कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जनकपुरको वैभव

मन्दिरै–मन्दिर र पोखरी–तलाउ भएको जनकपुर १ सय २५ वर्ष पुरानो सहर भए पनि यसको हालत भने खस्कँदो छ । जानकी मन्दिर, रेल्वे र जनकपुर चुरोट कारखानाले घना र विकसित बनेको जनकपुर सहरका यी तीनवटै कडी अहिले कमजोर छन् ।
अजित तिवारी

जनकपुर — विक्रम संवत् १४१७ मा भारत, मध्यप्रदेश लोहागढका सुरकिशोर दास सीताको स्वर्णमूर्ति खोज्दै जनकपुर आइपुगे । उनी साधु थिए ।

जनकपुरको वैभव

सपनामा सीतामाताले ‘मेरो स्वर्णमूर्ति जहाँ भेटिन्छ, त्यही नै जनकपुर हो’ भनेपछि उनी मूर्तिको खोजीमा निस्केका थिए । सीताको स्वर्णमूर्ति भेटिएको ठाउँमा उनले कुटी बनाए । र, त्यहीं बस्न थाले ।

यसलाई कल्पना भनिए पनि जानकी मन्दिर रहेको अहिलेको स्थानमा कुटीचाहिँ थियो । त्यतिबेला घना जंगलभित्रको सानो बस्ती थियो, जनकपुर । सीताको स्वर्णमूर्ति भेटिएको खबर फिँजिएपछि भारत, मध्यप्रदेशकै टिकमगढकी रानी वृषभानु कुँवर जनकपुर आइन् । उनले सन्तान प्राप्तिको भाकल गरिन् । सन्तान प्राप्तिपछि रानीले झुपडीमा रहेको सीताको मन्दिरलाई आलिसान बनाइदिइन् । ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गरिएको जानकी मन्दिरलाई ‘नौलखा मन्दिर’ पनि भनिन्छ । सन् १८९४ मा शिलान्यास गरिएको जानकी मन्दिरको निर्माण सन् १९११ मा सकियो ।

जंगलभित्रको सानो बस्ती जनकपुर मुगलशैलीको जानकी मन्दिर निर्माणपछि घना बस्तीमा परिणत हुन थाल्यो । क्षेत्रफलमा नेपालकै सबैभन्दा ठूलो मन्दिर र हिन्दुको पवित्र धर्मस्थल जानकी मन्दिरकै कारण जनकपुरले सहरिया स्वरूप लियो । प्राध्यापक सुरेन्द्र लाभका अनुसार जानकी मन्दिरको निर्माणपछि धार्मिकनगरीमा एउटा घरको चाहना राख्नेको संख्या बढ्यो । अनि, खुल्यो स्कुल–कलेज । थपियो सरकारी कार्यालय । साधु–सन्तको सानो बस्ती बाक्लिँदै जनकपुर सहर बन्यो ।

जानकी मन्दिरका कारण जनकपुरले सहरी रूप लिए पनि यो घना बन्नुमा रेल्वे र चुरोट कारखानाको ठूलो भूमिका छ । राजनीति शास्त्रका प्राध्यापक भोगेन्द्र झाका अनुसार जानकी मन्दिरले धार्मिक गन्तव्य बने पनि समाज र विश्वसँग जोड्ने काम रेल्वे र चुरोट कारखानाले गर्‍यो । ‘रेल्वेले जनकपुरलाई भारतसँग जोड्यो, चुरोट कारखानाले रोजगार दिँदा देशभरका मानिस यहाँ थुप्रिए,’ झाले भने, ‘शिक्षाको केन्द्र बनेपछि यहाँ पढ्न आउने विद्यार्थीले जनकपुर भरिभराउ भए ।’ धर्म, शिक्षा, यातायात र उद्योगले आधुनिक बनेको जनकपुर राजनीतिक शक्तिको केन्द्र पनि बन्यो ।

***


मन्दिरै–मन्दिर र पोखरी–तलाउ भएको जनकपुर १ सय २५ वर्ष पुरानो सहर भए पनि यसको हालत भने खस्कँदो छ । जानकी मन्दिर, रेल्वे र जनकपुर चुरोट कारखानाले घना र विकसित बनेको जनकपुर सहरका यी तीनवटै कडी अहिले कमजोर छन् । जानकी र राम मन्दिरकै गुठीको जग्गामा बसालिएको जनकपुर सहरमा मठ–मन्दिरको जग्गा अतिक्रमण बढेको छ । जानकी मन्दिर बनेपछि त्यसलाई बीचमा राखेर चारैतिर जनकपुरमा बस्ती विस्तार भयो । अहिले जानकी मन्दिरले मात्रै जनकपुरको वैभव थामेको छ ।

