जनकपुरको सहरी क्षेत्रमा अब एउटै शैलीका घर !

उप–महानगरपालिकाले गर्‍यो डिजाइन सार्वजनिक

जनकपुर — धार्मिक नगरी जनकपुरको सहरी क्षेत्रमा एउटै रंग र डिजाइनका घर निर्माण गर्न उप–महानगरपालिका कार्यालयले प्रस्ताव गरेको छ । उप–महानगरले घरका डिजाइनसमेत सार्वजनिक गरेको छ ।

जनकपुरको सहरी क्षेत्रमा अब एउटै शैलीका घर !

जानकी मन्दिरबाट १ किमि वरपरका घर धार्मिक झल्को दिने स्वरूपमा बदल्न त्यस क्षेत्रका घरधनीलाई डिजाइन उपलब्ध गराइएको छ । सडकका दुबै छेउका तीन तलासम्मका घर र व्यापारिक भवनलाई एउटै रंग र डिजाइनमा ढाल्न लागिएको हो । जनकपुरमा अहिले सडक फराकिलो र ढल–नाला निर्माणको काम भइरहेकाले मुख्य सहरी क्षेत्रमा सडक क्षेत्र ओगटेर बनाइएका घर भत्काइँदै छन् । ‘सहरी क्षेत्रका सबै घर फुटाइएका छन्,’ जनकपुर उप–महानगरका मेयर लालकिशोर साहले भने, ‘ती घर बनाउनै छ, यही मौकामा नयाँ स्वरूप दिन डिजाइन उपलब्ध गराएका छौं ।’


उप–महानगरले रेल्वे स्टेसनदेखि जनक चोकको ४ सय मिटर, जानकी मन्दिरदेखि रामानन्द चोकसम्मको १ हजार ३ सय मिटर, जनक चोकदेखि जानकी मन्दिर र महावीर चोकदेखि जानकी मन्दिरसम्मको एरियामा एउटै रंग र डिजाइनका घर बनाउने योजना अघि सारेको हो ।


सार्वजनिक डिजाइनअनुसार घरको बाहिरी स्वरूप मन्दिरकै जस्तो हुनेछ । घरका दुवै कुनामा माछा बनाइनेछ । मन्दिरैमन्दिरको सहर जनकपुर माछाका लागि पनि चर्चित छ । उपमहानगरले नयाँ डिजाइनमा यी दुवै मौलिकता समेट्न लागेको हो । घरको बाहिरी भागमा बाल्कोनी र नन–बाल्कोनी दुबै हुनेछ । उपमहानगर कार्यालयले विशेषज्ञको सल्लाहमा ती डिजाइन तयार पारेको हो । जनकपुरमा जानकी मन्दिरवरिपरि ३१ फिट र बाहिरी इलाकामा ४१ फिट उचाइको घर बनाउने मापदण्ड तोकिएको छ । ‘उप–महानगरले तोकेकै मापदण्डमा रहेर नयाँ डिजाइनको घर बनाउन प्रस्ताव गरेका छौं,’ मेयर साहले भने, ‘यसमा सहुलियत पनि प्रदान गर्ने सोचमा छौं ।’ उनका अनुसार सहरबासी नयाँ डिजाइनको घर बनाउन इच्छुक पनि देखिएका छन् ।


बाहिरी पर्यटकले सहरमा धार्मिक झलक पाउनु भन्ने उद्देश्यले जानकी मन्दिर क्षेत्रका घरलाई नयाँ डिजाइन दिन लागिएको मेयर साहले बताए । उप–महानगरले घरधनीलाई उपलब्ध गराएको डिजाइनमा सामान्य हेरफेर गर्न मिल्ने सुझावसमेत मागेको छ । तत्काललाई ‘मिथिला हेरिटेज स्ट्रीट’ नाम दिइएको डिजाइनअन्तर्गत खानेपानी, बिजुली, टेलिफोनसमेत व्यवस्थित बनाउने उप–महानगरको योजना छ ।


‘जनकपुरलाई धामकै रूपमा विकास गर्न सहरी क्षेत्रका घरको डिजाइन फेरिन लागेको हो,’ मेयर साहले भने, ‘यहाँका मठ–मन्दिर घुम्न आउने पर्यटकले जनकपुरबाट बाहिरिँदासम्म धार्मिकताकै झलक पाउनेछन् । घर जतिसुकै तल्लाको भए पनि बाहिरी रंग र स्वरूप एकैखालको हुनेछ । बजार क्षेत्रमा भत्काइएको सबै घर पुनर्निर्माण हुँदैछ । अहिले नै सबै घरलाई एउटै रंग र स्वरूपको बनाइए परिवर्तनको अभास पनि हुनेछ,’ साहले भने, ‘घरधनीको रेस्पोन्स राम्रो छ, जनकपुरको धार्मिकतालाई नयाँ डिजाइनले अझै बढाउनेछ ।’

प्रकाशित : चैत्र २५, २०७४ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?