मुद्दा मेलमिलापमा प्रहरी सक्रिय

कान्तिपुर संवाददाता

तोपा (सप्तरी) — तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका रामविलास मण्डल र रामपुकार मण्डल वंशका दाजुभाइ हुन् । गालीगलौजबाट सुरु भएको यी दाजुभाइको पारिवारिक झगडा कुटपिटसम्म पुग्यो । दुवै प्रहरीमा गए । रामपुकार थुनिएपछि आपसी सहमतिमा आन्तरिक समस्या समाधान गर्ने निर्णयमा पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरी परिसरमा विवाद समाधानका लागि छलफलमा जुटेका स्थानीय । तस्बिर : अवधेशकुमार

रामपुकार र रामबिलासकै घरछेउका रामनाथ मण्डल र जोगी मण्डलबीच पनि एक साताअघि गालीगलौजको विषय झगडामा परिणत भयो । एकअर्कालाई कुटाकुट नै गरे । रामनाथ अस्पताल भर्ना भएका छन् । जोगी मण्डल उनको उपचारमा सक्रिय छन् । उनीहरू आपसमा मिल्नकै लागि पञ्चायतीको समय पर्खंदैछन् । यी दुई झगडा उदाहरण मात्र हुन् । बिहान १० देखि साँझ ५ बजेसम्म जिल्ला प्रहरी कार्यालय सप्तरी परिसरमा झगडियाको भीड नै लाग्ने गरेको छ ।

प्रहरी परिसरमा विभिन्न गाउँबाट आउने समूह समूहको झगडा मिलाउने छलफल हुने गरेको छ । घर परिवार, छिमेकीबीच झगडा, जग्गा विवाद, अंश, लेनदेन, साँध सिमाना किचलो, कुटपिट, महिला तथा घरेलु हिंसा लगायत थुप्रै विषयमा छलफल गरी समाधान गर्ने उद्देश्यले पञ्चायती गर्ने समूहले प्रहरी परिसर भरिने गरेको हो । जिल्ला प्रहरीमा मात्र होइन, अन्य प्रहरी इकाईमा समेत झगडाको पञ्चायती गर्नेको निकै भीड लाग्ने गरेको छ । झगडिया पक्ष, स्थानीय पञ्च नेतृत्वकर्ता र प्रहरीको रोहबरमा एउटै विवाद मिलाउन कठिन हुँदा २ देखि ४ दिनसम्म प्रहरी कार्यालयमा झुम्मिने गर्छन् । ‘सामान्य प्रकृतिका विवाद आपसी सहमतिमै टुंग्याउँदा सामाजिक सद्भाव जोगिने भएकाले दुवै पक्षबीच छलफल गरेर विवाद निरुपण गर्ने उद्देश्यले स्थानीयकै आग्रहमा प्रहरीको रोहबरमा बस्ने गरिएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘हाम्रो कार्यक्षेत्र नभए पनि शान्ति सुरक्षाका लागि रोहवरमा बस्छौं ।’

Yamaha

प्रहरी कार्यालय जग्गा, अंश, झगडा, कुटपिट मुद्दाको टुङ्गो लगाउने निकाय नभए पनि शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशनमा रही प्रहरीले छलफलबाट समाधान गर्ने प्रयास गर्ने एसपी सिंहले जनाए । ‘गाउँमा झगडा हुने बित्तिकै सर्वसाधारण सुरक्षा माग्दै प्रशासन कार्यालय पुग्छन्,’ सिंहले भने, ‘जिल्ला प्रशासनले निवेदन सहित प्रहरीमा पठाएपछि प्रहरी कार्यालयमा छलफल गर्न आउनेको घुइँचो लाग्ने गरेको छ ।’

सप्तरीमा जग्गा, लेनदेन, गालीबेइज्जती लगायत घरेलु तथा महिलाहिंसाका मुद्दा अत्यधिक आउने गरेका छन् । जिल्लाका हरेक प्रहरी एकाइमा दैनिक ५० भन्दा बढी उजुरी दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय तहमा जनप्रतिनिधि पदस्थापन भएपछि पनि प्रहरी कार्यालयमा मुद्दाको चाप घटेको छैन । ‘गाउँका विवाद प्रहरीमा आउने क्रम घटेको छैन, झन बढदैछ,’ सिंहले भने, ‘सानातिना विवाद स्थानीय तहबाट जनप्रतिनिधिले नै मिलाउनुपर्ने हो । प्रहरीको मुख्य कार्य शान्ति सुरक्षा हो । त्यसो भएमा प्रहरीले अपराध नियन्त्रणमा ध्यान केन्द्रित गर्न सहज हुन्छ ।’

