२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पार्किङकै झमेला

रौतहट — चन्द्रपुर नगरपालिकाले पार्किङको व्यवस्थापन नगर्दा मुख्य सडकको भद्रगोल हटेको छैन । यहाँ बस र म्याजिक जिपको पार्किङ व्यवस्थापनलाई लिएर आइतबार दिनभर झमेला भयो ।

पार्किङकै झमेला

गौर चल्ने बस सडकमा पार्किङ गरिएको भन्दै म्याजिकले चोकनजिक काउन्टर लगाएपछि विवाद बढेको हो । दुबै पक्षलाई इलाका प्रहरी कार्यालयमा बोलाएर छलफल गरे पनि दिनहुँजसो पार्किङस्थलकै लागि विवाद बढ्दो छ ।


नगरपालिकाले पार्किङको व्यवस्था नगर्दा समस्या बढेको बस तथा म्याजिक व्यवसायीको गुनासो छ । चोकबाट २ सय मिटर दक्षिणमा काउन्टर राख्न सहमति दिए पनि सडकमै पार्किङ गर्ने क्रम रोकिएको छैन । बिहान चोकनजिक म्याजिक पार्किङ गर्न थालेपछि ट्राफिक प्रहरीले रोक्ने प्रयास गरे । नमाने पछि दुबै पक्षलाई प्रहरी कार्यालयमा झिकाइएको थियो ।


म्याजिकका चालकले सहमति उल्लंघन गरेको बस सञ्चालक मनोज साहले आरोप लगाए । ‘सबै बसेर गरेको सहमति म्याजिकले पहिला उल्लंघन गर्‍यो,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्नुपर्छ । उनीहरूले सहमतिअनुसार पहिलेकै स्थानमा काउन्टर सञ्चालन गर्नुपर्छ ।’ गौर जाने मुख्य चोकबाट २ सय मिटर दक्षिणतर्फ बस र म्याजिकले काउन्टर राख्नुपर्ने लिखित सहमति भएको थियो । बस दक्षिण क्षेत्रमै रहे पनि म्याजिकले चोक नजिक काउन्टर सञ्चालन गरेपछि विवाद बढेको हो ।


चन्द्रपुरस्थित पूर्वपश्चिम राजमार्गको मुख्य र गौर जाने चोक सधंै व्यस्त हुन्छ । यहाँ सयांैको संख्यामा गाडी आवतजावत गर्छन् । चोक अस्तव्यस्त र भद्रगोल हुन थालेपछि एक महिनाअघि नगरपालिकाले स्थानीय प्रशासनको सहयोगमा पार्किङस्थल पर सारेको थियो । अर्को व्यवस्था नहुन्जेलसम्म सहमति गरिएको स्थानमा पार्किङ गर्नुपर्ने थियो । तर, गौर चल्ने बस सडकमै रोकेपछि आफूहरूले पनि बाटोमै काउन्टर सञ्चालन गरेको टेम्पु तथा मझौला संघका अध्यक्ष तारा बजगाईले बताए । ‘नियम सबैलाई लागू हुनुपर्ने हो,’ उनले भने, ‘यहाँ म्याजिक जिपलाई मात्र नियम लगाउने काम भयो ।’ उनीहरू सडकभन्दा १५ मिटरभित्र काउन्टर राखेर म्याजिक सञ्चालन गर्ने दाउमा रहेको बस व्यवसायीको आरोप छ ।


दुबै व्यवसायीबीच विवाद बढेपछि इलाका प्रहरी कार्यालयका डीएसपी शान्तिराज कोइराला र नगरपालिकाका प्रतिनिधि ४ नम्बर वडा अध्यक्ष अमर आले सहितको टोलीले स्थलगत निरीक्षण गर्‍यो । नगरपालिकाले पार्किङको व्यवस्था नगर्दा समस्या बढेको स्थानीयको भनाइ छ । वडाध्यक्ष आलेले उचित पार्किङका लागि जग्गा खोजी भइरहेको जनाए । ‘सबैलाई पायक पर्ने स्थानमा पार्किङका लागि जग्गा भाडामा लिने काम हँुदैछ,’ उनले भने, ‘सुन्दर, सफा र भद्रगोलरहित चन्द्रनिगाहपुर बनाउने अभियानमा कोही बाधक हुनुभएन ।’


यता, पूर्वपश्चिम राजमार्गमा रहेको बस पार्कलाई पश्चिम क्षेत्रमा व्यवस्थित गर्ने भनिए पनि अहिले अस्थायी रूपमा चोकनजिक रोक्ने गरिएको छ । मुख्य चोकबाट हटाइए पनि बस काउन्टरहरू सडकमै टेबल लगाएर यात्रुको टिकट काटिरहेका छन् । नगरपालिकाको ढिलाइले सडकमै काउन्टर राख्नुपरेको बस कर्मचारी रामबाबु चौधरीले बताए । बसलाई इलाका प्रहरी कार्यालयको पश्चिम क्षेत्रमा रोक्न र काउन्टर सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको थियो । तर त्यस क्षेत्रमा संरचना बनाउन ढिला गरेकाले समस्या बढेको हो ।


अनुगमन फितलो
एक महिनाअघि चन्द्रनिगाहपुरका चोक बजार र पेटीमा जथाभावी राखिएका पसल, ठेला र टहरा हटाइयो । पूर्वपश्चिम राजमार्गमा २५ र जिल्ला मार्गमा १५ मिटरभित्रका घर–टहरा सार्वजनिक संरचना भत्काउने अभियान थाल्यो । तर, नियमित अनुगमन नहुँदा पेटीमा ठेला राख्ने फेरि बढेका छन । स्थानीय भरत आचार्यले नगर प्रतिनिधिले अनुगमन नगर्दा चोक बजार क्षेत्र फेरि भद्रगोल हुन थालेको बताए ।


‘नगरभित्र देखिएका समस्या समाधान गर्ने क्रममा भएका काम अनुगमन जरुरी छ,’ उनले भने, ‘राजमार्ग सफा गर्ने भन्दै रूख ढालिए, टहरा भत्काइयो, ठेला–पसल हटाइयो । तर अनुगमन गरिएन ।’ इलाका प्रहरीका डीएसपी कोइरालाले नगरपालिकाले अनुगमन गरे/नगरे पनि ट्राफिक प्रहरीलाई कडाइ गर्न निर्देशन दिएको बताए ।


राजमार्गको अतिक्रमण हटाउन भत्काइएका संरचना व्यवस्थापन नगर्दा राजमार्गमा दुर्घटनाको खतरा बढेको छ । नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले भत्काइएका संरचना बिस्तारै हटाइने बताए ।

प्रकाशित : वैशाख ३, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?