कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जातीय समारोहको प्रमुख अतिथि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीका भाइ 

श्यामसुन्दर शशि

जनकपुर — वैश्य समुदायबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरुको स्वागत तथा सम्मानमा नेपाल वैश्य युवा संघले शनिबार यहाँ आयोजना गरेको समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदी प्रमुख अतिथीको रुपमा सहभागी भए । 

जातीय समारोहको प्रमुख अतिथि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीका भाइ 

समारोहमा मेचीदेखि महाकालीसम्मका निर्वाचित स्थानीय तहका प्रमुख, प्रदेशसभा सांसद , प्रतिनिधिसभा सांसद , बहालवाला मन्त्री , पूर्व मन्त्री , सरकारी तथा गैरसरकारी संघ संस्थाका उपल्ला पदाधिकारीहरुसँगै भारत विहार , झारखण्ड , उत्तरप्रदेश तथा दिल्लीसम्मका वैश्यसमुदायका अगुवाहरुको प्रतिनिधिमूलक उपस्थिती थियो ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लादले नेपाल भारत बीचको सुमधुर सम्बन्ध अझ प्रगाढ बनाउन आफ्नो प्रयास जारी रहने बताए । उनले शिक्षाको उन्नतिबाटै कुनै पनि जाति समुदायको विकास हुने उल्लेख गर्दै बाल बालिकाको शिक्षामा जोड दिन सुझाव दिए ।

आफूलाई तेली समाजको बताउने मोदी कान्तिपुरसँगको भेटमा समारोहमा जातीय एकतासँगै शिक्षा,स्वास्थ्य,दाइजो लगायतका विषयमा गम्भीर छलफल हुने बताए । सोमाभाईऽ अमरुद्रभाई, नरेन्द्रभाई,प्रह्लाद तथा पंकज मोदी गरी आफ्ना पाँच दाजु भाईमध्ये नरेन्द्र मोदी १९७० देखी नै घर छाडेको प्रह्लादले जानकारी दिए । उनले भने–‘ नरेन्द्रभाई अब हाम्रोमात्र होइनन् , सिंगै भारतका दाजु भाई भएका छन् । उनको परिवारसँग खासै सम्बन्ध छैन ।’


स्वागत तथा सम्मान समारोहमा वैश्य समुदायका सम्पूर्ण निर्वाचित प्रतिनिधीहरुलाई आमन्त्रण गरिए पनि प्रतिनिधीसभा सांसद प्रमोद साह, प्रदेश २ का उपसभामुख उमा देव, भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनल , सामाजिक विकास मन्त्री नवलकिशोर साह, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह , जनकपुर उपमहानगर पालिकाका मेयर लालकिशोर साह लगायत झण्डै एक दर्जन प्रदेश सांसद तथा स्थानीय तहका प्रमुखहरु सहभागी भएका थिए ।

नेपाल वैश्य युवा संघका अध्यक्ष दिलिपकुमार साहका अनुसार – समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ , प्रतिनिधिसभा सदस्यहरु राजेन्द्र महतो , प्रभु साह , जूली महतो , चन्दा चौधरी , हरिनारायण रौनियारलगायतलाई पनि आमन्त्रित गरिएको थियो ।

प्रकाशित : चैत्र २४, २०७४ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?