किशोरीमाथि सामूहिक बलात्कार

दुई घण्टासम्म बलात्कारपछि दुई युवा फरार

धनुषा — धनुषाको सहिदनगर नगरपालिका–८ बिसरभोराकी एक किशोरीलाई दुई युवाले बलात्कार गरेका छन् । गाउँ घुमेर घरमा सुत्न जान लगेकी बालिकालाई स्थानीय दुई युवाले बलात्कार गरेका हुन् ।

किशोरीमाथि सामूहिक बलात्कार

३२ वर्षीय भुट्टाई उपनाम गरेका मनोज यादव र ३० वर्षीय दीपेश बिराजी बालिका बलात्कारपछि फरार भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । उनीहरूविरुद्ध किटानी जाहेरी दर्ता भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घरमा अभिभावक नभएको बेला बुधबार राति १० बजे घर प्रवेश गर्न लागेकी बालिकालाई नियन्त्रणमा लिएर मुख थुनेर घरनजिकै खेतमा बलात्कार गरेको इलाका प्रहरी, यदुकाहाका प्रहरी निरीक्षक पवन झाले बताए । ‘घर प्रवेश गर्न लागेकी किशोरीलाई दुई युवाले मुख बाँधेर खेतमा लगेर बलात्कर गरेका रहेछन्,’ प्रहरी निरीक्षक झाले भने, ‘राति १० बजे खेतमा लगेर बलात्कार गरेपछि उनीहरू फरार भएका छन् ।’ २ घण्टा बलात्कारपछि बालिकालाई खेतमा छोडेर युवा भागेपछि उनी रुँदै घर फर्किएकी थिइन् । बलात्कृत किशोरीले छिमेकीलाई घटना सुनाएपछि प्रहरीलाई खबर गरिएको थियो । बलात्कृत किशोरीलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । प्रहरीका अनुसार बलात्कृत किशोरीका आमाबुवा निम्तो मान्न सिरहा गएका थिए ।

मुख्यमन्त्रीकै जिल्लामा बढी
- शंकर आचार्य
पर्सा– फागुन १६ गते पटेर्वासुगौली गाउँपालिका–५ निचुटाकी १० वर्षीया नाबालिका बलात्कृत भइन् । खेतबाट घाँस काटेर आफ्नी ६ वर्षीया बहिनीसँगै घर फर्किंदै गरेकी बालिकालाई पोखरिया नगरपालिका–४ का २० वर्षीय सुनील साह तुराहाले नजिकको उखु खेतमा लगेर जबरजस्ती करणी गरे । सुनिल पुर्पक्षका लागि जेलमा छन् ।

चैत ६ गते पर्सागढी नगरपालिका–३ की १३ वर्षीया नाबालिका बलात्कृत भइन् । उनलाई घरमा एक्लै भएकी मौकामा छिमेकी ५६ वर्षीय सीताराम उप्रेतीले जबरजस्ती करणी गरे । उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बहादुरमाई गाउँपालिका ५ की १० वर्षीया बालिकालाई छिमेकी २० वर्षीय मणिभूषण पाण्डेले बलात्कार गरे । स्थानीयको सहयोगमा उनी पक्राउ परे । पर्सामा एक महिनायता ३ बालिका बलात्कृत भएका छन् । मुख्यमन्त्री मोहमम्द लालबाबु राउतले प्रदेशमा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान घोषणा गरे पनि उनकै गृह जिल्लामा बलात्कारको घटना बढ्दो छ । अभिभावक आफ्ना चेलीबेटीको सुरक्षालाई लिएर चिन्तित छन् ।

तथ्यांकले पनि यसवर्ष पर्सामा जबरजस्ती करणीका घटना बढेको देखाउँछ । तथ्यांकअनुसार यस आर्थिक वर्षमा हालसम्म पर्सामा जबरजस्ती करणीका ११ र जबरजस्ती करणी उद्योगका ६ घटना भएका छन् । अधिकांश घटनामा बालिका सिकार भएका छन् । गत आर्थिक वर्षमा जबरजस्ती करणीका १० र जबरजस्ती करणी उद्योगका १० घटना प्रहरीमा दर्ता भए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बूले अधिकांश घटनाको प्रकृति हेर्दा बालिका बलात्कृत हुने र उनीहरूलाई एकान्तमा वा प्रलोभनमा पारेर सिकार बनाउने गरेको देखिएको बताए । सामाजिक अभियन्ता प्रकाश थारू बालिका उपरको निरन्तर पाशविक घटनाले आफूहरू चिन्तित भएको बताउँछन् । ‘जिल्लामा निरन्तर नाबालिका बलात्कारका घटना भइरहेका छन्,’ उनले भने, ‘किन यस्ता घटना भइरहेका छन्, त्यसको सूक्ष्म अध्ययन गर्नु आवश्यक भएको छ ।’ अब यस अपराधविरुद्ध सचेतना अभियान नै चलाउनुपर्ने उनले बताए ।

