जानकी जन्ममहोत्सव: मिथिला–अवधको अपूर्व संगम

जानकी नवमीमा सार्वजनिक बिदा
श्यामसुन्दर शशि

जनकपुर — जानकी नवमी महोत्सवको अवसरमा सोमबार जानकी मन्दिर परिसरमा आयोजित भव्य समारोहमा मिथिला–अवध बीचको रामायणकालीन सम्बन्धलाई नयाँ स्वरूपमा प्रस्तुत गरियो ।

जानकी जन्ममहोत्सव: मिथिला–अवधको अपूर्व संगम

जहाँ राम जानकीबीच ‘बडमाला’ गरिएको थियो । जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णव मिथिलाको तथा भारतीय राजदूत मंदीपसिंह पुरी अयोध्याको प्रतिनिधित्व गरेका थिए ।

पन्ध्र दिवसीय जानकी नवमी महोत्सवको आठौं दिन सोमबार रामायण सर्किटद्वारा ‘रामायण मेला’ को आयोजन गरिएको थियो । मेलाको उद्घाटन प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ तथा भारतीय राजदूत पुरीले गरेका थिए । प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले सञ्चालित विकास आयोजना सम्पन्न भएपछि, जनकपुरको स्वरूप फेरिने विश्वास व्यक्त गरे । उनले भने, ‘जनकपुर नयाँ युगमा प्रवेश गर्दैछ । केही महिनाभित्रै यस नगरीको स्वरूप फेरिने छ ।’

मुख्यमन्त्री लालबाबू राउतले जानकी नवमीको अवसरमा मंगलबार सार्वजनिक बिदाको घोषणा गरेका छन् । जनकपुरलाई धार्मिक, सांस्कृतिक नगरीको संज्ञा दिँदै उनले जनकपुरलाई धार्मिक, सांस्कृतिक नगरीका रूपमा विकसित गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘पर्यटन यस प्रदेशको प्रमुख आयस्रोत बन्नेछ ।’

भारतीय राजदूत मंदिपसिंह पुरीले नेपाल–भारत बीचको सम्बन्धलाई ‘जन–जनको सम्बन्ध’ को संज्ञा दिए । उनले भने, ‘यस सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिन्छ । कसैले चाहेर पनि बिगार्न सक्दैनन् ।’

जानकी नवमी महोत्सवको क्रममा राम जानकीको स्वरूपको साथमा भारतीय राजदूत मनजीबसिंह पुरी ।तस्बिर : श्यामसुन्दर

उद्घाटन सत्रमा राम र जानकी बीच गरिएको वरमालाको दृश्य अत्यन्तै रोचक थियो । बेहुला पक्षबाट भारतीय राजदूत पुरी तथा बेहुली पक्षको छोटे महन्थ रामरोशन दास वैष्णव मञ्चमा उपस्थित थिए । प्रदेश प्रमुख कायस्थ तथा मुख्यमन्त्री लालबाबू राउत यस मनमोहक दृश्यको साक्षी पात्र बने । नेपाल भारतका सयौं साधु सन्त तथा दर्शकदीर्घामा उपस्थित हजारौं सर्वसाधारण पुष्प वर्षा गर्दै हर्ष बढाइ गरिरहेका थिए । मिथिलानाट्य कला परिषदका कलाकारहरूले प्रस्तुत गरेको नृत्य उद्घाटनसत्रलाई रोमाञ्चक बनाएको थियो ।रामायण मेलामा नेपाल भारतका रामायणका जानकारहरूको उल्लेख्य सहभागिता छ । उनीहरूले वेद, पुरान, रामायण, महाभारत आदि धार्मिक ग्रन्थको आलोकमा मिथिला–अयोध्या बीचको आदिकालीन सम्बन्धबारे विश्लेषण गरेका थिए । नेपाल–भारतबीचको सम्बन्ध रामायणकालीन सम्बन्धकै निरन्तरता भएको टिप्पणी धर्मगुरुहरूको थियो ।

वैशाख ३ गतेदेखि सञ्चालित जानकी नवमी महोत्सवको क्रममा नियमित रामकथा, नवाह परायण, बधाई मंगलगानआदिको आयोजन हुँदै आएको छ ।

जानकीको जन्म वैशाख शुल्क नवमीको दिन भएको धर्मग्रन्थमा उल्लेख छ । मंगलबार जानकी जन्मोत्सवको अवसरमा बिहान दूधमती नदीमा शाही स्नान, रामायण सभा, शोभा यात्रा, जानकी जन्म विशेष आरती, मंगल बधाई तथा रंगारंग सांस्कृतिक कार्यक्रमको आयोजन हुने छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

प्रकाशित : वैशाख ११, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?