इन्धनको मूल्य अन्तरले भारततर्फ चोरी पैठारी

‘हाम्रो जिल्लामै धेरै भारतीय नम्बरका सवारी छन्,’ नम्बर हेरेर इन्धन दिने नदिने भन्ने कुरा भएन’
अमन कोइराला

सर्लाही — पेट्रोलिय पदार्थको मूल्य भारतमा भन्दा निकै सस्तो भएपछि सीमावर्ती क्षेत्रबाट अवैध पैठारी बढेको छ । भारतीय सवारी निर्वाध प्रवेश गर्न पाउने भएकाले सीमावर्ती पेट्रोल पम्पमा इन्धन भर्न आउने बाक्लै हुने गर्छन् । त्यसबाहेक भारततर्फ चोरी पैठारी गर्ने गिरोह पनि सक्रिय भएको छ ।

इन्धनको मूल्य अन्तरले भारततर्फ चोरी पैठारी

भारतमा भन्दा नेपालमा पेट्रोल २२ रुपैयाँ ९५ पैसा र डिजेल २६ रुपैयाँ ३८ पैसा सस्तो छ । मूल्यमा फराकिलो अन्तर भएकाले सीमावर्ती क्षेत्रबाट भारतीय सवारी इन्धन भर्न आउने गरेका हुन् । सीमावर्ती सोनबर्षाका व्यवसायी रामविनय प्रसादले नजिकै सस्तोमा तेल पाएपछि सवारीमा भराउन जाने भीड बढेको बताए । ‘भारतमा सस्तो हुँदा नेपाली आउँछन्,’ उनले भने, ‘उता सस्तो हुँदा यताबाट जाने गर्छन् । सीमा क्षेत्रमा बस्नेले बेला बेलामा यस्तो सुविधा पाउँदै आएका छन् ।’ सोनवर्षाबाट दैनिक सयौं सवारी तेल लिन नेपालतर्फ जाने गरेको उनले बताए ।

आयल निगमले भारतको भन्दा सस्तो मूल्य भएपछि सीमावर्ती क्षेत्रमा तेलको खपत बढेकाले अपचलन हुन नदिन नियन्त्रणका लागि स्थानीय प्रशासनलाई अनुरोध गरेको छ । आयल निगमको अमलेखगन्ज कार्यालयले सीमा क्षेत्रको पम्पबाट बिक्री हुने इन्धनमा निगरानी गरिदिनका लागि स्थानीय प्रशासनलाई अनुरोध गरेको हो ।

नेपाल आयल निगम अमलेखगन्जका प्रमुख प्रदिपकुमार यादवले दुई देशबीच इन्धनको भाउमा निकै अन्तर रहेकाले अपचलन हुन सक्ने अवस्था रहेको बताए । उनले स्थानीय प्रशासनको निगरानीले चोरी पैठारी गर्ने गिरोह हतोत्साहित हुने उल्लेख गरे ।

करिब दुई महिना यतादेखि सीमावर्ती पेट्रोल पम्पमा तेलको खपत अत्यधिक बढेपछि निगमले रोकथामका लागि प्रयास थालेको हो । यादवले सीमावर्ती क्षेत्रका ५ वटा पम्पको माग र खपत शंकास्पद रूपमा बढेको बताए ।

मलंगवाका पेट्रोल पम्प सञ्चालक ईश्वर गुप्ताले मूल्य अन्तरका कारण भारतीय सवारी साधन इन्धन भर्ना बाक्लै आउने गरेको बताए । ‘हाम्रो जिल्लामै धेरै भारतीय नम्बरका सवारी छन्,’ उनले भने, ‘नम्बर हेरेर इन्धन दिने नदिने भन्ने कुरा भएन । भारतीय सवारी प्रशस्त आउने गर्छ । कसैलाई पनि ड्रम, ग्यालेन जस्ता भाँडामा दिने गरका छैनौं ।’

भारतको भन्दा मूल्य घटेकाले सीमा क्षेत्रमा साविकभन्दा बढी तेल खपत भएपछि चोरी पैठारी रोकथामका निगमले पत्राचार गरेको हो । पेट्रोलिय डिलर्स एसोसियसनका जिल्ला अध्यक्ष सुनील साहले मूल्यमा निकै अन्तरले गर्दा भारततर्फ चोरी पैठारी बढेको बताए ।

‘ड्रममै हालेर इन्धन सीमापार भएको भन्ने सूचना आयो,’ उनले भने, ‘आयल निगमले पत्राचार गरेपछि सुरक्षा निकायले कडाइ गरेको छ । सवारी लिएर तेल भर्ना आउनु र साना ग्यालेनमा तेल लैजानु सामान्य हो । खेतमा पानी पटाउने किसानले पनि ग्यालेनमा तेल लग्ने गर्छन् ।

व्यावसायिक रूपमा चोरी पैठारी हुन नदिन हामी पनि सक्रिय छौं । प्रहरी प्रशासनले पनि कडाइ सुरु गरेको छ ।’

प्रकाशित : वैशाख ११, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?