दबाउन सकेन इच्छाशक्तिलाई अपांगताले

शंकर आचार्य

मनियारी (पर्सा) — एउटा हातको भरले के के गर्न सकिन्छ ? धेरैको जवाफ आउँछ, ‘जीवन यापन गर्न निक्कै गार्‍हो हुन्छ ।’ अझ कतिपयले त ‘जीवन नै बेकार हुन्छ’ भन्ने सम्मको जवाफ पनि दिन्छन् । तर वीरगन्ज १८ मनियारीका ३५ वर्षीय युवक वकिल सहनीलाई देखेपछि यस्तो जवाफ दिनेहरू आफैं नाजवाफ हुन्छन् ।

दबाउन सकेन इच्छाशक्तिलाई अपांगताले

देब्रे हातको भरले आफ्नो दैनिकी चलाउनु उनका लागि सामान्य कुरो हो । त्यही देब्रे हातले पनि उनले १७ कठ्ठा खेतमा तरकारी र मकै खेती गरेका छन् । एउटै हातले कोदालो चलाउनु, पानी लगाउनु, तरकारी रोप्नु, गोडमेल गर्नु, टिप्नु मात्र नभई कृषि उपजलाई आफैं साइकलमा बोकेर ५ किमि पर वीरगन्ज बजारसम्म लगेर दैनिक बिक्रीसमेत गरेर उनले सक्षम र साङ्ग मानिसलाई पनि चुनौती दिएका छन् ।

१२ वर्षअघि पराल काट्ने मेसिन चलाउँदा असावधानीबस उनको दाहिने हात काटियो । २ वर्ष उनले निराश जीवन बिताए । सुरुमा उनलाई पनि जीवन नै सकिएजस्तो महसुस र निराशाजनक विचार नआएको होइन । तर आफूले नै हार माने आफ्ना ३ छोराछोरीको बिजोग हुने कुरो उनले उतिबेलै बुझे । त्यसपछि देब्रे हातको भरले काम थाले । दृढ इच्छाशक्तिका कारण उनले दुवै हात भएका मानिसहरूभन्दा कठिन शारीरिक परिश्रम पनि गर्न सक्ने भए । ‘सुरुका केही महिना मलाई कृषि कर्म गर्न समस्या नभएको होइन,’ उनले भने, ‘तर निराशा र असक्षमतालाई आफ्नो जीवनबाट कोशौं टाढा भगाउने जमर्को र दृढ इच्छाशक्तिले मलाई जोस, जाँगर र उत्साहपूर्ण जीवन बाँच्ने कला पनि सिकायो ।’अहिले १७ कठ्ठा खेत नै उनको जीवन बनेको छ ।

३ दाजुभाइसँग संगोलमा बसेका उनलाई बुवाआमा, दाजुभाइ, पत्नी र छोराछोरीहरूले पनि उत्तिक्कै सहयोग गरेका छन् । अंग्रेजी विषयका प्राध्यापक उनका दाजु अकबर हवारी भाइ अपांग भएपछि निकै दु:ख लागेको बताउँछन् । ‘२३ वर्षको युवा उमेरमा उसले आफ्नो दाहिने हात गुमाएको थियो,’ अकबर भन्छन्, ‘मलाई सधंै उसले बाँकी जीवन कसरी चलाउला भनेर चिन्ता भइरहन्थ्यो तर २ वर्ष नबित्दै उसले शोकलाई शक्तिमा बदल्ने सिद्धान्त अपनायो, अनि दिनरात नभनी मिहिनेत गर्न थाल्यो ।’ दैनिक झिसमिसेमै उत्साहजनक रूपमा कोदालो बोकेर खेतमा पुग्ने वकिल साँझ परेपछि फुर्तिलो बनेर घर फर्कन्छन् । कहिल्यै नथाक्ने उनी घरमा रातिको खाना खाने र सुत्नेबाहेक उनको दैनिकीको १६/१७ घण्टा माटो र तरकारी बारी खेल्दै अनि स्याहार्दैमा बित्छ । वकिल आफैं पनि शरीरमा ताकत छउन्जेल कृषिकर्म गर्नबाट पछि नहट्ने बताउँछन् । ‘मेरो शरीरमा ताकत रहुन्जेल किसानको जीवन बाँच्छु,’ उनले भने, ‘मलाई अपाङ्ग बनेर, अरूको दया र सहाराको पात्र बनेर बाँच्ने इच्छा छैन ।’

प्रकाशित : वैशाख ११, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?