‘जानकी मन्दिर मात्रै देखाएर जनकपुरको वैभव र सहरीकरण टिकाउन सकिन्न,’ राजनीतिकर्मी रोशन जनकपुरीले भने, ‘सहरलाई बाँध्ने एउटा कडी मात्रै हो, धार्मिकस्थल । त्यसैमा मात्र निर्भर हुँदा सहर एकलकाँटे हुन्छ ।’ उनका अनुसार जनकपुरलाई विकसित र विशाल बनाउन ऐतिहासिक र धार्मिक पाटोसँगै व्यापारिक र सबैले रुचाउने समाजको विकास गर्नुपर्छ । जानकी मन्दिरमा धार्मिक पर्यटक बढे पनि त्यसलाई व्यवस्थित गर्न सकिएको छैन । मठ–मन्दिर र पोखरीको जग्गा च्यापेर घर बनाउने प्रवृत्तिले सहरको साख गिराएको छ । ‘भोटको राजनीति र सरकारी निकायको कमजोर उपस्थितिले जनकपुरको अतिक्रमण रोकिएन,’ प्राध्यापक लाभले भने, ‘त्यसले पनि जनकपुरमा सम्बन्धको डोरी टुट्यो । र, सबै आफ्नै स्वार्थमा लिप्त भए ।’ प्राध्यापक झाले पनि सार्वजनिक स्थलको अतिक्रमण, पोखरी मिचेर घर बनाउने र मठ–मन्दिरलाई व्यक्तिको स्वामित्वजस्तो ठान्दा जनकपुर सहरको वैभव हराएको बताए ।

प्राध्यापक झाले जनकपुरको महत्त्वबारे सन् १९७७ को एउटा घटना सुनाए । एमएमा पढदा उनी र अर्का प्राध्यापक सुरेन्द्र लाभ भारतको मद्रासस्थित विश्वविद्यालयमा आयोजित अन्तक्र्रियामा सहभागी भए । अन्तक्र्रियामा भारतका थुप्रै ठाउँबाट विद्यार्थी र प्राध्यापक आएका थिए । ‘जनकपुरबाट आएको भनेपछि एकजनाले हामीलाई धकेलिदियो,’ प्राध्यापक झाले स्मरण गरे, ‘धक्का दिएपछि रिस पनि उठ्यो तर त्यो मानिस हामी उभिएको ठाउँबाट माटो उठाए र ढोग्यो । हामी छक्क पर्‍यौं ।’ मुम्बई युनिभर्सिटीका इकोनोमी विभागका प्रमुख रहेका ती मानिसको हर्कतले जनकपुरप्रतिको उनको आस्था झल्कियो ।

संसारभर जनकपुरको गरिमा बढाएको जानकी मन्दिर र यहाँका अन्य मठ–मन्दिरको संरक्षण र सौन्दर्य बढाउन आवश्यक रहेको प्राध्यापक झाले बताए । बृहत् विष्णु पुराणको मिथिला महात्म्यमा पनि जनकपुरको मठ–मन्दिर र तलाउको चर्चा गरिएको छ । ‘यतिबिघ्न महत्त्व बोकेको सहर धार्मिक र समाजिक हिसाबले पछि परेको छ,’ सुन्दर सदन अग्निकुण्डका महन्त नवलकिशोर यादवले भने, ‘फोहोर बढेको छ । मन्दिरको स्वरूप बिग्रेको छ । मूर्ति र जग्गा बेचेर गुठी संस्थानका हाकिम–कर्मचारी कमाउन मात्र आए ।’ यादवका अनुसार जनकपुरप्रति मानिसमा जुन श्रद्धा थियो, त्यो गुमेको छ ।


रेल्वेसँग जोडिँदै
जनकपुरलाई घना र चलायमान रेल्वेले पनि बनाएको हो । भारतका तत्कालीन शासक ब्रिटिस कम्पनीले सन् १९२७ मा भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको विजलपुरा जंगलसम्म रेलमार्ग ओछ्याए । भारतमा रेल्वेको ठूलो सञ्जाल बनाउन स्लिपरका लागि सखुवाको काठ ब्रिटिस कम्पनीलाई चाहिएको थियो । नेपालको काठ ओसार्ने स्वार्थमा कुँदाइएको रेलले जनकपुरलाई भारतसँग जोड्यो ।

