उपभोक्ता समितिमा मेयरका भाइ

विरोधमा तालाबन्दी र रिले अनशन
अमन कोइराला

सर्लाही — मेयरले एकतर्फी रूपमा उपभोक्ता समिति गठन गरेको आरोप लगाउँदै बलरा नगरपालिकाका स्थानीय आन्दोलित भएका छन् । उनीहरूले सोमबार नगर कार्यालयमा तालाबन्दी गरी रिले अनशन सुरु गरेका छन् ।

छन्की टोलदेखि छतौनासम्म हुलाकी सडक जोड्ने ९ किमि बाटो बनाउन मेयर अभयकुमार सिंहले आफ्नै भाइ पंकजकुमारको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेपछि विवाद चर्किएको हो । ८० लाख रुपैयाँ लागतको योजनामा सम्बन्धित वडाध्यक्षलाई समेत थाहा नदिई समिति गठन गरिएको स्थानीयको भनाइ छ ।


तालाबन्दी र रिले अनशन गर्नेमा कांग्रेसका ५ वडाध्यक्षसमेत छन् । १ नम्बर वडाका अध्यक्ष

सन्तोषकुमार सिंहले ठूलो रकमको योजनामा थाहै नदिई उपभोक्ता समिति गठन गर्नुमा अनियमितता हुन सक्ने आशंका व्यक्त गरे । ‘मेयरकै भाइको नेतृत्वमा रातारात समिति गठन भएको छ,’ उनले भने, ‘सम्बन्धित वडाध्यक्षलगायत कसैलाई थाहा नदिई निर्णय गरिनु शंकास्पद छ ।’ उक्त निर्णय खारेज गरी पारदर्शी रूपमा समिति गठन गर्नुपर्ने उनको माग छ ।


अनशन बसेका कौशलकिशोर सिंहले अनेकौं योजनामा आसेपासेलाई उपभोक्ता समितिमा राखेर स्थानीय तहमा लुट मच्चाउने प्रयास भएकाले आन्दोलनमा उत्रनुपरेको बताए । ‘भाइलाई समितिमा राखिएको एउटा उदाहरण मात्र हो,’ उनले भने, ‘कुनै काम पारदर्शी छैन । आफैंलाई सर्वेसर्वा ठानेर चुनाव खर्च उठाउन खोज्नु गलत हो ।’ फर्जी दस्तखत गरेर समिति बनाइएको उनले आरोप लगाए ।


नगरसभा पनि मौखिक रूपमा गरिएको र मेयरले मनपरी योजना बनाएको कांग्रेसका वडाध्यक्षले बताएका छन् । उपभोक्ता समिति बदर, आर्थिक सहयोग वितरणमा भएको अनियमिता रोकी पारदर्शी बनाउन उनीहरूले माग गरेका छन् ।


मेयर सिंहले भाइसँग २० वर्षअघि नै अंशबन्डा भइसकेको र भेलाले नै उनलाई समिति अध्यक्ष चयन गरेको बताए । ‘उपभोक्ता समितिमा परेको भन्दा पनि उसले गर्ने कामका आधारमा विरोध र समर्थन गर्नुपर्छ,’ उनले भने, ‘भेलाले बनाएको उपभोक्ता समिति रोक्न मिल्दैन ।’ उनले नगरको योजना भएकाले उपभोक्ता समिति गठनमा सम्बन्धित वडाध्यक्षको उपस्थिति जरुरी नरहेको उल्लेख गरे ।

प्रकाशित : चैत्र १९, २०७४ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?