ६ गते साँझ ७ बजेबाट रामवतीलाई उही समस्या दोहोरियो । राति नै एम्बुलेन्स चढेर रामवती त्यही पोलिक्लिनिकमा पुगिन् । केहीबेरमै चिकित्सकले बच्चा गर्भमै मरिसकेको जानकारी दिँदै शल्यक्रिया गर्नुपर्ने बताए । शल्यक्रिया गरेर गर्भमा मृत्यु भएको बच्चा निकाल्नुपर्छ भनेपछि आफूले मन्जुरी दिएको उल्लेख गर्दै उनका पति लालबाबु भन्छन् ‘यसको सम्पूर्ण खर्च ४० हजार लाग्छ भनेको थियो तर शल्यक्रिया गरेपछि पोलिक्लिनिकले ५० हजारको बिल थमायो ।’


‘बच्चा पनि खेर गयो, गरिब छु, ४० हजार मात्र छ भन्दा पनि पोलिक्लिनिकले मानेन’ उनले भने ‘उपचार गराइसकेपछि मागेजति रकम नबुझाउँदा बिरामी लैजान मिल्दैन भनेर अड्डी कसेपछि पुन: १० हजार ऋण खोजेर ५० हजार बुझाएर पत्नीलाई घर लिएर आएँ ।’ ‘पत्नीलाई शल्यक्रिया नै गरिएको रहेनछ घर ल्याएपछि पो थाहा भयो’ लालबाबुले गुनासो गरे, ‘यसबारे दुनियाँलाई सुनाए पनि पोलिक्लिनिकलाई कारबाही भएन ।’


पोलिक्लिनिकबाट हुने ठगीको पीडा लहानका सोमनी राम र इटाटारका रामवतीको मात्र होइन, अन्य धेरैले भोग्नुपरेको उदाहरण बग्रेल्ती भेटिन्छन् । सामान्य स्वास्थ्योपचारको स्वीकृति लिएका पोलिक्लिनिकहरुले बिरामी भर्ना र शल्यक्रिया गरेर ठगी गर्ने धन्दा फस्टाए पनि कारबाही गर्ने निकाय गुपचुप रहँदा सिरहाको प्रत्येक बजारहरुमा गुणस्तरहीन पोलिक्लिनिक बढेको बढ्यै छ ।


दुई वर्ष अघिसम्म जिल्ला स्वास्थ्य कार्यालयबाट अनुमति नै नलिई ‘अस्पताल’ को नाममा यस्ता स्वास्थ्य केन्द्रको गोरखधन्दाको बिगबिगी भएपछि सञ्चारमाध्यमबाट पर्दाफास भयो । धेरै अस्पतालहरु बन्द भए । पछि उही ‘अस्पताल’ का सञ्चालकहरुले आफ्नो स्वास्थ्य केन्द्रलाई पोलिक्लिनिकमा रुपान्तरण गरेपछि स्वास्थ्यमा हुने ठगीले वैधानिकता पाएको छ । अहिले मापदण्ड मिले नमिले पनि जिल्ला स्वास्थ्य कार्यालयकै स्वीकृति लिएर जिल्लाभरि ४७ वटा पोलिक्लिनिक सञ्चालित छन् ।


स्वास्थ्यमा विकृति यहाँ यतिसम्म बढेको छ कि लहानस्थित सरकारी स्वामित्वको राउस्मारक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिलकुमार कुशवाहाले आफ्नैं लगानीमा श्रेया पोलिक्लिनिक सञ्चालन गरेका छन् ।


पोलिक्लिनिकमा ठगी प्रवृत्ति मौलाइरहँदा पनि नियमनकारी निकाय जिल्ला स्वास्थ्य कार्यालय सिरहा भने मौन देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन समेत रहेका प्रशासकीय अधिकृत उमेशलाल कर्ण लहानमा रहेको पोलिक्लिनिकको अनुगमन गर्न आफूहरुले नभ्याएको बताए । ‘पोलिक्लिनिकहरुको बारेमा गुनासाहरु आइरहेका छन्’ उनले भने, ‘त्यस्ता गलत काम गर्ने कतिपय पोलिक्लिनिकहरुलाई हामीले सचेत गराइसकेका छौ ।’


स्वास्थ्य क्षेत्रका सरोकारवालाहरु जिल्ला स्वास्थ्य कार्यालय नै त्यस्ता पोलिक्लिनिकसँग मिलेको आरोप लगाउँछन् । ‘तीन साता अगाडि नै जिल्ला स्वास्थ्य कार्यालयले पोलिक्लिनिकको अनुगमन गरेको थियो तर धनगढीबाट लहान आउने बेला प्रशासकीय अधिकृत कर्णले नै लहानका पोलिक्लिनिकहरुलाई अनुगमन गर्न भ्याइँदैन भनेर फर्काउनुभयो’ स्वास्थ्य कार्यालयका एक कर्मचारीले भने, ‘लहानमा अनुगमन गर्नुपर्‍यो भने उहाँले कुनै न कुनै बहाना बनाइहाल्नु हुन्छ ।’


प्रकाशित : चैत्र ११, २०७४ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?