स्थानीयवासीले गरे गुठी कार्यालयमा तालाबन्दी

श्यामसुन्दर शशि

जनकपुर — गुठी संस्थान, शाखा कार्यालय जनकपुरमा तालाबन्दी गरिएको छ । अवैध रुपमा गुठीअन्तर्गतको बिरखकुटीको जग्गामा घर निर्माण गर्दा पनि नियन्त्रणको प्रयास नगरेको भन्दै स्थानीयले बुधबार तालाबन्दी गरेका हुन् ।

स्थानीयवासीले गरे गुठी कार्यालयमा तालाबन्दी

जनकपुर उपमहानगरपालिका-८ स्थित उक्त मन्दिरको जग्गामा ५० भन्दा बढी घर निर्माण भइसकेका छन् भने चार घर निर्माणाधीन अवस्थामा छ । मन्दिर परिसरभित्र घर बनाउनेहरुमा नेतादेखि सामाजिक संघसंस्थाका अगुवा तथा पूर्व तथा वर्तमान प्रहरी अधिकृतहरु समेत छन् ।

गुठीमा तालाबन्दी गर्न आएका जनकपुर-८ बलवा टोलका बिक्रमकुमार ठाकुरले भने, ‘जिल्ला प्रहरी कार्यालयमा भएको दुईपक्षीय सहमतिमा निर्माण कार्य तत्काल रोक्न निर्णय भएको थियो तर अहिले पनि धमाधम निर्माण भइरहेको छ ।' प्रहरीका पूर्वसवइन्सपेक्टर नागेन्द्र यादव तथा विजय यादवसहित चार जनाले घर निर्माण गरी रहेको उनको आरोप छ ।


गुठी अधिनस्त बिरखकुटीको जग्गामा निर्माणाधीन घर टहराको निर्माण रोक्का गरी भत्काउने विषयमा गुठी संस्थान शाखा कार्यालय जनकपुरले जिल्ला प्रशासन कार्यालयमा पत्र लेखेको देखिन्छ । जिल्ला प्रशासनको निर्देशनमा जिल्ला प्रहरीले दुई पक्षबीच सहमति गराई अवैध निर्माण रोक्न निर्देशन दिए पनि निर्माण कार्य अझै पनि रोकिएको छैन । गुठी संस्थान तथा स्थानीय प्रहरी प्रशासनकै मिलिमतोमा अवैध निर्माण भइरहेको आरोप स्थानीयवासीको छ । ‘प्रहरी इन्सपेक्टरको रोहवरमा घर निर्माण नगर्ने सहमति हुन्छ तर एक दिन बिराएर पुन: निर्माण सुरु हुन्छ । कोही रोक्न आउँदैनन् । यसलाई मिलिमतो नभने के भन्ने रु ’ ठाकुरले भने ।


गुठी संस्थान, शाखा कार्यालय जनकपुरका प्रमुख मनोज शर्माले बिरखकुटीको जग्गामा हुँदै गरेको अवैध निर्माण रोक्न आफूले सक्दो पहल गरिरहेको दाबी गरेका छन् ।


समस्या समाधानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुधबार गुठी संस्थानमा तालाबन्दी गरेका स्थानीयवासी, गुठी प्रमुख तथा अवैध घर निर्माण गर्नेबीच छलफल भएको थियो । १० कोठे पक्की भवन, आकर्षक रामसीताको मन्दिर तथा झण्डै दुई बिघाको घेरावेरासहितको कम्पाउण्ड भएको जनकपुर-८ स्थित बिरखकुटी अचेल उजाड छ ।


मन्दिरका इट्टा समेत चोरी भई मन्दिरको अस्तित्व नै संकटमा छ । जीर्ण सीताराम मन्दिरको प्रखालमा पीपलको रुख उम्रेको छ ।

प्रकाशित : चैत्र २८, २०७४ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?