चारकोसे झाडीमा माहुरी

रवीन्द्र उप्रेती

महोत्तरी — सन्त ऋतुको आगमनसँगै बर्दिवास आसपासका चारकोसे झाडीमा विभिन्न प्रजातिका मनै लोभ्याउने फूल देखिन्छन् । फूलको रसमा लोभिएका माहुरीले जंगलै ढाकिएको छ ।पूर्वपश्चि राजमार्ग दक्षिणको तारेचौरी, बर्दिवास, रामनगर र लेवर हाउसका जंगलभरि राखिएका माहुरीका गोलाले चारकोसे झाडीमा आकर्षण थपेको छ ।

चारकोसे झाडीमा माहुरी

माहुरीका गोला चितवनको खैरेनीबाट ल्याइएको हो । माहुरी मह संकलनमा अव्वल मानिएका मेलिफोरा जातिका हुन् । महोत्तरीका वन क्षेत्रमा मह संकलनका लागि विविध प्रजातिका पर्याप्त प्राकृतिक फूल फुलेकाले चितवनबाट १० जना मौरीपालक कृषकले करिब साढे ६ सय घार ल्याएका छन् ।

रस संकलन गरिरहेका मौरीको रेखदेखमा कृषकसमेत १८ जना जुटेका छन् । उनीहरूले फागुन पहिलो सातातिर महोत्तरीका जंगलमा माहुरी ल्याएका थिए । सबै गोलाबाट २८ लाख मूल्य बराबरको झण्डै ७० क्विन्टल मह संकलनको लक्ष्य रहेको जनक विसुरालले बताए । दोस्रो लटमा गरी करिब ४५ क्विन्टल मह उत्पादन भइसकेको उनले जनाए । उनीहरूले प्रति केजी महको मूल्य ४ सय रुपैयाँ तोकेका छन् ।४५ क्विन्टल मह ठूलो परिमाण लागे पनि यति उत्पादनले उनीहरू उत्साहित देखिँदैनन् । यस अवधिमा उनीहरूले ५० क्विन्टल मह उत्पादन गर्ने लक्ष्य लिएका थिए । तर मौसम अनुकूल भएन । यहाँको वन क्षेत्रमा लाग्ने डढेलोले महसंकलनमा सबैभन्दा बढी समस्या थपेको रामनगरको जंगलमा माहुरी चराउन बसेका कविचन्द्र रिमालले बताए । डढेलोले फूलमा पानीको मात्रा सुकाउने हुँदा लक्ष्यबमोजिम मह संकलन हुन नसकेको रिमालले बताए ।

‘यतिको मह हाम्रा लागि उत्साहजनक होइन तर यो निरासाजनक पनि छैन,’ विसुरालीले भने, ‘खर्च काटेर प्रतिकिसान २ लाखजति वचत होला । मौसम अनुकूल भए आम्दानी बढ्छ ।’ महोत्तरीको जंगलमा चैत लागेपछि भिक्स (युक्लिप्टस), रुदिलो, जामुनो, क्यामुनो, वाँझी, साखु, गुम्वा, सिसौजस्ता अनेकन जंगली वनसपतिमा फूल फुल्दा माहुरी कृषक आकर्षित भएका हुन । विसुरालका साथी विष्णु भुषालकाअनुसार यहाँबाट उत्पादित मह ‘अग्र्यानिक’ र औषधिय गुण भएकाले उच्चकोटीको मानिएको छ । त्यसैले ग्राहकको कमी छैन ।

२१ वर्षदेखि मौरी पालन गर्दै आएको बताउने बमबहादुर विसुरालका अनुसार महोत्तरीमा उनीहरू सबैभन्दा पहिले ०६४ सालमा गौशाला नगरपालिकाको तारेचौरीमा माहुरीको घार लिएर पुगेका थिए । तारेचौरीका स्थानीयले सहयोग गरे । मौसमले पनि साथ दियो । तर त्यसपछिका वर्षमा राजनीतिक अस्थिरता र मधेस आन्दोलनले गर्दा गत वर्षदेखि मात्र यता आउने अवसर जुरेको विसुरालीले जनाए । तारेचौरीका स्थानीयकाअनुसार चितवनका मौरिपालकले यहाँ आएर मह मात्र संकलन गरेका छैनन् ।

प्रकाशित : वैशाख ८, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?