कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ग्रामीण नाकाबाट मरिच तस्करी

शंकर आचार्य

पर्सा — वीरगन्ज–२ नौकाटोला छपकैंयाबाट बुधबार राति प्रहरीले ३० किलो मरिच बरामद गर्‍यो । भारततर्फ भन्सार छलेर लगिँदै गरेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुग्दा केही व्यक्ति मरिच फालेर भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ग्रामीण नाकाबाट मरिच तस्करी

पर्साको ग्रामीण नाकाबाट अहिले मरिचको तस्करी बढेको छ । वीरगन्ज र आसपासका नाकामा पछिल्लो समय कडाइ गरिएपछि तस्कर गिरोहले पर्सा र बाराको ग्रामीण नाका तस्करीका लागि प्रयोग गर्न थालेका हुन् । तेस्रो मुलुकबाट आयात हुने सुपारी भारत तस्करी भए जस्तै अहिले मरिचको चोरीनिकासी भइरहेको छ ।

नेपालमा कम माग रहे पनि यो मसलाको अप्रत्याशित आयातको क्रम भने दिनदिनै बढदा भारततर्फ भइरहेको तस्करीलाई बल पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह नाका हुँदै तेस्रो मुलुकबाट मरिचको आयात बढेको हो । चालू आवको ९ महिनाको अवधिमा मरिचको आयात झन्डै ११ गुनाले बढेको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

नेपालमा मरिच भियतनाम र ब्राजिलबाट आयात हुन्छ । मरिचको मुख्य आयातकर्ता डाबर नेपाल र चौधरी गु्रप छन । अन्य आयातकर्तामा आधा दर्जनभन्दा बढी ट्रेडिङ कम्पनी छन् । अधिकांश ट्ेरडिङ कम्पनी वीरगन्जकै हुन् । मरिचको आयात गर्दा मूल्यको ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ ।

भन्सार तथ्यांकअनुसार चालु आवको पहिलो ९ महिनामा यो नाकाबाट १ अर्ब ८० करोड ३९ लाख ४६ हजार बराबरको ४३ लाख ८४ हजार १ सय ४९ किलो मरिच आयात भएको छ । जसबाट भन्सारले ३४ करोड ३३ लाख राजस्व संकलन गरेको छ ।

गत आवको यसै अवधिमा ३२ करोड ८० लाख बराबरको ४ लाख १ हजार ४ सय ३ किलो मरिच आयात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा गत वर्षको तुलनामा यस वर्ष मरिचको मूल्य झन्डै आधाले घटेपछि यसको आयात झनै बढन गयो । मरिच उत्पादक मुलुकहरूमा यस वर्ष अत्यधिक मरिच उत्पादन भएकाले ती मुलुकले यसको मूल्य पनि घटाएका छन् । उनीहरूले अझै केही वर्ष उत्पादन वृद्धिसँगै मूल्य घटाउँदै लग्ने नीति अपनाएका छन् ।

भारतले आफ्ना मुलुकका किसानको उत्पादनलाई प्रोत्साहन दिन यस्ता मसलाको तेस्रो मुलुकबाट आयातमा कडाइ गरेको छ । तर खुला सीमाका कारण नेपालबाट भारत तस्करी गरी लग्न सहज भएकाले कारोबारीले नेपालमा आयात गरेर भारतसम्म सुपारी, सुकुमेल, मरिच आदि मसला लग्ने गरेका छन् ।

सुक्खा भन्सार कार्यालयका सूचना अधिकृत धनबहादुर बरूवाल भने चालु आवको पछिल्लो २ महिना यता मरिचको आयात केही घटेको बताउँछन् । भन्सार प्रशासनले गत महिना सन्दर्भ मूल्यअनुसार राजस्व संकलन प्रयास गर्दा झन्डै २ साता आयातकर्ताले मरिच जाँचपास गराएर लगेका थिएनन् । बन्दरगाहस्थित भन्सार कार्यालयले कालो मरिचको मूल्य प्रतिमेट्रिक टन ३ हजार ७ सय डलर मानेर जाँचपास गर्न थालेपछि मात्र मरिचको आयात सहज भएको हो ।

‘आयात कर्ताले भन्सारले निर्धारण गरेको मूल्यभन्दा पनि अन्तर्राष्ट्रिय बजारमा मरिचको मूल्य घटी सकेको दाबी गरी थप घटाउन माग गरिरहेका छन्,’ बरूवालले भने, ‘थोरै मरिच आयातकर्ताले भन्सारले निर्धारण गरेको मूल्यबमोजिमकै राजस्व तिरेर जाँचपास गराउँदैछन् भने धेरै आयातकर्ताले ठूलो राजस्व धरौटीमा राखेर मरिच छुटाएर लग्दै छन्, पछि उनीहरूले भन्सार विभागसँग यस विषयमा मुद्दा लड्नेछन् ।’ यसअघि कालो मरिचको मूल्य भन्सारको सन्दर्भ मूल्यअनुसार ७ हजार डलर प्रतिमेट्रिक टन थियो ।


प्रकाशित : वैशाख ९, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?