कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रोकिएन लागूऔषध कारोबार

दैनिकजसो लागूऔषध प्रयोगकर्ता, ढुवानीकर्ता तथा कारोबारी पक्राउ परे पनि ओसारपसारमा कमी आएको छैन
शंकर आचार्य

पर्सा — लागूऔषध भित्र्याएको आरोपमा प्रहरीले सोमबार वीरगन्ज महानगरपालिका–२ स्थित श्रीराम हल अगाडिबाट ६२ वर्षीय तसलिम शेखलाई पक्राउ गर्‍यो ।

रोकिएन लागूऔषध कारोबार

भारत, रक्सौलबाट पैदलै आएका उनको साथबाट डाइजिल्याब १ सय ४९ थान, फेनारगन १ सय ४९ थान र नुर्फिन १ सय ४९ थान गरी कुल ४ सय ४७ थाल लागूऔषध बरामद भयो ।

आइतबार प्रहरीले वीरगन्ज महानगर–१६ शंकराचार्य गेटबाट ना५३प २६२७ र बा७०प १८५ नम्बर मोटरसाइकलका चालकलाई नियन्त्रणमा लियो । कास्की पोखरा लेखनाथ महानगरपालिका–१३ घर भई हाल ललितपुर महानगरपालिका, नख्खु बस्ने १८ वर्षीय आर्यन गुरुङ र वीरगन्ज महानगरपालिका–१२ मुर्ली बगैंचा बस्ने १८ वर्षीय गुञ्जन रौनियारको साथबाट लागूऔषध निट्राभेट ट्याबलेट १ हजार ५ सय थान बरामद भयो ।

आइतबारै वीरगन्ज–१६ रजतजयन्ती चोकबाट प्रहरीले काठमाडौं मनपा–६ स्वयम्भु बस्ने २३ वर्षीय सप्निस भट्ट, सिन्धुपाल्चोक फुल्पिङकट्टि गाउँपालिका–४ का २४ वर्षीय राजेश कार्की र वीरगन्ज–१८ लक्ष्मणवाका १८ वर्षीय राजा थापाको साथबाट १४/१४ थान डाइजेल्याप, नुर्फिन र फेनारागन बरामद गरेको थियो ।

चैत १२ गते वीरगन्ज–१६ इनर्वाबाट भारततर्फ जाँदै गरेका मकवानपुर कैलाश गाउँपालिका ६ की ४२ वर्षीया पार्वती मोक्तान र २९ वर्षीया लक्ष्मी थिङ पक्राउ परे । प्रहरीले उनीहरूका साथबाट ८ किलो ५ सय ग्राम चरेस बरामद गर्‍यो । उनीहरू भरियाका रूपमा लागूऔषध बोकेर भारत जाँदै थिए ।

मुलुकको प्रमुख नाका वीरगन्जमा लागूऔषध ढुवानीकर्ता तथा प्रयोगकर्ता पक्राउ परेका केही प्रतिनिधि घटना मात्र हुन् यी । भारतबाट मात्र नभई नेपालबाट पनि गाँजा, चरेसजस्ता लागूऔषध भारत पुर्‍याइने गरेको पाइएको छ । प्रहरीले दैनिकजसो लागूऔषध प्रयोगकर्ता, ढुवानीकर्ता तथा कारोबारी पक्राउ गरे पनि ओसारपसारमा कमी आएको छैन । वीरगन्जबाट पैदल रक्सौल पुगेर लागूऔषध सेवन गरेर फर्किने दुव्र्यसनीहरू सीमामा बाक्लै देखिन्छन् । फर्कंदा उनीहरूले पनि लागूऔषध बोकेर ल्याएका हुन्छन् । कतिपयले ती सामग्री अन्य दुव्र्यसनीलाई बिक्री गर्छन् । चालु आवमा मात्र जिल्ला प्रहरीले लागूऔषध ढुवानीमा संलग्न १ सय ३१ जनालाई पक्राउ गरिसकेको छ । गत आवमा १ सय ५० जना पक्राउ परेका थिए । वीरगन्ज कारागारका झन्डै आधा कैदीबन्दी लागूऔषध मुद्दामा सजाय पाएका वा पुर्पक्षमा रहेकाहरू हुन्छन् ।

सुरक्षाकर्मीको आँखा छलेर लागूऔषध ढुवानी गर्नेको संख्या अझै बढी हुन सक्छ । नेपालमा नियन्त्रित लागूऔषध भनिने औषधिहरू रक्सौलका पसलहरूमा खुलेआम किन्न पाइन्छ । ठूलो परिमाणमा लागूऔषध भित्रिनुले यसको कारोबारमा संगठित गिरोह नै रहेको अनुमान गर्न सकिन्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजन लिम्बू पक्राउ पर्नेमा अधिकांश १८ देखि २४ वर्ष उमेर समूहका युवा रहेको बताउँछन् । तीमध्ये अधिकांश बाहिरी जिल्लाका हुन्छन् । नेपालबाट पक्राउ पर्नेमा बढीजसो लागूऔषधका भरिया हुने गरेको पनि उनले जानकारी दिए ।

नेपाल र भारतीय प्रहरीले बेलाबेला अपराध नियन्त्रणको साझा प्रयासका लागि दुई पक्षीय बैठक आयोजना गर्छन् । तर, त्यसमा रक्सौलमा खुलेआम पाइने नियन्त्रित लागूऔषधबारे कुनै चर्चा हुँदैन । डीएसपी लिम्बू गाँजा–चरेसजस्ता लागूपदार्थ ढुवानी निरुत्साहित गर्न दुवै देशका प्रहरीले साझा प्रयास गर्ने चर्चा उठे पनि नियन्त्रित लागूऔषधको हकमा चर्चा नहुने गरेको स्विकार्छन् । आगामी बैठकमा भने यसबारे कुरा उठाउने उनले बताए । ‘नियन्त्रित लागूऔषधका विषयमा आगामी बैठकमा अवश्य चर्चा गर्नेछौं,’ उनले भने, ‘गाँजा/चरेसको हकमा भने सहकार्य गरिरहेका छौं । गिरोहलाई नै पक्राउ गर्ने प्रयास भइरहेको छ ।’

प्रकाशित : चैत्र २४, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?