जानकी मन्दिर हेर्न र पूजापाठ गर्न त्यही रेलमार्गबाट ठूलो संख्यामा भारतीय जनकपुर आउन थाले । यातायातको विकल्पै नरहेको महोत्तरी, धनुषा र सिरहाको दक्षिणी इलाकालाई रेल्वेले जनकपुरसँगको दूरी कम गरिदियो । डिजेल इन्जिनबाट चल्ने ५२ किलोमिटरको न्यारोगेजको रेलमार्ग खर्चिलो भएपछि बन्द भयो । भारत सरकारकै सहयोगमा जयनगरदेखि बर्दिवाससम्म ब्रोडगेजको रेल्वे लाइन ओछ्याउन फेरि थालिएको छ ।

जयनगर–जनकपुर–बर्दिवास ६९ किलोमिटर रेल्वेमार्गको दुई खण्डको काम ८० प्रतिशत सकिएको छ । भारतीय रेल्वेको ठूलो जक्सन जयनगरसँग जोड्न निर्माण भइरहेको रेल्वेमार्गअन्तर्गत ५२ किलोमिटरमा स्लिपर र ट्रयाक ओछ्याइँदै छ । दक्षिण–उत्तर निर्माणाधीन रेलमार्ग पूर्व–पश्चिम विद्युतीय रेलमार्गसँग जोडिएपछि जनकपुर मुलुकसँग मात्रै होइन, रेलमार्गबाट भारत बाहिरिने नेपालीको मुख्य मार्ग पनि बन्नेछ ।

कवाडी बन्दै जचुकालि
विसं २०२१ पुस २९ देखि व्यावसायिक उत्पादन थालेको जनकपुर चुरोट काराखाना लिमिटेड स्थापनाले पनि जनकपुर सहरलाई फराकिलो बनायो । तत्कालीन सोभियत संघको सहयोगमा स्थापना गरिएको जचुकालि १५ वर्ष अघिसम्म मुलुकलाई सबभन्दा बढी राजस्व तिर्ने उद्योग थियो ।

कारखानामा काम गर्ने देशभरका धेरै कर्मचारीले जनकपुरमा बसोबासका लागि घर बनाए । जचुकालिले जनकपुरको आर्थिक अवस्थामा सुधार ल्यायो । ‘जनकपुरको विस्तारमा जचुकालिको पनि ठूलो भूमिका छ,’ प्राध्यापक झाले भने, ‘ट्रेडिङ, पर्चेजिङ र हाउजिङ जनकपुरमा बढ्नुको कारण जचुकालि नै हो ।’ उनका अनुसार जनकपुर सहरमा बिजुलीको प्रबन्ध पनि जचुकालिबाटै भएको हो । उसको आफ्नै पावर हाउस थियो । त्यहाँबाट उत्पादित बिजुली जानकी मन्दिर र सडकमा बालिएको थियो ।

निजी कम्पनी सूर्य टोवाकोसँग प्रतिस्पर्धा गर्न नसक्नु, राजनीतिक हस्तक्षेप र ट्रेड युनियनमा बढदो राजनीतीकरणले जचुकालि धराशायी बन्यो । अन्तत: उत्पादन महँगो हुन थालेपछि सरकारले २०७० असार २० गते जचुकालि बन्द गर्ने निर्णय गर्‍यो । जचुकालि बन्द भएपछि जनकपुर सहरलाई ठूलो झटका लाग्यो । माओवादी जनयुद्ध, मधेस आन्दोलन र सशस्त्र समूहको गतिविधिपछि बाँकी रहेका पहाडी समुदाय जचुकालि बन्दपछि जनकपुरबाट पलायन भए । त्यसको असर जनकपुरले बल्ल भोगिरहेको छ ।

जचुकालिको आवास परिसरमा प्रदेश सरकारको प्रशासनिक कार्यालय स्थापनापछि रौनक त फर्केको छ । तर कारखानाभित्रको उपकरण र मेसिन कवाडी बन्दै छ । कारखानालाई चुरोट उत्पादनकै लागि फेरि सञ्चालनमा ल्याउने राजनीतिक ‘गफ’ मा भने दम छैन । कारखाना सञ्चालनलाई प्राथमिकतामा राखेको प्रदेश सरकारले भने उसकै परिसरमा प्रशासनिक र आवास क्षेत्र बनाएको छ । ‘जचुकालिको परिसरलाई उद्योगकै रूपमा विकास गर्नुपर्छ,’ प्राध्यापक झाले भने, ‘त्यो परिसरमा प्रादेशिक कार्यालय राख्दा अन्याय हुन्छ । कृषिमा आधारित उद्योग खोलेर जनकपुर सहरलाई औद्योगिक वातावरणमा पनि ढाल्नुपर्छ ।’

