लामखुट्टेले बिरामी हैरान

अजित तिवारी

जनकपुर — लामखुट्टेले जनकपुरमा कतिसम्म सताएको छ, त्यो बुझ्न यहाँका अस्पताल शय्यामा पल्टिरहेका बिरामीको अवस्था हेरे पुग्छ ।

लामखुट्टेले बिरामी हैरान

गम्भीर र सामान्य सबै बिरामीका शय्यामा झुल टाँगिएको छ । नत्र रात काट्नै मुस्किल पर्छ ।

जानकी मेडिकल कलेजको जनकपुर, ब्रम्हपुरीस्थित शिक्षण अस्पतालमा शुक्रबार राति आकस्मिक र अन्य कक्षका प्रायजसो शय्यामा झुल टाँगिएका थिए ।

रोग संक्रमणको तीव्र जोखिम हुने भएकाले अन्य स्थानको तुलनामा अस्पताल बढी नै सफा रहनुपर्छ । लामखुट्टे–झिंगाबाट मुक्त हुनुपर्छ । लामखुट्टेले सुत्नै नदिएपछि झुल टाँग्नुपरेको शिक्षण अस्पतालका बिरामी बताउँछन् । महोत्तरीको पिपराबाट ‘प्रेसर’ उपचार गराउन आएका सहदेव साहले भने, ‘दिउँसो पनि लामखुट्टे लाग्छ, राति त सुत्नै सकिन्न ।’ आकस्मिक कक्षमा बुवाको उपचार गराइरहेका जनकपुरका राजन श्रेष्ठ पनि घरबाटै झुल बोकेर आए । ‘झुल नटाँगे लामखुट्टेले सुत्नै दिँदैन,’ उनले भने, ‘बिरामी र कुरुवा दुवैलाई झुल चाहिन्छ, नत्र लामखुट्टे हम्किँदै रात काट्नुपर्छ ।’

बिरामीका आफन्त पनि फलफूलसँगै लामखुट्टे धपाउने धुप बोकेर आएका हुन्छन् । बिरामी भेट्न शिक्षण अस्पताल पुगेका जनकपुर–९ का विमलेश सिंहले लामखुट्टेका कारण बिरामीको स्वास्थ्यमा असर परिरहेको बताए । ‘अस्पतालमा बिरामी निको हुन आउँछन्,’ उनले भने, ‘तर, लामखुट्टेले टोकेर थप बिरामी परिएला भन्ने पीर ।’

सहर नै डम्पिङ साइटजस्तो बनेको जनकपुरमा जताततै फोहोर छ । त्यसैका कारण लामखुट्टे बढेका छन् । घर र पसलको फोहोर सडकमै फाल्ने प्रवृत्ति छ । फोहोर व्यवस्थापनमा उप–महानगरपालिकाले चासो देखाएको छैन । लामखुट्टे नियन्त्रणको माग राख्दै जनकपुरवासीले केही साताअघि झुल ओढेर विरोध प्रदर्शन गरेका थिए । त्यसपछि उप–महानगरपालिकाले ठाउँठाउँमा औषधि छर्किए पनि समस्या समाधान भएको छैन । ‘फोहोर व्यवस्थापन नगरेसम्म जनकपुरमा लामखुट्टे नियन्त्रण गर्न मुस्किल छ,’ मोडेल कलेजका प्रदीप लालले भने, ‘लामखुट्टेले जनकपुरबासी हैरान छन् । नियन्त्रण प्रयास फितलो छ ।’

जनकपुरमा सरकारी अञ्चल अस्पतालसँगै दर्जनभन्दा बढी निजी अस्पताल छन् । ती सबैमा बिरामी झुल टाँगेरै सुत्छन् । बिरामी बस्ने कक्ष नियमित सफाइ नहुँदा पनि लामखुट्टेको आतंक बढेको लालले बताए । जनकपुर अञ्चल अस्पतालका चिकित्सक विजय सिंह पनि जताततै फोहोर र दुर्गन्ध रहेकाले लामखुट्टे बढेको ठान्छन् । अस्पतालमा बिरामीको चाप बढिरहेकाले सफाइ गरिए पनि फोहोरमुक्त बनाउन नसकिएको उनको भनाइ छ । ‘अस्पतालको नियमित सर–सफाइ गरिए पनि लामखुट्टे नियन्त्रण गर्न सकिएको छैन,’ डा. सिंहले भने, ‘सहरै दुर्गन्धित भएपछि अस्पताल मात्र सफा राखेर हुँदो रहेनछ ।’ लामखुट्टेको टोकाइले बिरामीको स्वास्थ्यमा झन् असर पर्ने उनले बताए ।

प्रकाशित : चैत्र २५, २०७४ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?