१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

‘भ्यागुता भेटिए छोरा, घुँघी भेटिए छोरी’

नि:सन्तान महिलाले राजा हरिदेवसिंहको पूजा र भाकल गर्दै पोखरीमा डुबुल्की मार्दा जीवितै जीव भेटिए सन्तानप्राप्ति हुने विश्वास
भरत जर्घामगर

सिरहा — भारत लदनीयाकी रितु साहले तीन वर्षअघि पाताल पोखरीमा डुबुल्की मार्दा जिउँदो ‘भ्यागुतो’ पक्रिइन् । उनी निकै खुसी भइन् । कारण थियो– सन्तानप्राप्ति प्रतिको विश्वास । यो पोखरीमा नि:सन्तान महिलाले राजा हरिदेवसिंहको पूजा र भाकल गर्दै डुबुल्की मार्दा जीवितै जीव भेटिए सन्तानप्राप्ति हुने विश्वास छ ।

‘भ्यागुता भेटिए छोरा, घुँघी भेटिए छोरी’

‘विवाह भएको १० वर्ष बितिसक्दा पनि सन्तान नभएपछि भाकल गरी पोखरीमा डुबुल्की मार्दा जीव भेटियो,’ तीन वर्ष अघिको कुरा सुनाउँदै उनले भनिन्, ‘५ महिनाअघि छोरा सन्जयको जन्म भयो, भाकल गरेअनुरूप यसवर्ष बोका बली दिएकी छु ।’


भारतको दरभंगालगायत विभिन्न स्थानमा गएर चिकित्सकीय जाँच गराउँदा पनि सन्तान नभएपछि अन्तिममा दैवीय शक्तिको सहारा लिएको उनले सुनाइन् । सिरहा भवानीपुरकी रेणु महराले दुई वर्षअघि सोही पोखरीमा डुबुल्की मार्दा ‘घुँघी’ (एक प्रकारको शंखेकीरा) फेला पारिन् । उनको पनि विवाह भएको चार वर्ष बित्दा पनि सन्तान भएको थिएन । भाकलपछि जन्मिएकी दुई वर्षको छोरी अन्जलीलाई साथैमा ल्याई उनले यस वर्ष पाठी बली दिइन् । हरेक वर्ष वैशाख २ गतेमात्र पूजा हुने पाताल पोखरी किनारमा राजा हरिदेवसिंहको मन्दिर छ । वैशाख २ गते मात्र कर्णाटवंशी राजा हरिदेवसिंह प्रकट हुने र सोही दिन भाकल गरी पोखरीमा डुबुल्की मार्दा जीवित जीव भेटिए सन्तान प्राप्ति हुने गरेको सुनाउँछन् पुजारी फुलधरसिंह ।


‘पोखरीमा डुबल्की मार्दै वारपार गर्दा भ्यागुतो, सर्प, माछा फेला परे ‘छोरा’ प्राप्ति हुन्छ,’ उनले भने, ‘घुँघी, सितुवा लगायतका जीव फेला परे अधिकांशलाई ‘छोरी’ सन्तान प्राप्ति हुन्छ ।’ उनका अनुसार पोखरीमा डुबुल्की मार्दै पार गरिसकेपछि ५ सय मिटर पर गएर भिजेको कपडा फुकाली त्यहीं छाडेर भेटिएको जीव लिएर घर लैजानुपर्दछ । सन्तान प्राप्ति नभएसम्म भेटिएको जीवका बारेमा दम्पतीबाहेक कसैलाई जानकारी दिनु हुँदैन । पौराणिक कालदेखि नै यहाँ हरेक वर्ष वैशाख २ गते भाकल गर्न र बली चढाउन धर्मावलम्बीहरू आउनुगरेको उनले सुनाए । पुजारीका अनुसार पोखरीमा महिलाहरूले मात्र डुबुल्की मार्नुपर्छ ।


विवाह भएको ९ वर्ष वितिसक्दा पनि बालबच्चा नभएपछि सुनसरी दुहबीकी ललिता चौधरीले बाबा हरिदेवसिंहको मन्दिरमा पूजा गरी पोखरीमा डुबुल्की मारिन् । ७ वर्ष वितिसक्दा पनि बालबच्चा नभएपछि धनुषा बेंगाकी प्रमिला यादवले बाबा हरिदेवसिंहको मन्दिरमा पूजा गरी पोखरीमा डुबुल्की मारिन् ।


‘औषधि उपचारबाट थकित भएपछि सन्तानप्राप्ति हुन्छ भन्ने सुनेर यहाँ भाकल गरेकी छु,’ ललिताले सुनाइन्, ‘दैवीय सहारामा छु, सन्तान प्राप्ति होला भन्ने आशा छ ।’ सिरहाको व्यापारिक केन्द्र लहानबाट १८ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित पाताल पोखरीमा भाकल गर्न र मेला भर्न सुनसरी, सिरहा, उदयपुर, धनुषा, महोतरी, काठमाडौंलगायत भारतको विहारबाट समेत सर्वसाधारण आउँछन् । स्थानीयले ऐतिहासिक शक्तिपीठमा वर्षको एक दिन मेला र बली चढ्दै आए पनि सन्तान प्राप्तिका बारे खोज अनुसन्धान गर्नुपर्ने बताए । सामुदायिक विकास मञ्चका अध्यक्ष बिनोद चौधरीले भने, ‘सन्तानप्राप्ति हुने जनविश्वास चिकित्सा शास्त्रका लागि चुनौती हो, सन्तानप्राप्ति भइरहेको छ, त्यहीअनुरूप बली चढाइन्छ, अझ थप अनुसन्धान आवश्यक छ ।’

प्रकाशित : वैशाख ३, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?