विकासका योजना
१ सय २५ वर्ष पुरानो सहर जनकपुरलाई व्यवस्थित र सुन्दर बनाउन एकैसाथ ६ वटाभन्दा बढी विकासका योजना थालिएको छ । एकीकृत सहरी विकासअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा जनकपुरको भित्री सडकको विस्तार र ढलनालाको निर्माण भइरहेको छ । भारतीय सीमा जटहीदेखि ढल्केवरसम्म निर्माण भइरहेको ६ लेनको सडक पनि जनकपुर सहर छोएरै जान्छ । मधेसको लाइफलाइन हुलाकी राजमार्ग पनि जनकपुर सहरको मध्य हुँदै महोत्तरी छुँदैछ । जयनगरदेखि बर्दिवाससम्म निर्माण भइरहेको ब्रोडगेज रेल्वेमार्ग पनि जनकपुर हुँदै पूर्व–पश्चिम राजमार्ग चुम्दै छ ।

सहरलाई व्यवस्थित र यातायातको पूर्वाधारमा यतिधेरै विकल्पमा थालिएको विकास निर्माणले जनकपुरलाई विकसित बनाउनेछ । अग्निकुण्डका महन्त यादवका अनुसार यातायातको पूर्वाधार बनेपछि जनकपुर सहरको विकास गर्न र सुन्दर बनाउन धार्मिक नगरी नै बनाउनुपर्छ । ‘मठ–मन्दिरको सौन्दर्यकरण, कुण्ड–तलाउको संरक्षण र सौन्दर्यकरण तथा जनकपुरलाई मासु–मदिरा निषेधित क्षेत्र बनाएपछि यहाँको धार्मिकताले सबैको मन छुन्छ,’ महन्तले भने, ‘धार्मिक सहरका लागि हुनुपर्ने सबै मान्यता कायम गरिए विश्वभरका पर्यटक यहाँ तान्न सकिन्छ ।’

यहाँ हुने ठूला धार्मिक उत्सव विवाह पञ्चमी, राम नवमी, मिथिला माध्यमिकी परिक्रमा, झुला महोत्सवलाई मात्रै व्यवस्थित गरिए जनकपुर सहरले थाम्नै नसक्ने पर्यटकको चाप बढ्छ । ‘यतिधेरै पोखरी भएको जनकपुर नै संसारको पहिलो सहर हो,’ प्राध्यापक लाभले भने, ‘जनकपुरलाई सिटी अफ पोन्ड बनाउन सकिन्छ ।’ उनका अनुसार पोखरीमा पानीको फोहोरा, डिलमा वृक्षरोपण र शान्ति बाटिका बनाउँदा जानकी मन्दिर दर्शन गर्न आउने पर्यटकलाई जनकपुरमा रोक्न सकिन्छ । राजर्षि जनक विश्वविद्यालय, जानकी मेडिकल कलेज, अञ्चलस्तरीय सरकारी अस्पताल, सरकारी र निजी थुप्रै स्कुल र कलेज । एउटा सहरलाई चाहिने सबै पूर्वाधार जनकपुरमा छ । प्राध्यापक झाले विश्वविद्यालय हाईस्कुलजस्तो, मेडिकल कलेज क्लिनिकजस्तो र सरकार स्कुल–कलेज सर्टिफिकेट मात्रै बनाउने छापाखानाजस्तो हुँदा जनकपुरको शिक्षा क्षेत्र बदनाम भएको बताए ।

जनकपुर सहरको एउटा गजबको खुबी छ । यो गोलाकार सहर हो । प्राध्यापक लाभका अनुसार गोलाइ आकारको सहरले सामाजिक सद्भावको संकेत गर्छ । लम्बाइ आकारको सहरमा समाजबीच अन्तक्र्रिया हुँदैन । समाजशास्त्रको हवाला दिँदै उनले भने, ‘गोलाकार सहर सामाजिक सद्भावका लागि राम्रो मानिन्छ । त्यसमा जनकपुरमा धार्मिक भावले झन् सद्भाव बढाएको छ ।’

प्रादेशिक राजधानी बनेपछि जनकपुरप्रति अपनत्व बढ्ने गतिविधि हुनुपर्ने उनको तर्क छ । जनयुद्ध, मधेस आन्दोलन र सशस्त्र समूहको गतिविधिले मानिसको पलायन बढदा जनकपुरप्रति जुन लगाव थियो, त्यो भंग भएको बताउँदै प्राध्यापक लाभले भने, ‘धेरैजना अझै डराएर बस्नुपर्ने अवस्था छ । प्रादेशिक सरकारले जनकपुर मेरो पनि सहर हो भन्ने भावना देशभर फिँजाउन सक्नुपर्छ ।’

प्रकाशित : चैत्र २४, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?