तिलाठीकोइलाडी गाउँपालिका–८ स्थित सत्यनारायण यादवले गाउँमा पञ्चायती गर्दा समेत मिल्न नसकेका घटना प्रहरीमा जाने गरेको बताए । गाउँमाभन्दा प्रहरी कार्यालयमा छलफल गरेर मिलाउँदा विश्वास बढी हुने भएकाले मुद्दाहरू प्रहरी कार्यालयमै पुग्ने गरेको सत्यनारायण यादवले बताए । सामान्य विषयको मुद्दासमेत आउँदा प्रहरीको अपराध नियन्त्रण लगायत अन्य कार्य प्रभावित हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, दुर्घटना नियन्त्रण, खुला सिमानाका कारण सीमा क्षेत्रमा हुने अपराध, तस्करी नियन्त्रण र आपराधिक क्रियाकलाप नियन्त्रणमा खटिएका प्रहरीलाई मुद्दा मिलाउन खड्नुपर्दा समस्या हुने गरेको छ,’ एसपी सिंहले भने, ‘सामान्य झगडा गाउँमै मिलाउन सके प्रहरीको ध्यान अपराध अनुसन्धानतर्फ केन्द्रित हुन सक्थ्यो ।’

अदालतमा जाँदा बढी समय लाग्ने र खर्च समेत धेरै हुने भएकाले प्रहरीमा आएर आरोपीलाई बोलाएर छिटो छलफल गरी विवाद मिलाउने गरिएकाले प्रहरी कार्यालयमा पञ्चायतीको आकर्षण बढेको हो । प्रहरी कार्यालयमा गरिएका सहमति कार्यान्वयन नगरे प्रहरीले कानुनी कारबाही गर्ने भएकाले छलफलबाटै मिल्ने गरेका छन् । स्थानीय तहमा गाउँपालिका उपाध्यक्ष र नगर उपप्रमुखको नेतृत्वमा न्यायिक समिति हुने गरेको भए पनि क्रियाशील छैनन् ।

Esewa Pasal

प्रकाशित : वैशाख ४, २०७५ ०९:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पशुपति क्षेत्र पुनर्निर्माण हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका दुई दर्जन बढी संरचना पुनर्निर्माण भइरहेका छन् । भूकम्पले क्षति पुगेका सम्पदाको भग्नावशेष हटाउने, मर्मतसम्भार गर्ने, पुरातात्त्विक उत्खनन् गर्ने काम भइरहेको कार्यकारी निर्देशक रमेश उप्रेतीले बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आएको बजेटले पुनर्निर्माण भइरहेको छ ।

आर्थिक वर्ष ०७३/०७४ बाट सुरु भएको पुनर्निर्माणअन्तर्गत हाल २७ पूर्वाधारका निर्माण कार्य भइरहेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत गत वर्ष २५ करोड प्राप्त भएकोमा ३ करोड रुपैयाँ खर्च भएको छ । चालू आवमा २० करोड ७५ लाख थप विनियोजन भएको छ । मन्त्रालयबाट चालू आवका लागि करिब साढे ४४ करोड प्राप्त भएको छ ।

कोषका अनुसार भूकम्पमा परेर ५० भन्दा बढी सत्तल, पाटीपौवा, मन्दिरलगायत संरचना ध्वस्त बनेका थिए । हालसम्म लालगणेश मन्दिर र भट्टनिवासको पुनर्निर्माण भएको छ । स्मारक भत्काउँदाका जोखिमपूर्ण संरचना हटाउने कार्य भइसकेको छ । अन्य पूर्वाधार बहुवर्षीय कार्यक्रमअन्तर्गत क्रमश: सम्पन्न गर्दै जाने कोषले जनाएको छ ।

पूर्वाधार ५ वर्षभित्रमा पुनर्निर्माण गर्नुपर्ने सरकारले घोषणा गरेको छ । गुहयेश्वरी मन्दिर प्रांगण र धर्मशाला, भुवनेश्वरीदेखि दक्षिण ढोकासम्म ढल, बाटो निर्माण, इँटापाखामा प्रस्तर फलक छाप्ने, वनकालीमा उद्यान विकास र भष्मेश्वर सत्तल जीर्णोद्वार भइरहेका छन् । पशुपतिनाथको भान्सा पुनर्निर्माण, भण्डारखाल बगैंचाको घेरा पर्खाल पुनर्निर्माण कार्य भइरहेका छन् ।

प्रकाशित : वैशाख ४, २०७५ ०९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT