३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दूधमतीको सफाइमा स्थानीय

जनकपुर — हिन्दु धर्मावलम्बीले पवित्र मान्दै आएको जनकपुरको दूधमती नदी सरसफाइ अभियानमा स्थानीयबासी जुटेका छन् । उनीहरू हरेक शनिबार सरसफाइमा सक्रिय हुने गरेका छन् । सफाइ अभियान तीनवर्षदेखि चल्दै आएको छ ।

दूधमतीको सफाइमा स्थानीय

धनुषाको महेन्द्रनगर नगरपालिका–३ सखुवादेखि सुरु भएको दुधमति नदी जनकपुरधाम हुँदै महोत्तरीको मटिहानीसम्म बगेर लोप हुन्छ । यो नदीलाई स्वदेशी तथा विदेशी हिन्दुधर्मावलम्बीले पवित्र मान्दै स्नान गर्ने, देवकार्य, पितृकार्य, गर्ने महत्त्वपूर्णस्थलका रूपमा लिने गरेका छन् ।

त्रेतायुगमा राजा जनककी छोरी सीताले समेत स्नान गरी धार्मिक अनुष्ठान गरेकाले भारत र नेपालको विभिन्न ठाउँका हिन्दुधर्मावलम्बी तथा जनकपुरबासीले पवित्र मान्दै आएको स्थानीय सन्त शैलेन्द्र गिरीले बताए । दुधमति नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने र चिताएको पुग्ने जनविश्वास रहेको छ ।

‘दुधमति नदी स्वच्छ, सफा र पिउनयोग्य पानी थियो, पछिल्लो समय संरक्षण र सरसफाइको कमीले फोहर मैलाले दुषित बन्यो, झारपात उम्रिएर कतिपय मानिसले फोहर मैला फाल्ने गरेका छन्,’ जनकपुर उपमहानगरपािलका–२२ वसविटीका पूर्वप्रधानपञ्च चन्द्र हरिदास वैष्णवले भने, ‘सम्बन्धित निकायले चासो दिएको छैन, हामी स्थानीयबासी मिलेर तीन वर्षदेखि निरन्तर सरसफाइमा जुटेका छौं ।’

जनकपुर उपमहानगरपालिका–२२ वसवितिका बासिन्दा, नेपाली सेना, प्रहरी, स्थानीय वृद्ध, युवा, जनप्रतिनिधि शनिबार बिहान दुधमति नदी सरसफाइमा जुटेका थिए । सरसफाइमा सहभागीमध्ये धनुषा क्षेत्र नं १ को ख का प्रदेश सांसद रामाशिष यादव पनि नदी किनारामा अगुवाइ गरिरहेका थिए ।

उनको साथमा नेपाली सेनाका कनिष्ठ अधिकृत, जवान, नेपाल प्रहरीको टोली र स्थानीयबासीको ठूलो समूह सरसफाइमा जुटेको थियो । ‘स्वच्छ जनकपुर सुन्दर जनकपुर अभियान’ का अगुवा समेत रहेका सांसद यादवले चार वर्षअघि गंगासागरबाट सुरु सरसफाइ अभियानबाट प्रभावित स्थानीयबासीले दुधमति नदी सरसफाइ महाअभियान थालेको बताए ।

नदी सरसफाइका लागि जनकपुर उपमहानगरपालिका–२२ वसविटीका बासिन्दाले ‘दुधमति नदी गरिमा संरक्षण समिति’ नै गठन गरी सरसफाइ अभियान सञ्चालन गर्दै आएका छन् । स्थानीयबासीले हरेक साता नियमित नदीको सरसफाइ गर्दै आएको अर्का युवा महोतरी पिपरा गाउँपालिका–५ रतौलीका हरेराम तिवारीले बताए ।

धनुषाको सखुवा महेन्द्रनगरदेखि महोतरीको मटिहानीसम्म ४६ किलोमिटर लम्बाइको दुधमति नदी मिथिलाञ्चलको सबैभन्दा पुरानो नदी हो । तर नदीको मुहान बन्द गरी एभरेष्ट पेपरमिल लगायत अन्य उद्योगलाई ठेक्का दिइएको र जसबाट धेरै फोहर नदीमा आउने गरेकाले यसलाई बन्द गरी नदीलाई स्वच्छ र सफा राख्न माग गर्दै आए पनि सरकारले बेवास्ता गरिरहेको संरक्षण समितिका सचिव विमलेस यादवले बताए ।

उनका अनुसार दुधमति नदीको दायाँबायाँ घाट, सडक र धर्मशाला निर्माण गरी पवित्र धार्मिकस्थलका रूपमा संरक्षण गर्नुपर्ने समितिको योजना छ । दुधमति नदी किनारामा स्थानीयबासीले शव दाहसस्कार गर्दै आएका छन् ।

दाहससंस्कारका लागि मसानघाट, साधुसन्त बस्ने, भजन गाउने, पूजाआजा गर्ने मठमन्दीर, धर्मशाला, तपस्यास्थल, पार्किङस्थल, निर्माण गरी वरिपरि वृक्षरोपण गर्नुपर्ने उनीहरूको माग छ । ‘उहिले हामीले दुधमतिको पानी पिउथ्यौं, साधुसन्त, स्थानीयबासी सबैले पिउँथे, अहिले दुषित बन्यो,’ स्थानीय चन्द्र हरिदास वैष्णवले भने, ‘नदीको पानी पहिलेजस्तै सफा राख्नुपर्छ ।’

सरकारको ध्यान जाओस्

– चन्द्र हरिदास वैष्णव

उपमहानगरपालिका–२२ वसविटीको दुधमति नदी पौराणिककालको ऐतिहासिक धार्मिकसस्थल हो । धार्मिकसथलको रूपमा प्रशिद्ध भए पनि कसैले चसो दिएका छैनन् । यसको छुट्टै गरिमा छ । त्यसैले सरसफाइ अभियान सुरु गरेका छौं । तीन वर्षदेखि संरक्षण कार्यले निरन्तरता पाइरहेको छ । सरसफाइको अभियानमा गाउँलेको सकारात्मक विचार रहेको छ ।

यसको गरिमा जोगाइराख्नका लागि स्थानीयबासी जुटेका छन् । यहाँ जानकी नवमीको दिन २४ घण्टा रामनाम किर्तन गर्ने चलन छ । दुधमति माताको आशिर्वाद लिन आउने भक्तजनलाई असुविधा नहोस् भनेर सेवामा लाग्छु । यस वर्ष पनि मंगलबार हुँदैछ । विगतमा नदी खोला किरानाको जग्गा जमिन टाठाबाठाले कब्जा गरी आफ्नो नाममा दर्ता गराए ।

यस्ता नदी, खोला, सार्वजानिकस्थल अतिक्रमण गरेर आयआर्जनको स्रोत बनाएका छन् । सम्बन्धित निकायको ध्यान गएको छैन । दुधमति नदी जनकपुरको पहिचान हो । त्यसैले संरक्षण सरसफाइका लागि सरकारको ध्यानाकर्षण गर्न चाहन्छौं ।

प्रकाशित : वैशाख ९, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?