मुहान अतिक्रमणले नदी सुके

चुरे विनाश बढ्दो, जोगाउन चुनौतीपूर्ण
शिव पुरी

रौतहट — चुरे क्षेत्रका मुहान अतिक्रमणमा परेपछि केही वर्षयता पूर्वपश्चिम राजमार्ग आसपासका नदी सुक्न थालेका छन् । अव्यवस्थित बसोबासका लागि चुरे अतिक्रमण, जथाभावी ढुंगा उत्खनन र वन विनाश बढ्दै गएको छ । अतिक्रमणबाट पानीको मुहान पुरिने र भत्कने क्रम बढेपछि नदीहरू सुक्न थालेका हुन् ।

मुहान अतिक्रमणले नदी सुके

रौतहट र बाराको सीमा क्षेत्रमा पर्ने धन्सार, लमाह र लालबकैया नदी बालुवाको थुप्रोमा परिणत भएका छन् । विगतमा यी नदीमा कहिले पानी सुक्दैनथे । चुरे क्षेत्रबाट आउने पानीको मुहान सुकेको छ । बाराको दुधौरा, पसाहा, बकैया, रौतहटको लमाह, चाँदी र पौराइको हालत उस्तै छ । यी नदीमा एक थोपा पानी छैन । चुरेको शीरमा वर्षा भए मात्रै पानीको भेल बग्छ । अधिकांश नदीको अवस्था यस्तै छ । चन्द्रनिगाहपुरका समाजसेवी सुबोल काफ्लेका अनुसार कहिल्यै नसुक्ने नदी सुक्नुको मुख्य कारण चुरे उत्खनन हो । ‘चुरेक्षेत्रमा जथाभावी ढुंगा निकाल्ने र जग भत्काउने काम भयो,’ उनले भने, ‘चुरे क्षेत्रमा रहेका वषौंदेखिको पानीका मुहान र कुवा मास्ने काम भयो र नदीमा पानी आउन छाड्यो, यस्तो कार्य तत्कालै बन्द गराउन सरकारले कडा कदम चाल्नुपर्छ ।’


सरकारले वर्षौंदेखि चुरे क्षेत्रमा सयौं संख्यामा क्रसर उद्योग सञ्चालनको अनुमति दिएको छ । यसले चुरेको चरम दोहन भइरहेको छ । वन क्षेत्र मासिँदैछ । त्यही ठाउँमा संगठित अतिक्रमण सुरु भएको छ । चुरे क्षेत्रको वन विनाश भएपछि जमिनले पानी सोस्ने प्राकृतिक प्रक्रिया बिथोलिएको विज्ञहरू बताउँछन् । पानीको बेग पनि नियन्त्रण हुन सकेको छैन । माटो, ढुंगा, गिटी, बालुवा बगेर सीधै खोलामा पुगेपछि पानीको सतह झन् गहिरिएको छ । वर्षाबाहेक यी नदीमा पानी देख्न छाडेको जिल्ला वन अधिकृत दीर्घनारायण कोइराला बताउँछन् । ‘चुरे विनाश भयो भनेर हटाउने प्रयास नगरेको होइन,’ उनले भने, ‘राजनीतिक प्रभाव र संगठित अतिक्रमणकारीले समस्या झनै बढेको छ ।’ चुरे विनाशकै कारण बाढी, नदीको धार परिवर्तन, कटान, नदीको सतह उकासिने, कृषिमा ह्रास, उत्पादन घट्ने, जमिन मुनिको पानी सतह घट्दै जाने, पानीका मुहान सुक्नेजस्ता समस्या तराईमा देखिएको वन कार्यालयले जनाएको छ ।


उत्खननले विनाश
तराईवासीको जीवनको प्रमुख आधार चुरे हो । वर्षाका बेला नदीमा आउने बाढी तराईका गाउँघरमा पस्नुको एउटा कारण चुरे विनाश पनि हो । ढुंगा उत्खननको नाममा चुरेको जगै खन्ने काम भइरहेको छ । त्यसपछि चुरे वर्षासँगै बग्ने गरेको छ । सहायक वन अधिकृत अरुण कर्णले वर्षायाममा आउने भीषण बाढी चुरे बगेपछिको परिणाम भएको बताउँछन् । ‘चुरे निकै खुकुलो माटोले बनेको छ । यसलाई जोगाउन चुनौतीपूर्ण छ,’ उनले भने, ‘अतिक्रमण गरी बस्ती बसाल्ने र खेती गरिदिनाले माटो झनै कमजोर हुँदै गएको छ ।’ बस्ती बस्न थालेपछि चुरे नांगो डाँडामा परिणत भएको छ । यहाँ बोटबिरुवा भए पानीको बेग नियन्त्रण हुन्थ्यो  र ढुंगा, गिटी र बालुवा बग्ने क्रम रोकिन्थ्यो ।


