३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मल ढुवानी ठेक्कामा ‘अनियमितता’

रीतपूर्वक बोलपत्र फारम नभरेकै कम्पनीलाई ढुवानी इजाजत दिएको आरोप
भूषण यादव

वीरगन्ज — कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मलको आन्तरिक ढुवानीका लागि आह्वान गरेको ठेक्का प्रक्रिया विवादमा तानिएको छ ।

मल ढुवानी ठेक्कामा ‘अनियमितता’

कम्पनीमाथि बोलपत्र फारम रीतपूर्वक नभरेको कम्पनीलाई नै ढुवानी गर्न इजाजत दिएको आरोप छ ।

कम्पनीको वीरगन्जस्थित क्षेत्रीय कार्यालयको सेक्टर नम्बर २ बाट धनुषा, रौतहट, सर्लाही, सिन्धुली, चितवन, मकवानपुर, बारा र नवलपरासीस्थित कार्यालयसम्म ४० हजार मेट्रिकटन मल ढुवानीका लागि चैत १८ गते शिलबन्दी बोलपत्र खोलिएको थियो । एक प्रतिस्पर्धी ढुवानीकर्ताका अनुसार बोलपत्रदाता र कार्यालय प्रतिनिधिहरूको रोहबरमा खोलिएका बोलपत्रहरूको मुचुल्का उठाउने क्रममा पशुपति ढुवानी सेवाले ‘स्व–घोषणा’ पत्र नै बुझाएन । विगतमा कालोसूचीमा नपरेको र हालसम्म आफूले गरेको कारोबार सही रहेको घोषणा ढुवानीकर्ता आफैंले गर्ने कार्यलाई ‘स्व–घोषणा’ भनिन्छ । यसमा कैफियत भेटिए प्रतिस्पर्धी ढुवानीकर्ताले दाबी विरोध गर्छन् ।

कृषि सामग्री कम्पनीले आह्वान गरेको बोलपत्र फारमको बुँदा ३ मा स्व–घोषणापत्र, नवीकरण भएको ढुवानी इजाजत प्रमाणपत्र, फर्म/कम्पनी दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धिकर दर्ता प्रमाणपत्र र गत आवको कर चुक्ता प्रमाणपत्रको नोटरी पब्लिकले प्रमाणित गरेको प्रतिलिपि पेस गर्नुपर्ने उल्लेख छ । ‘तर, ठेक्का स्वीकृत नहुँदै बोलपत्र खुलेको भोलिपल्टदेखि नै मुचुल्कामा कैफियत जनाइएको ढुवानीकर्तामार्फत मल ढुवानी गर्न लगाइएको छ,’ ती प्रतिस्पर्धीले भने, ‘यसमा केही कर्मचारीको पनि मिलेमतो छ । अनियमित तरिकाबाट भइरहेको ढुवानी छानबिन गर्नुपर्छ ।’

बोलपत्र खुलेको भोलिपल्टदेखि नै कृषि सामग्रीको वीरगन्जस्थित क्षेत्रीय कार्यालयबाट पशुपतिले रासायनिक मल ढुवानी सुरु गरिसकेको छ । कार्यालय स्रोतका अनुसार बोलपत्र स्वीकृत नभए पनि भोलिपल्टदेखि नै पशुपतिलाई ढुवानी गर्न इजाजत दिइएको छ । क्षेत्रीय कार्यालय प्रमुख अजय श्रीवास्तवले भने रासायनिक मल ढुवानीको इजाजत केन्द्रीय कार्यालयले दिएको दाबी गरे । ‘ठेक्का आह्वान गर्ने, स्वीकृत गर्ने सबै अधिकार केन्द्रीय कार्यालयकै हो,’ उनले भने, ‘क्षेत्रीय कार्यालयले आदेश कार्यान्वयन मात्र गर्ने हो ।’

कम्पनीको वितरण व्यवस्था महाशाखा प्रमुख अच्युत पौडेलले पशुपति ढुवानीलाई मल ढुवानी गर्न लगाइए पनि ठेक्काबारे अझै टुंगो नलागेको बताए । इ–बिडिङमार्फत बोलपत्र भरेको पशुपति सेवाको स्व–घोषणापत्र अझै फेला नपरेको उनले जनाए । ‘क्षेत्रीय कार्यालयमा मल अत्यधिक थुप्रिएपछि ढुवानी गर्न लगाएका हौं,’ पौडेलले भने, ‘बोलपत्रका अन्य कागजात खोज्दै छौं ।’

तेस्रो मुलुकबाट खरिद गरिएको मल क्षेत्रीय कार्यालयको गोदाममा आएपछि कृषि सामग्री कम्पनीले आन्तरिक ढुवानीका लागि बोलपत्र आह्वान गर्ने गरेको छ । गत आवमा यहाँबाट ७१ हजार २ सय ७४ मेट्रिक टन मल ढुवानी भएको थियो । यसका लागि ९ करोड ४४ लाख ३७ हजार रुपैयाँ खर्च भएको थियो ।

प्रकाशित : चैत्र २३, २०७४ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?