२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

वर्षाअघि ग्राभेल गरिसक्न निर्देशन

जनकपुर–जलेश्वर सडक
रवीन्द्र उप्रेती

महोत्तरी — सामान्य वर्षामै हिलाम्मे बनेको जलेश्वर–जनकपुर सडकका दर्जनभन्दा बढी स्थानमा दह जमेका छन् । सडक खुले पनि हिलेकै कारण यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् । धनुषा र महोत्तरीलाई भारतसँग जोड्ने उक्त सडक कतै ४ र कतै ६ लेनको बनाइँदै छ ।

वर्षाअघि ग्राभेल गरिसक्न निर्देशन

सामान्यै वर्षामै थुनिएपछि सरकारी अधिकारीको टोलीले शनिबार निर्माणाधीन सडक अनुगमन गरेको छ । प्रजिअ बाबुराम श्रेष्ठ नेतृत्वको टोलीले महोत्तरी खण्डमा पर्ने भिट्ठामोडदेखि बनौलीसम्म करिब १२ किमि सडक अनुगमन गरेको हो । त्यस क्रममा प्रजिअ श्रेष्ठले वर्षामा सडक अवरुद्ध हुन नदिन महिनादिनभित्रै एक तह ‘ग्राभेल’ गरिसक्न ठेकेदारलाई निर्देशन दिए ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका प्रमुख सन्तोष कर्णले ठेकेदारको खेलाँचीले सडक निर्माणमा ढिलाइ हुँदा वर्षाका बेला दु:ख पाइरहेको बताए । अहिलेसम्म ६० प्रतिशत काम सकिनुपर्नेमा ३५ प्रतिशत मात्र भएको जनाउँदै उनले भने, ‘अब पनि निर्माण तीव्र नपारे ठेकेदारलाई कारबाही गरिनेछ ।’

महोत्तरी, धनुषा र भारतको सीमा बजार भिट्ठामोड जोड्ने सडकको लम्बाइ १८ किमि छ । यसको निर्माण जिम्मा दुई ठेकेदार कम्पनीले लिएका छन् । वर्षामा आवागमन ठप्प हुन नदिन पछिल्लो समय निर्माण कार्यलाई गति दिएको कम्पनीका प्राविधिकले दाबी गरेका छन् ।

‘जनकपुरदेखि पर्सा पुल वारिसम्म ८ किमि सडक वैशाख पहिलो साताभित्रै ग्राभेल सक्नेछौं,’ पहिलो खण्ड जिम्मा लिएको प्रतिभा वाईपी जेभीका प्राविधिक मधुकर अधिकारीले भने । दोस्रो खण्डको ठेकेदार आशिष–पप्पु–रोशन जेभीका प्राविधिक राजेश शर्माले पनि वैशाखभित्र भारतीय सीमासम्म ग्राभेल गरिसकिने बताए ।

सडकमा माटो ओछ्याउँदा उड्ने धुलोले स्थानीय पीडित रहेकाले दिनको दुईपटक पानी छर्किने तयारी भइरहेको पनि कम्पनीले जनाएको छ । अनुगमन टोलीमा रहेका जलेश्वर–२ का वडाध्यक्ष वरुण दाहाल र राजनीतिकर्मी बजरंग नेपालीले सडकको काम गुणस्तरीय हुनुपर्नेमा जोड दिए ।

स्थानीय दिलिप पाण्डेले दोस्रो खण्डको सडकमा माटो नसम्याइँदा हिँडडुल गर्न समस्या भइरहेको बताए ।

सडकमा हिलो सुकेपछि आवागमन खुलेको छ । हिलोका कारण जलेश्वर भन्सारमै रोकिएका नेपाल आयल निगमका २४ डिजल र ९ पेट्रोल बोकेका ट्याङकर धनुषाको महेन्द्रनगर डिपो पुगेको छ । निगम प्रतिनिधि विश्वेश्वर यादवका अनुसार ४ लाख ५२ हजार लिटर डिजेल र १ लाख ४० हजार लिटर पेट्रोल बोकेर भारतको बरौनीबाट आएका ट्याङकर सडक थुनिएपछि अलपत्र थिए । हिलो सुकेपछि खाद्यान्न, हरियो तरकारी र औद्योगिक कच्चा पदार्थ बोकेका ३० मालवाहक ट्रक पनि गन्तव्यतिर लागिसकेका छन् ।

प्रकाशित : चैत्र २५, २०७४ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?