विकासका नाममा ढुंगा उत्खनन तीव्र भएपछि चुरेको जग भत्किन थालेको छ । जग भत्काइएपछि घर भत्किनु जस्तै भएको सहायक वन अधिकृत कर्णले बताए । उनका अनुसार खोलामा भएका ठूला ढुंगा र चट्टानले पानीको बेग घटाउने काम गर्छन् । अहिले त्यस्ता चट्टान खोलामा बाँकी छैनन् । रातारात क्रसर व्यवसायीले उठाएर लगिसके । केही विकास निर्माणको नाममा लगिएको छ । सरकारले चुरे दोहन रोक्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ल्याए पनि प्रभावकारी हुन सकेको छैन । इलामदेखि सुदूरपश्चिम कञ्चनपुरसम्म ३६ जिल्लाका भूभाग समेट्दै नेपालको कुल क्षेत्रफलको १२ दशमलव ८ प्रतिशत चुरे क्षेत्रले ओगटेको छ । सरकारी लापरबाहीले चुरे भएर बग्ने नदी र खहरे खोला अत्यधिक दोहनमा परेका छन् । जनगणना ०६८ अनुसार ५० दशमलव ७ प्रतिशत तराईको जनसंख्या चुरेमा आश्रित छन् ।


चुरे विनाश बढ्दो
चुरेसँग तराईवासीको जीवन गाँसिएको छ । पछिल्लो समय चुरे क्षेत्रमा मानिसको बसोबास बढ्दो छ । यस क्षेत्रमा १४ लाखभन्दा बढी मानिस बसोबास रहेको अनुमान छ । अधिकांशको आफ्नो जग्गा जमिन छैन । गरिबीका कारण र पहाडबाट चुरेमा बसाइँसराइ आएका मानिसको अतिक्रमण तथा खण्डीकृत बासस्थानले वन विनाश व्यापक छ । यसले तराईको उर्वर कृषि मरुभूमिमा परिणत हुँदै गएको छ । काठ चोरीनिकासी, वन फँडानी, अतिक्रमण र उच्च दोहनले चुरेको वन क्षेत्र घटिरहेको छ । कृषि भूमि बढेको देखिए पनि उर्वराशक्ति घट्दै गएको छ । वनक्ष् ोत्र झाडीमा परिणत भएको छ । वन विनाशले चरिचरन क्षेत्र वृद्धि भइरहेकाले चुरेको आयु घट्दै गएको सहायक वन अधिकृत कर्णले बताए ।


यस क्षेत्रमा भइरहेको वन विनाश, अनियन्त्रित गिटीबालुवा निकासी तथा भू–क्षय रोकी तराईमा हुन सक्ने सम्भावित मरुभूमीकरणको खतरालाई रोक्न, चुरे संरक्षण गर्ने उद्देश्यले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ल्याइएको हो । प्रत्येक वर्ष असार २ गते चुरे संरक्षण दिवस मनाउँदै आए पनि संरक्षणका धेरै चुनौती बढ्दो छ । सरकारले चुरेको २० वर्षे गुरुयोजनासमेत स्वीकृत गरेको छ । चुरे क्षेत्रमा अधिकांश प्रमुख उत्पादनशील सामुदायिक वन पर्छन् । तल्लो तटीय क्षेत्रलाई जोगाइराख्न चुरे संरक्षणका लागि नीति, कार्यविधि, गुरुयोजनाका साथै राजनीतिक स्वार्थभन्दा माथि उठेर सरोकारवालाको प्रतिबद्धता आउन जरुरी रहेको जिल्ला वन अधिकृत कोइरालाको भनाइ छ ।


चुरे विनाश रोक्न, त्यस क्षेत्रमा हरियाली बढाउन तथा नवीकरणीय ऊर्जा प्रवद्र्धन गरी विनाश कम गराउन गुरुयोजना स्वीकृत भइसकेको वन कार्यालयले जनाएको छ । चुरे क्षेत्रबाट रातारात ढुंगागिटी उत्खनन अन्यत्र जिल्लाबाट संगठित रूपमा चुरे कब्जा गरी रूख काटेर घर बनाउने र बालीनाली राख्दै आएपछि चुरे संकटमा परेको विज्ञको भनाइ छ । जिल्लाको उत्तरी भेगमा एक दशकदेखि ढुंगा उत्खनन गरेर बाढीको जोखिम बढाउने काम भइरहेकोमा चौतर्फी विरोधपछि वन कार्यालयले रोक लगाएको छ । तर पछिल्लो समय रातारात ढुंगा तस्करी हुने गरेको स्थानीय भरत आचार्यले बताए ।

प्रकाशित : वैशाख ३, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?