कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैनिक करोडौं 'घाटा'

जनकपुर पुनर्निर्माण
व्यापार शून्य भएका बेला निर्माण अवधिको घरभाडा तिर्नुपर्ने वा एकमुष्ट पेस्की दिनुपर्ने अवस्था आइपर्दा व्यापारी मारमा
शाहीमान राई

जनकपुर — ऐतिहासिक तथा पुरातात्त्विक सहर जनकपुरको पुनर्निर्माण तथा सडक विस्तारका क्रममा व्यापारिक घरहरू भत्किएपछि दैनिक करोडौं रुपैयाँ बराबरको घाटा भइरहेको छ ।

दैनिक करोडौं 'घाटा'

धनुषा उद्योग वाणिज्य संघका अनुसार सडक विस्तारका क्रममा मुख्य बजारका घरहरू भत्काइएपछि व्यापार चौपट भएको हो ।

‘सबैतिर एकसाथ घरहरू भत्काउँदा व्यापार चौपट भएको छ,’ धनुषा उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहले भने, ‘यसरी चारैतिर एकसाथ घरहरू तोडफोड गर्दा व्यापारमा नकारात्मक प्रभाव परेको छ, दैनिक करोडौं रुपैयाँ क्षति भइरहेको छ ।’


जनकपुर उपमहानगरपालिका कार्यालयले परिक्रमा सडक हुँदै भानुचोक, शिवचोक, जनकचोक, मुरली चोक, तिरहुतियागाछी–महावीर चोक हुँदै जानकीमन्दिर–जनकचोक लगायत आसपासको दायाँबायाँ सडक भत्काउन थालेको छ । अधिकांश व्यापारी तथा घरधनीले आफंै घर भत्काउन लागेका छन् भने उपमहानगरपालिकाको निर्देशन अवज्ञा गर्नेको घर डोजर लगाएर भत्काइएको छ ।

सडक विस्तारका लागि घरहरू भत्काउन थालेपछि जनकपुरको मुख्य बजारमा सवारी आवागमन बन्द भएको छ । भत्किएका घरका इँटा, फलामका टुक्रा सडकभरि जताततै थुप्रिएकाले पैदल यात्रीलाई समेत असहज भएको छ । जनकपुर उपमहानगरपालिका सहरी विकास आयोजनाले सडक विस्तारको क्रममा सडकमा परेका दुई हजार घरमध्ये १ हजार २ सय घर भत्काउनुपर्ने जनाएको छ ।

त्यसमध्ये करिब ५ सय घर भत्काइसकेको जनकपुर उपमहानगरपालिकाको योजना प्रमुख तथा इन्जिनियर वीरेन्द्रकुमार यादवले बताए । उपमहानगरपालिकाले सडक विस्तारका लागि विस्तृत सर्वेक्षण गरे पनि सडकमा परेका घरहरूको विवरण भने संकलन गरी सकेको छैन । सडक विस्तारका क्रममा घर भत्किाएपछि हरेक व्यापारीको दैनिक न्यूनतम ५ हजारदेखि १२ हजार रुपैयाँ बराबर घाटा व्यहोर्नु परेको जनकचोकका व्यापारी मोहम्मद नोसाद खानले बताए । उनका अनुसार ठूला व्यापारी दैनिक २ लाखदेखि ३ लाख रुपैयाँसम्म क्षति व्यहोर्न बाध्य छन् ।

यस हिसाबले साना व्यापारीले मासिक ३ लाख रुपैयाँ र ठूला व्यापारीले १ करोड रुपैयाँसम्म घाटा व्यहोर्नुपर्ने अवस्था रहेको उद्योग वाणिज्य संघका कोषाध्यक्ष ज्ञानेन्द्र चौधरीले बताए । जनकपुरका घरहरू भत्काउन र पुननिर्माण गर्न कम्तीमा ६ महिनादेखि एक वर्षसम्म लाग्ने भएकोले व्यापारीले त्यतिन्जेल अर्बौंको घाटा व्यहोर्नुपर्ने अवस्था छ ।

उद्योग वाणिज्य संघका अनुसार हरेक मध्यम व्यापारीले मासिक ३ लाखका दरले ६ महिनामा ३६ लाख र ठूला व्यापारीले मासिक १ करोडका दरले ६ महिनामा करिब ६ करोड घाटा व्यहोर्नुपर्छ । यसरी सडक विस्तारको क्रममा व्यापारीले २ सय अर्बभन्दा बढी कारोबारमा घाटा व्यहोर्नुपर्ने अवस्था रहेको उद्योग वाणिज्य संघले जनाएको छ ।

घर पुनर्निर्माणका लागि व्यापारीसँग घरधनिले ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म एकमुष्ठ पेस्की माग्ने गरेको उनले बताए । पेस्की नभए पुनर्निर्माण अवधिको पनि मासिक भाडा दिनुपर्ने घरधनीले दाबी गरेको उनले बताए ।

