३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘जनकपुर नगरिया बधैया बाजे ना...’

जानकी नवमी
वैशाख शुक्ल नवमीमा सोहर र बधैया गाइन्छ
श्यामसुन्दर शशि

जनकपुर — संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी मध्यान्ह साढे ११ वजे प्रशिद्ध जानकीमन्दीर पुग्दा मन्दीर परिसर संगीतमय थियो । गायक गायिका जानकी जन्मोत्सवको मंगलगीत गाउदै थिए ।

‘जनकपुर नगरिया बधैया बाजे ना...’

महन्थ रामतपेश्वर दास वैष्णव, छोटे महन्थ रामरोशन दास वैष्णव, प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईसँगै भारतबाट आएका साधु सन्त र हजारौं श्रद्धालु भक्तजन भक्तिरसमा सहभागी थिए । मन्दीर परिसर गुञ्जायमान थियो, ‘आइ जनकपुर नगरिया, बाजे चारु दिस बधैया....।’

जानकी नवमीको १५ दिने जानकी जन्मोत्सवको मूख्य अतिथि थिए, संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्री रविन्द्र अधिकारी । जानकीलाई चेली र बहिनीका रूपमा स्नेह गर्ने मिथिलावासीको सहृदयता, वात्सल्यभाव एवं समर्पण देखेर मन्त्री अधिकारी रोमाञ्चित भए, अनि साधु, सन्त, महन्त लगायत सर्वसाधारणसँगै नाचे । मन्त्रीसमेत नाचेको देखेर दर्शक दीर्घाबाट भक्तजनले जयजयकार गरे– जय जय हो किशोरीजी...। धर्मशास्त्र अनुसार जानकीको जन्म वैशाख शुक्ल नवमी तिथिको मध्यान्ह १२ बजे भएको थियो । त्यही जन्मोत्सवको अवसरमा हरेक वर्ष मिथिलाञ्चलमा जानकी नवमी मनाउने चलन छ ।

सामान्यतया जानकी मन्दिरमा बिहान ८ बजे र राति ९ बजेपछि आरती गर्ने चलन छ । जानकी जन्मोत्सवको अवसरमा महन्त रामतपेश्वर दास वैष्णवले मध्याह्न १२ बजे विशेष आरती गरेका थिए । आरती पूजामा मन्त्री अधिकारीसहित देश विदेशबाट आएका साधु, सन्त, प्रशासनिक अधिकारी तथा सर्वसाधारणको सहभागिता थियो । जानकी जन्मोत्सवको अवसरमा प्रत्येक वर्ष मिथिलानगरी जनकपुरमा धूमधामका साथ विशेष पूजा अर्चनासँगै सोहर र बधैया गाउने चलन छ ।

जानकी मन्दीरका महन्थ रामतपेश्वर दास सहभागीलाई फूल, अवीर र रुपैयाँ लुटाउँदै थिए । उनको प्रतिक्रया थियो, ‘छोरीका रूपमा साक्षात लक्ष्मीको जन्म हुँदा खुसी नहुने पिता को होला ?’ जानकी मन्दीरका महन्त जानकीलाई छोरीको रुपमा स्नेह गर्छन् । संस्कृति मन्त्री रविन्द्र अधिकारी पनि औधी खुशी देखिन्थे । उनको प्रतिक्रृया थियो, ‘साँच्चै मिथिलाको संस्कृति अपूर्व छ ।’ वैशाख ३ गतेदेखि सञ्चालित जानकी नवमी महोत्सवको नवौं दिन मंगलवार विहान दूधमती नदीमा शाहीस्नान गरिएको थियो । दुधमति नदीमा जानकीले नित्यस्नान गरेकीले पवित्र मानिएको छ । शाही स्नान गर्न हजारौं श्रद्धालु दुधमती नदी पुगेका थिए । जानकी नवमीकै अवसरमा रामायण सभा र शोभा यात्राको र्‍याली पनि निकालिएको थियो । जानकी जन्मोत्सवमा नियमित रामकथा, नवाह परायण, बधाई मंगलगान नियमित आयोजना गर्ने चलन छ । सोही अवसरमा सोमवार रामायण सर्किटद्वारा ‘रामायण मेला’ समेत आयोजना गरिएको थियो । प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ र भारतीय राजदूत रन्जीत सिंह पुरीले मेलाको संयुक्त उद्घाटन गरेका थिए ।

‘विश्व सम्पदामा सूचिकृत गराउँछौं’
हिन्दु धर्मावलम्बीको पवित्रस्थल जनकपुरधाम लगायत जानकी मन्दीरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने सङ्घीय सरकारले प्रयत्न गने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताए । ‘जानकी मन्दीरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन कुनै कसुर बााकी राख्दैनौं,’ उनले भने –‘जानकीमन्दीर राष्ट्रको गहना हो, विश्व सम्पदा सूचिमा सूचिकृत गराउन भरमग्दूर प्रयास गर्छौं ।’ उनले जानकीमन्दीरलाई विश्व सम्पदा सूचिमा राख्न मन्दीरको प्राचीनता, कला र मौलिकतालाई विगार्न नहुने बताए ।

जानकीमन्दीर वरिपरीका घरटहरालाई मौलिक तथा प्राचीन स्वरुपमा राखिनुपर्ने उनको सुझाव छ । उनले नयाा निर्माण हुने घरहरू मौलिक शैलीमा निर्माण गर्न सल्लाह दिए ।

प्रकाशित : वैशाख १३, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?