हातेकल सुकेपछि हाहाकार

श्यामसुन्दर शशि

जनकपुर — तीन वर्षअघिसम्म हातेकलबाटै मनग्गे पानी आउने उत्तर–पश्चिमी धनुषाको वटेश्वर गाउँमा अहिले खानेपानीको हाहाकार छ । घरघरमा जडान गरिएका हातेकलबाट पानी आउन छोडेको छ ।

हातेकल सुकेपछि हाहाकार

३० देखि ४० फिटमुनिबाट सजिलै पानी निस्किने हंसपुर, कठपुला, ललिया, बघचौडा, बेल्हीलगायत गाउँमा पनि गत वर्षदेखि हातेकल सुकेका छन् । २० देखि २५ फिटमुनिबाटै पहिलो सञ्चित जलभण्डार (वाटर टेबुल) भेटिने कमला किनारका बालाबाखर, पतनुका, बनरझुला, इनर्वा, सोनापारालगायतका पूर्वी धनुषाका गाउँमा पानीको लेबल ४० देखि ५० फिटमुनि झरेको छ ।

चुरेनजिकै पूर्व–पश्चिम राजमार्गछेउका जमुनीवास, बेंगाडावर, तुलसी, लालगढ, ढल्केवर, भरतपुर, वीरेन्द्रबजार, तीनतलेका स्थानीयले पुस्तांैदेखि खानेपानीको संकट झेलिरहे पनि दक्षिणी क्षेत्रमा जलसतह माथि नै थियो । उनीहरू १ सय ५० देखि २ सय फिट गहिराइसम्म पाइप हालेर हातेकलबाट खानेपानी तान्थे ।

जनकपुर उपमहानगरपालिकामा समेत गर्मी मौसममा खानेपानी समस्या हुन थालेको छ । यहाँ पानीको सतह तल झर्दा हातेकलका लागि ४ सय फिट गहिराइसम्म पाइप जडान गर्नुपर्छ । वटेश्वर गाउँपालिकाका ४ का ६१ वर्षीय प्रभुनाथ उपाध्यायका अनुसार जडान गरिएका झन्डै २ सय हातेकलमध्ये मुस्किलले ८/१० वटामा मात्र पानी आउँछ । अधिकांश सुकिसकेका छन् । ४/५ वर्षअघि मात्रै खनिएको इनारमा पनि पानी सुकेको छ । वटेश्वर ४ का वडाध्यक्ष दीपरमण दाहाल जलस्तर निरन्तर घटदै गएको बताउँछन् । २० वर्षअघिसम्म १२ महिना पानी बग्ने औरही तथा बिगहीलगायत नदी वर्षको ९ महिना सुख्खा हुने गरेको उनले जानकारी दिए । ‘चुरे जंगल मासियो । वर्षाको पानी आउँछ–बग्छ । बाँध बाँधेर सिँचाइका लागि पानी संकलन पनि हुन छाड्यो । त्यही भएर सतहमुनिको पानी तल झरेको हो,’ दाहालले भने ।

४ वर्षयता धनुषामा सञ्चित जलभण्डार १० देखि ५० मिटरसम्म तल झरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जनकपुरले जनाएको छ । इन्जिनियर महेशकुमार शर्माले उत्तरी धनुषाको जमुनिवासमा यस वर्ष २ सय मिटरमुनि डिप ट्युबवेल जडान गरिएको बताए । २०७१ सालमा १ सय ५० मिटरमा डिप ट्युबवेल जडान गर्दा नै पानी आउँथ्यो ।

‘जमिनमुनिको सञ्चित जल भण्डार कति तल झरेको हो, ठ्याक्कै भन्न सकिन्न तर प्रत्येक वर्ष जलसतह तल झर्दै गएको छ,’ शर्माले भने । सञ्चित जलभण्डारको लेबल माथि ल्याउन चुरे संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । उत्तरी धनुषावासीको खानेपानीको मुख्य स्रोत भनेकै इनार, डिप ट्युबवेल तथा खोला हुन् । अन्य भेगका बासिन्दा हातेकलबाट काम चलाउँछन् ।

धनुषामा खानेपानीका तीन वाटर टेबुल रहेको प्राविधिक बताउँछन् । इन्जिनियर शर्माका अनुसार औसत ६० फिटपछि पानी प्राप्त हुन थाल्छ । तर, माथिल्लो लेयरको पानीमा आइरन, आर्सेनिक तथा व्याक्टेरिया मिसिने सम्भावना भएकाले दोस्रो तथा तेस्रो सञ्चित जलभण्डारबाट प्राप्त पानी मात्र पिउन उनको सल्लाह छ ।

प्रकाशित : चैत्र १९, २०७४ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?