अधिवक्ता अन्जन अधिकारी मुलुकी ऐन जबरजस्ती करणीको महलले जबरजस्ती करणी प्रमाणित भए कडा कैद सजायको व्यवस्था गरेको बताउँछन् । पीडित नाबालिका भए सामान्यभन्दा डेढ गुना बढीसम्म कैद सजाय हुन सक्छ । बालिक महिला बलात्कार गर्नेलाई ५ देखि ८ वर्षको कैद सजायको व्यवस्था रहेकोमा नाबालिकालाई जबरजस्ती गरे १२ वर्षसम्म कैद सजाय हुने उनले बताए ।

‘सजिलै रिहा हुँदा मनोबल बढ्यो’
राजविराज (कास)– बलात्कार र यौनजन्य हिंसा रोक्न राजविराजमा छलफल थालिएको छ । न्यायमा पीडितको सहज पहुँच हुन नसकेको र पीडितलाई थप पीडा दिने काम भइरहेकाले बलात्कार रोक्न सबैपक्ष सक्रिय हुनुपर्ने छलफलमा औंल्याइयो ।

महिला मानव अधिकार रक्षक संजाल सप्तरीले बिहीबार आयोजना गरेको अन्तरक्रियाका सहभागीले बलात्कारका आरोपीहरू अदालतको आदेशमा सामान्य तारेखमा रिहा हुँदा उनीहरूको मनोबल बढेको भन्दै न्यायलयलाई गम्भीर हुन आग्रह गरे । राजनीतिकर्मी दिनेश यादवले भने, ‘बलात्कार आरोपी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुना जान्छ, उच्च अदालतको आदेशमा सामान्य तारेखमा रिहा हुन्छ, यस्तो पनि हुन्छ न्याय ?’

उच्च अदालत राजविराज इजलासकी न्यायाधीश बबिता उप्रेतीले बलात्कारजस्तो जघन्य अपराधका मुद्दामा छिटो न्याय सम्पादन गर्न अदालत संवेदनशील रहेको बताइन् । उनले अदालत अन्तिम आस्थाको केन्द्र भएको उल्लेख गर्दै फितलो अनुसन्धानका कारण चाहेर पनि केही मुद्दामा मिसिल बाहिर गएर न्याय सम्पादन गर्न नसकिने बताइन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बलात्कारविरुद्ध कडा कानुन रहे पनि कानुन कार्यान्वयनमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनले अदालतबाट न्याय हुनुपर्नेमा जोड दिँदै जघन्य अपराधका अपराधीलाई कुनै मोलाहिजा नगरी दण्डित गरिनुपर्ने बताए । सप्तरी प्रहरीका प्रमुख मुकेशकुमार सिंहले बलात्कार मात्र होइन् महिलामाथि हुने सबैखाले हिंसा रोक्न प्रहरी सक्रिय रहेको बताए । उनले कुनै अभाव, प्रभाव, आस वा त्रासमा प्रहरी नपर्ने बताउँदै अपराधीलाई कानुनी कठघरासम्म पुर्‍याउने दायित्वबाट प्रहरी पछि नहटने दाबी गरे ।

राजविराज नगरपालिकाकी उप–प्रमुख साधना झाले बलात्कारीलाई कानुनी सजायका अतिरिक्त सामाजिक रूपमा समेत दण्डित गरिनुपर्ने बताइन् । महिला मानव अधिकार रक्षक संजाल सप्तरीकी उपाध्यक्ष सुनिता साहले महिलामाथि हुने सबैखाले हिंसाका घटनाको छानबिन गरेर कुनै दबाब वा प्रभावमा नपरी दोषीउपर कानुनी कारवाही हुनुपर्ने, हिंसा प्रभावितको उजुरी उपर तत्काल कारवाही अघि बढाउँदै न्यायका लागि आवश्यक पहल हुनुपर्ने बताए ।

प्रकाशित : चैत्र १६, २०७४ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?