२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

वडामा ‘गुडिया’ सुरक्षा योजना

साउनयता जन्मिएका सबै बालिकाका नाममा वडा कार्यालयले बैंक खाता खोलिदिने
लक्ष्मी साह

बारा — करैयामाई गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले बालिकाको सुरक्षाका लागि विशेष योजना अघि सारेको छ । ‘गुडिया’ सुरक्षा योजना नाम दिइएको यो अभियान वडाका सबैजसो गाउँमा लागू गरिएको छ ।

वडामा ‘गुडिया’ सुरक्षा योजना

उक्त वडामा नरही, इँंटहर, औनिया, सिर्सिया र बेलाही गाउँ समेटिएका छन् । मधेसी समाजमा बालिकालाई स्नेहपूर्वक ‘गुडिया’ भन्ने चलन छ ।

उता प्रदेश २ सरकारले ‘बेटी बचाऊ, बेटी पढाऊ’ योजना ल्याउने घोषणा गरिसकेको छ । चालू आवको साउनयता जन्मिएका बालिकाको सुरक्षा र भविष्यका लागि वडाले आफ्नो बजेटबाट प्रत्येकका नाममा जनही ५ हजार रुपैयाँको बैंक खाता सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेपछि अभिभावकले धमाधम जन्म दर्ता गराएर खाता सञ्चालनका लागि आवेदन दिन थालेका छन् ।

वडाध्यक्ष सुरेन्द्र साहका अनुसार समाजमा छोरीहरूप्रति देखिएको नाकारात्मक भावना अन्त्य गर्न, भ्रूण हत्या हुन नदिन, छोरीप्रतिको विभेद हटाउन, दहेज प्रथा निरुत्साहित गर्न छोरीलक्षित योजना ल्याइएको हो । ‘जुन घरमा छोरी जन्मिन्छिन्, तिनका नाममा वडाबाट ५ हजारबाट खाता खोल्छौं । त्यसपछि अभिभावकलाई इच्छाअनुसारको रकम खातामा अनिवार्य बचत गराउने अभियान थाल्छौं,’ साहले भने, ‘यसबाट कुप्रथा र कुसंस्कार घट्ने र शिक्षासम्बन्धी चेतना जागृत हुने विश्वास छ ।’ यो अभियान सुरु भएसँगै अभिभावकको आकर्षण बढेको स्थानीय रामु साहले बताए । आठ महिने छोरीको नाममा खाता सञ्चालन गर्न उनले वडामा निवेदन दिइसकेका छन् ।

वडाध्यक्ष साहका अनुसार सूचना जारीपछि ३० जना अभिभावकले साउनयता जन्मिएका छोरीका नाममा खाता सञ्चालन गर्न आवेदन दिएका छन् । ‘छोरीको नाममा वचत हुने रकम १६ वर्षसम्म झिक्न नपाउने व्यवस्था गरिनेछ,’ उनले भने, ‘छोरीको खाता सञ्चालन गर्न आमाको नागरिकता अनिवार्य गरी आमा र बाबुलाई संरक्षक राखिनेछ ।’ यो योजनाबाट छोरीहरूको वार्षिक जन्मदर यकिन हुने र उनीहरूलाई भविष्यमा विद्यालयमा वडाको तर्फबाट छात्रवृत्तिको व्यवस्था मिलाउन सहज हुने उनको भनाइ छ । यो योजनाले छोरीमाथिको सामाजिक हिंसा कम हुने स्थानीय अभिभावक योगेन्द्र पटेलले बताए ।

छोरीमोह बढ्दै
मधेसी समाजमा केही समयता छोरीप्रति मोह बढ्दो छ । छोरी जन्मिने घरमा अभिभावकले दैलामा ‘बधइया’ (नर्तकी) सांस्कृतिक कार्यक्रम गर्न थालेका छन् । दुई सन्तान छोरी नै भए पनि परिवार नियोजन गराउने दम्पतीसमेत छन् । पहिले यस्तो हुँदैनथ्यो । छोरीलाई शिक्षा दिक्षा दिने, सरकारी जागिर र सार्वजनिक अवसरमा समेत उनीहरूको सहभागिता खोज्ने बढेका छन् । कुमारी नागरिकता र पोसपोर्ट बनाउनेको संख्या बढ्दो छ । वडाध्यक्ष साह भन्छन्, ‘पहिला छोरी जन्मेलगत्तै दाइजो र तिलकतिर अभिभावकको ध्यान सोझिन्थ्यो । यसले गर्दा उनीहरू छोरीलाई बोझ सम्झिन्थे ।

अहिले यस्तो मनोविज्ञान र धारणा विस्तारै हट्दै गएको छ ।’ कलैया ८ की गीता चौधरीले दुई छोरी जन्मिएपछि परिवार नियोजन गराइसकेकी छन् । उनी भन्छिन्, ‘श्रीमान्, सासू ससुरासितै सल्लाह गरेर परिवार नियोजन गराएकी हुँ ।’

अहिले मधेसमा अहेब र नर्सिङ पढ्ने छोरीचेली निकै देखिन थालेको जनस्वास्थ्य कार्यालयकी कम्युनिटी नर्सिङ पूर्वनिरीक्षक कलावती शाह बताउँछिन् । शाहका अनुसार २०३२ ताका उनी मधेसका ग्रामीण भेगमा पुग्दा ‘छोरीचेली भएर पनि गाउँगाउँ घुमेको भन्दै’ स्थानीय अचम्म मान्थे । ‘अहिले धेरैजसोले छोरीमै चित्त बुझाएर परिवार नियोजनसमेत गराइरहेका छन्,’ उनले भनिन्, ‘मधेस तराईमा छोरी पनि छोरासमान हुन् भन्ने चेतना बढेको छ ।’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ओम खड्काले मधेसी समुदायमा जागिर र उच्च शिक्षाका लागि उमेर पुगेका छोरीचेलीको नागरिकता र पासपोर्ट बनाउने चलन बढेको बताए । ‘दैनिक ५ देखि १० को संख्यामा नागरिकता र पासपार्ट बनाउन छोरीचेली आउने गरेकी छन्,’ उनले भने, ‘अधिकृतभन्दा तल्लो पदमा मधेसी महिलाले जागिरको अवसर पाइरहेका छन् ।’

प्रकाशित : चैत्र २५, २०७४ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?