डढेलोले सकिँदै साल

सन्तोष सिंह

जनकपुर — डढेलो लाग्न थालेपछि वन पैदावार जोगाउन मुस्किल भएको छ । महोत्तरी र सर्लाहीका राजमार्ग छेउका वनमा लागेको आगोले ठूलो संख्यामा रूख जलिसकेका छन् ।

डढेलोले सकिँदै साल

राजमार्गको दायाँबायाँ दुवैतिरका जंगलमा आगो लाग्ने गरेको छ । दक्षिणतर्फको सागरनाथ वन परियोजनामा डढेलो निरन्तरजसो छ । परियोजनाबाट निस्कने धुवाँको मुस्लोले राजमार्गमा ओहोरदोहोर गर्नेलाई समेत समस्या भइरहेको छ । चौपाया चराउन वन पुगेकाहरूले नै आगो लगाइदिने गरेकाले नियन्त्रण गर्न नसकिएको सागरनाथ वन परियोजना लक्ष्मिनिया रेञ्ज युनिटका रेन्जर रोहितकुमार थारूले बताए । त्यहाँ थुपै्र रूख र अन्य वन पैदावार खरानी भइसकेका छन् ।


परियोजनाअन्तर्गत सर्लाही र महोत्तरी खण्डमा राजमार्ग छेउमै सालको टुना जलेर नष्ट भएको छ । आगो नियन्त्रणमा परियोजनाले चासो देखाएको छैन । महोत्तरीको मरहा खोलादेखि सर्लाहीको सागरनाथसम्म सल्किएको डढेलोले कटान गरेर राखिएका टुना, ढलेका र सुकेका साल जलिसकेका छन् । पूर्व–पश्चिम राजमार्ग छेउमै पनि सालको टुना जलिरहेको छ । डढेलो लागेपछि वन्यजन्तु बस्ती प्रवेश गरेका छन् । बँदेल, निलगाई र बाँदर बस्तीमा पसी स्थानीयका अन्नबाली र तरकारीमा क्षति पुर्‍याएका छन् ।

डढेलो रोक्न माघमा ‘कन्ट्रोल बर्निङ’ गरिए पनि नयाँ पालुवा पलाउने आसमा गोठालाले नै आगो लगाइदिँदा नियन्त्रण गर्न समस्या भइरहेको परियोजनाका शाखा अधिकृत विशेन्द्र चौधरीले बताए । ‘एकैसाथ धेरै ठाउँमा आगो लाग्दा नियन्त्रणबाहिर पुग्यो,’ उनले भने, ‘सुकेको वन पैदावारसँगै नयाँ बिरुवामा क्षति पुगेको छ ।’

आगलागी रोक्न कर्मचारीको निगरानीमै ‘कन्ट्रोल बर्निङ’ गरिए पनि वन क्षेत्रमा खुला प्रवेशले डढेलो काबुबाहिर पुगेको लक्ष्मिनिया रेन्ज युनिटका प्रमुख रोहितकुमार थारीले बताए । युनिटमा स्रोत–साधन र जनशक्ति पर्याप्त नहुँदा आगलागी नियन्त्रण गर्न नसकिएको उनको भनाइ छ ।

बहुमूल्य साल चिरेर दाउरा ओसार्नेहरूले वनमा आगो लगाउने गरेको परियोजनाका कर्मचारी बताउँछन् । ‘साइकलमा दाउरा ओसार्नेहरूले हरियो साल चिरेर लैजाँदा पनि कर्मचारी हेरेर बस्छन्,’ प्रशासन फाँटका एक कर्मचारीले भने, ‘कार्यालयका कर्मचारीले व्यक्तिगत लाभका लागि साइकलमा दाउरा ओसार्न छुट दिएका छन् । दाउरा ओसार्नेले नै हरियो बोट सुकाउन आगो लगाइदिन्छ ।’ परियोजना महोत्तरी, सर्लाही र रौतहटमा गरी १३ हजार हेक्टरमा फैलिएको छ । व्यवस्थापन चुस्त नहुँदा यहाँ वन पैदावारको तस्करीसमेत बढेको छ ।

प्रकाशित : चैत्र २४, २०७४ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?