घरधनीलाई पनि घर भत्काउन र पुनर्निर्माणका लागि ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था रहेकाले ठूलै नोक्सानी व्यहोर्नु परेको उद्योग वाणिज्य संघले जनाएको छ । ‘एकातिर व्यापार शून्य छ, अर्कोतिर निर्माण अवधिको घरभाडा तिर्नुपर्ने र एकमुष्ठ पेस्की घरधनीलाई दिनुपर्ने अवस्था आइपर्दा व्यापारी ठूलो मारमा परेका छन्,’ उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहले भने ।

घर भत्काउनका लागि हरेक घरधनिले कम्तीमा २ लाखदेखि ५ लाख रुपैयाँसम्म ठेक्का दिएका छन् । पुनर्निर्माणका लागि हरेक व्यक्तिले १० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेकाले आर्थिक भार निकै परेको छ । यस हिसाबले १२ सय घर भत्काउन मात्रै कम्तीमा ५० करोड खर्च हुने अनुमान गरिएको छ । भत्काएका घर पुनर्निर्माण गर्न २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लाग्ने उद्योग वाणिज्य संघ धनुषाले जनाएको छ ।

रोजगारीको अवसर
सडक विस्तारका क्रममा घर भत्काउने र पुनर्निर्माणमा श्रमिक मजदुरका लागि रोजगारीको अवसर सिर्जना भएको छ । सर्लाही, महोतरी, सिन्धुली, सिराहा, झापा, मोरङ, खोटाङ लगायत धनुषाकै विभिन्न गाउँबाट आएका मजदुरले काम पाएका छन् । खोटाङको बुइपाबाट आएका गणेश घिमिरेले तीन महिनादेख घर भत्काउने र पुननिर्माणका लागि मिस्त्री काम गर्दै आएका छन् ।

उनले दैनिक ८ सयदेखि एक हजार रुपैयाँ पारिश्रमिक पाउने गरेको बताए । धनुषाको औरही गाउँपालिका–१ पुरन्दहिया पौडेश्वरका सुरेन्द्र सदाले दैनिक ५ सय रुपैयाँ पाउने गरी काम गर्दै आएका छन् । उनीहरू जस्तै १२ हजार जनाभन्दा बढी दक्ष तथा अदक्ष मजदुरले रोजगारी पाएको जनकपुरका उद्यमी विजयकुमार झुनझुनवालाले बताए ।

शताब्दीपछिको अवसर
जताततै फोहरमैला, धुलो, धुँवा, साँघुरो र धुलाम्मे सडक, ढल, कल्भर्ट नहँुदा अव्यस्थित रूपमा रहेको प्रदेश नं २ को राजधानी सहर शताब्दीपछि पुनर्निर्माणमा जुटेको छ । जनकपुरबासीले यसलाई ठूलो अवसरका रूपमा लिएका छन् । ‘सय वर्षपछि पुनर्निर्माण हुन लागेको छ । व्यापारमा ठूलो घाटा व्यहोरे पनि हामी सहनशील छौं,’ व्यापरीले भने ।

उनीहरू आफ्नो घर र पसल भत्किँदा कुनै गुनासो गरेका छैनन् । उनीहरूले घर भत्काएबापत न त मुआब्जा मागेका छन्, न त अवरोध नै पुर्‍याएका छन् । अव्यवस्थित र लथालिङ्ग सहरको परिचय बन्दै गरेको प्रशिद्ध धार्मिक सहर जनकपुरलाई सुन्दर बनाउन पूर्वाधार निर्माणलाई आशाको रूपमा लिएको उद्यमी विजयकुमार झुनझुनवालाले बताए ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा जनकपुर उपमहानगरपालिका अन्तर्गत एकीकृत सहरी विकास आयोजना र नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभागले राजधानी जनकपुरको मुख्य सहर बजारभित्र निर्माण तीव्र पारेको हो ।

विगतमा ढल, कल्भर्ट बिनाका साँघुरा सडक, फोहरमैला व्यवस्थापन समस्या, अव्यवस्थित सहरीकरण, बजार, बस्ती, पसल, खानेपानी, ढल निकास लगायत समस्यै समस्यामा झेलिएको प्रशिद्ध धार्मिक सहरको स्वरूप परिवर्तनका लागि उपमहानगरपालिकाले बृहद एकीकृत गुरुयोजना तयार गरी पूर्वाधार निर्माणमा तीव्रता लिएको जनकपुर उपमहानगरपलिकाका योजना शाखा प्रमुख वरिष्ठ इन्जिनियर वीरेन्द्रकुमार यादवले बताए ।

