कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

निकुञ्जको भावर क्षेत्रमा डढेलो

पर्सा — पर्सा राष्ट्रिय निकुञ्जको दक्षिणी भावर क्षेत्रमा डढेलो लागेको छ । ‘हाल निकुञ्जको चुरेको सिरान भावर क्षेत्रमा बढी डढेलो लागेको देखिएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले भने, ‘हालसम्म ठूलो नभई स–साना डढेलो लागेका छन् ।’

निकुञ्जको भावर क्षेत्रमा डढेलो

सुक्खा मौसम सुरु भएसँगै डढेलो थोरै देखिएको हुन सक्ने उनले बताए । फागुनदेखि जेठसम्मै यसरी निरन्तर डढेलो लागिरहने उनले बताए । बीच–बीचमा पानी परे डढेलो निभ्न पनि सक्छ । यसपटक हालसम्म पानी नपरेकाले डढेलो चाँडै फैलिरहेको छ । गत वर्ष तुलनात्मक रूपमा डढेलो धेरै स्थानमा लागेको थियो । गत वर्ष एकै दिनमा निकुञ्जमा ६ सय बढी स्थानमा डढेलो लागेको थियो ।

निकुञ्जमा प्रवेश गर्ने गोठालाहरूले चुरोटको ठुटा र सलाई कोरेर फाल्दा डढेलो लाग्ने गरेको छ । यसबाहेक मानवीय गतिविधि नभएका क्षेत्रमा चट्टानहरूको घर्षणबाट आगोको झिल्का उत्पन्न भएर डढेलो लाग्ने गरेको छ । दक्षिणी सिमाना जोडिएको राष्ट्रिय वनबाट पनि वर्षेनी निकुञ्जमा डढेलो सल्किने गरेको छ ।

निकुञ्ज प्रशासनले समेत बर्सेनि यही मौसममा विभिन्न स्थानमा डढेलो लगाउने गर्छ । निकुञ्जभित्रका घाँसे मैदान व्यवस्थित गर्न यसो गरिन्छ । वर्षेनी घाँसे मैदानमा उम्रिने रूख र झारपात जलाएर नमारे त्यसले निकुञ्जको घाँसे मैदानै नष्ट गर्छ । यसो हुँदा बाघ तथा अन्य मांसाहारी जनावरको आहारा प्रजातिका हरिण, चित्तल आदिले चर्ने घाँसे मैदान नष्ट हुने सम्भावना रहन्छ ।

निकुञ्जले विभिन्न घाँसे मैदानमा लगाएको आगो यस वर्ष निभिसकेको र त्यहाँ घाँसको नयाँ पालुवा आउने क्रम पनि सुरु भइसकेको आचार्य बताउँछन् । हाल भावर क्षेत्रमा देखिएको डढेलो प्राकृतिक रहेको उनले बताए । डढेलोले निकुञ्जका ठूला रूख ठूला वन्यजन्तुलाई हानि नगरे पनि सरीसृप र अन्य किराफट्यांग्रालाई भने हानि गर्छ । ठूलो डढेलोले भने रूख बिरुवा र वन्यजन्तु पनि प्रभावित हुन्छन् । ‘यस्तो बेलामा बन्यजन्तु आफ्नो बासस्थान छोडेर अन्यत्र जान्छन्,’ आचार्य भन्छन्, ‘डढेलो निभेपछि उनीहरू बस्दै आएको क्षेत्र/बासस्थानमा पुन: फर्कन्छन् ।’

डढेलो रोकथामकै लागि निकुञ्ज प्रशासनले विभिन्न क्षेत्रमा फायर लाइन पनि बनाएको छ । निकुञ्ज क्षेत्रमा २ सयदेखि २ सय ५० किमि फायर लाइन रहेको उनले बताए । जंगलमा बनाइने यस्ता फायरलाइनका कारण एक भागबाट अर्को भागमा आगो फैलिन सक्दैन ।

प्रकाशित : चैत्र १३, २०७४ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?