कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अतिक्रमणमा सुडीकुटी पोखरी

शाहीमान राई

जनकपुर — सिद्ध जानकी मन्दिरदेखि पूर्व जिरोमाइलतर्फ जाँदा सडक छेउमा एउटा आकर्षक पोखरी छ । सडक छेउबाट पोखरीको केही भाग पुरिएको छ ।पूर्वोत्तरमा पोखरी मिचेरै एक तले पक्की घर बनाइएको छ । सुडीकुटी पोखरीको छेउमा घर बनाउने स्थानीय लक्ष्मण साह हुन् ।

अतिक्रमणमा सुडीकुटी पोखरी

पोखरी वरिपरि फोहोरको डङ्गुर छ ।

जनकपुरमा गुठी, कुटी, मठ–मन्दिर, तलाउ–पोखरीलगायत सार्वजनिक जग्गा अतिक्रमण गरी घर, टहरा, सरकारी तथा गैरसरकारी संघसंस्थाका भवन निर्माण गरिएका छन् । तर जनकपुर उपमहानगरपालिका–७ जानकीनगरस्थित सुडीकुटी पोखरीमा भइरहेको अतिक्रमणलाई भने स्थानीय निकाय वडा, उपमहानगरपालिकादेखि उच्च न्यायालय समेतले चासो देखाएका छन् ।श्रीरामजानकी सुडीकुटी सञ्चालक समितिले सवारी पार्किङस्थल बनाउन पोखरी नै पुर्न लागेको थियो ।

सबैको आँखा पर्ने सुडीकुटी पोखरीमा घर बनाउन लागेको र माटोले पुर्नै लागेको देखेपछि जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले तत्काल काम रोक्न लगाए । ‘सार्वजनिक पोखरी व्यक्तिको नाममा हुँदैन, यहाँ धेरै मठमन्दिर, पोखरी, गुठी, कुटीको जग्गा मासेर धेरैले यस्तै किसिमले अनधिकृत घर बनाएका छन्,’ वडाध्यक्ष साहले भने, ‘जनप्रतिनिधिको हैसियतले सार्वजनिक जग्गाको संरक्षण गर्नु कर्तव्य हो ।’ सुडी जातिको धार्मिकस्थल श्रीरामजानकी सुडी कुटीनजिकैको पोखरी वर्षौंदेखि अस्तित्वमा रहेको सञ्चालक समितिका अध्यक्ष रतनकुमार पूर्वेले बताए ।

उनका अनुसार करिब साढे ४ कठ्ठा क्षेत्रफलमा रहेको पोखरी सुडीकुटी मन्दिरकै नाममा छ । पोखरीमा घर निर्माण गर्दै आएका लक्ष्मणले पनि आफ्नो नाममा लालपुर्जा भएको दाबी गरे । उनले छिमेकी जीवछ चौधरीबाट जग्गा किनेको दाबी गरेका छन् । उनले लालपुर्जा अनुसार उपमहानगरपालिकाबाट नक्सा पास गरेरै घर निर्माण गरेको बताए ।

तर, लक्ष्मणले घर बनाउन नक्सा पास गर्दा मुख्य सरोकारवाला सुडीकुटी मन्दिर सञ्चालक समितिलाई जानकारी नदिई उपमहानगरपालिकाका कर्मचारीसित मिलेमतोमा नक्सा पास गरेको अध्यक्ष पूर्वेले बताए ।सुडीकुटी मन्दिरसित चारवटा अन्य कुटीसहित १ बिघा १० कठ्ठा १९ धुर जमिनमा एक पोखरी, मन्दिर, टहरा र खुला चौर छ । सुडीकुटी मन्दिरको सहायकका रूपमा १४ कठ्ठा क्षेत्रफलमा बनेको लत्रही कुटी, ९ धुरमा बनेको बक्ली कुटी, ९ धुरको सानो कुटी र मंगलापुरा चोकमा मंगलाम धोनी कुटी ४ कठ्ठामा बनेको मन्दिर छ ।

सुडीकुटी मन्दिर सञ्चालक समितिले आफ्नो नाममा जग्गा दर्ता भएपछि बर्सेनि मालपोत कर तिर्दै आएको अध्यक्ष पूर्वेले बताए । तर नक्सा र डिजाइनबिना विवाह मण्डप निर्माण गर्न लागेको भन्दै उपमहानगरपालिका र वडा कार्यालयले निर्माण रोक्का गरेपछि उनी आक्रोसित छन् । विवाह मण्डपका लागि सवारी पार्किङस्थल बनाउन पोखरीमा माटो भर्न लाग्दा उपमहानगरपालिकाले पोखरीको सौन्दर्यकरणका लागि रकम विनियोजन भइसकेकाले मास्न नहुने भन्दै निर्माण बन्द गराएको छ ।


पूर्वेले गत वर्ष सञ्चालक समितिको निर्णयअनुसार पोखरी मासेर ठूलो व्यापारिक भवन निर्माण गर्ने सोचले माटोले पुर्दा वडाध्यक्षले काममा रोक लगाएको आरोप लगाए । पोखरीमा घर बनाउँदै आएका लक्ष्मणलाई जग्गा बिक्री गर्ने व्यक्तिहरू वरिपरिका बासिन्दा छन् । मन्दिरको दक्षिणतर्फ समितिले चन्दा मागेर १ करोड ५० लाख रुपैयाँ लगानीमा विवाह मण्डप निर्माण गरिरहेको छ । मण्डप पूरा गर्न थप ३ करोड रुपैयाँ खर्च हुने अध्यक्ष पूर्वेले बताए ।

‘वषौंदेखि महन्तको अधिनमा रहेको सुडीकुटी मन्दिरको जग्गा २०२७ सालमा नापी हुनुअघि व्यक्तिलाई बिक्री गरेको देखिन्छ,’ अध्यक्ष पूर्वेले भने, ‘त्यति बेला नै महन्तको हातबाट स्थानीय टाठाबाठाले अतिक्रमण गरी आफ्नो नाममा पारे ।’उनले कुटी मन्दिर र जग्गाजमिन लथालिङ्ग बनेपछि २०५४ सालमा श्रीरामजानकी सुडीकुटी मन्दिर सञ्चालक समिति दर्ता गरेर २०५६ सालमा समितिको नाममा जग्गा रजिष्ट्रेसन पास भएको बताए ।

प्रकाशित : वैशाख ८, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?