‘विगतमा गुरुयोजना नै थिएन, नगरपालिका पूरै लथालिङ्ग थियो,’ यादवले भने, ‘अब गुरूयोजना तयार भयो, कामलाई तीव्रता दिएका छौं ।’एसियाली विकास बैंक (एडीबी) को १ अर्ब ९० करोड (१९.४४ मिलियन डलर) रुपैयाँ लगानीमा जनकपुर उपमहानगरपालिका अन्तर्गत एकीकृत सहरी विकास आयोजना सञ्चालित छ । सहरी विकास तथा भवन निर्माण विभागले जनकपुरको राजमार्गदेखि पूर्व क्षेत्रमा सडक विस्तार र ढल निर्माणका लागि ८३ करोड रुपैयाँ लगानी गरेको विभागमा डिभिजन इन्जिनियर गंगाप्रसाद यादवले बताए ।

आयोजनाका अनुसार ९८ करोड ९८ लाख रुपैयाँ लगानीमा ३१ किलोमिटर सडक विस्तार, ग्राभेल कालोपत्रे, ढल, नाली, कल्भर्ट निर्माण भइरहेको छ । जनकपुर उपमहानगरपालिका सहरी विकास आयोजनाले थप ९ दशमलव दुई किलोमिटर सडक निर्माणका लागि टेण्डर भइसकेको जनाएको छ । त्यसपछि सानाठूला खोला खोल्सीको पानी एक ठाउँ व्यावस्थित गरी आउटलेट निकास पठाउने ५ वटा आयोजना छन् ।

त्यसमध्ये चार वटालाई जलाध खोलामा र एउटा आउटलेटलाई दूधमती खोलामा मिसाइने छ । आयोजनाले फोहोर मैला र ल्यान्डफिल्ड साइड समेत व्यवस्थापन गर्ने जनाएको छ ।

पाँच वर्षअघि सुरु भएको एकीकृत सहरी विकास आयोजना स्थानीयबासीको अवरोध, उपमहानगरपालिकाको कमजोर व्यवस्थापन, सडक अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन र परामर्शदाता नियुक्तिमा निकै समय लागेकाले निर्माणमा ढिलाइ भएको इन्जिनियर यादवले बताए । उनले सरकारी निकायकै रूपमा रहेका नेपाल टेलिकम, विद्युत प्राधिकरण, खानेपानी कार्यालय समेत आयोजना कार्यान्वयनमा बाधकको रूपमा रहेको बताए ।

यी संस्थानले सडकमा जताततै विस्तार गरेको पोल तार स्थानान्तरण गर्न ढिलाइ गरेको र खानेपानीको पाइप, धारा र ट्याङकीहरू व्यवस्थापनमा मुख्य समस्या रहेको यादवले बताए । ‘भानुचोक र मिल्स एरियामा अझै पनि यस्तै समस्या छ,’ इन्जिनियर यादवले भने, ‘विद्युत, टेलिफोन र खानेपानीको लाइन समयमा नसारिदिनाले निर्माणमा बाधा भइरहेको छ ।’

जनकपुर उपमहानगरपालिकाले नगरक्षेत्रमा १६ मिटर चौडाइको सडकमा दायाँ दुई मिटर, बायाँ दुई मिटर मिटर फुटपाथ र १२ मिटर कालोपत्रे, १३ मिटर चौडाइको सडकमा ९ मिटर कालोपत्रे, दायाँबायाँ २/२ मिटर फुटपाट र ९ मिटर मात्र चौडाइको सडकलाई ७ मिटर कालोपत्रे र एक एक मिटर दायाँबायाँ फुटपाट निर्माण गर्न लागेको वरिष्ठ इन्जिनियर वीरेन्द्रकुमार यादवले जनाए । तर सडक विस्तारको क्रममा सडक अतिक्रमण गरी बनाइएका निजी घर, टहरा, सरकारी भवन र सार्वजानिकस्थल मठमन्दिर हटाउन निकै कठिन भएको छ ।

उनले एकीकृत सहर विकास आयोजनाले सडक विस्तारका क्रममा करिब २ हजार निजी, घर टहरा, सरकारी संरचना र सार्वजनिकस्थल भत्काइएको बताए । सडक योजनाअन्तर्गत रेववेस्टेसन श्यामचोकदेखि एयरपोर्ट, जनकचोक, शिवचोक, मुरली चोक, एयरपोर्ट ३ किलोमिटर, राजमार्गपूर्वतर्फ परिक्रमा सडक (रिङरोड) ६ दशमलव ६ किलोमिटर, जानकी मन्दिरदेखि रामानन्द चोकसम्म एक किलोमिटर, शिवचोकदेखि कदमचोक ५ सय मिटर र नाली ३१ मिटर ड्रेन नाली निर्माण भइरहेको इन्जिनियर यादवले बताए ।

उनले सहरी विकास तथा भवन निर्माण विभागले थप २० किलोमिटर सडक विस्तार र कालोपत्रेका लागि टेन्डर आहवान गरिसकेको जनाए ।


प्रकाशित : वैशाख ९, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?